d

 ५ वर्ष भित्रमा सुन्दर वडा बनाउने धोको छ, नगरको मुहार फेर्ने छौं - नगेन्द्र भण्डारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नगेन्द्र भण्डारी गौरादह नगर प्रवक्ता तथा वडा न. १ का अध्यक्ष समेत हुनुहुन्छ ।  विद्द्यार्थी राजनीति हुँदै नेकपा एमालेको झापा जिल्ला कमिटि सदस्य तथा नगर इन्चार्जको जिम्मेवारीमा रहेका भण्डारी २०७४ को स्थानिय निर्वाचनमा वडा न. १ बाटै अध्यक्ष पदमा विजयी हुनुभएको थियो।  अघिल्लो पटक नगर प्रवक्ताकै जिम्मेवारी सम्हालेका भण्डारीलाई  सञ्चारप्रेमी जनप्रतिनिधिको रुपमा समेत लिने गरिन्छ।   प्रस्तुत छ समसामयिक विषयमा प्रवक्ता भण्डारी संग पर्दाफास डट कम का सम्पादक सान नेपालले गर्नु भएको कुराकानी:

 

 

वडाध्यक्षमा पुन: निर्वाचित हुनुभएको छ, दोश्रो कार्यकाल पनि राम्रो जनमत प्राप्त गरेर विजयी हुँदा कस्तो महसुस हुँदो रहेछ ?

म दोश्रो कार्यकालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट सूर्य चीनबाट उम्मेदवार बनेको थिएँ।  मेरो नेतृत्वमा पाँच वर्षमा प्रशासनिक कामहरु, विकास निर्माणका काम जनताको दुख सुखको साथी बनेर काम गरेको थिएँ । राज्यको सेवा सुविधामा ध्यान दिइन । सेवक बनेर काम गरेर कामको मूल्यांकनको आधारमा अघिल्लो पटकको भन्दा बढी मतको अन्तरले विजय गराउनुभयो । पाँचवर्षे कामको सन्तुष्टि भएको महसुस गरेको छु ।

 

तपाईंको वडामा संघीय सरकारका योजनाहरु कुन कुन परेका छन् ? प्रदेश सर कारका यो जनाहरु नी ?
दिघो बिकासका अन्य योजनाहरु के के छन् ?

आर्थिक वर्ष २०७९/ ०८०  को संघीय सरकारबाट यस वडामा पाँचवटा योजना परेका छन् । सितापुरी स्थित मोती मा.वि.  देखि देवीस्थान मन्दिर जाने सडक कालोपत्रे ४९ लाख, तल्लो पेट्रोलपम्प पुर्व सडक कालोपत्रेको लागि ५० लाख , चैते चोक पश्चिम गेउरिया खोलामा पुल निर्माण ५० लाख,  राधाकृष्ण सामुदायिक हल निर्माण ३० लाख,  राधाकृष्ण मन्दिर निर्माण ६ लाख विनियोजन भएको छ भने प्रदेश सरकारबाट एउटा आवास मात्र परेको छ।  

 

No description available.

 

तपाईंको अघिल्ल्लो कार्यकाल र यो कार्यकालमा के भिन्नता देख्न सकिन्छ ?

 अघिल्लो पाँचवर्ष विकासको आधार वर्ष थियो।  तथापि धेरै दीर्घकालीन योजना सुचारु गर्न सफल भएका थियौं भने यो कार्यकाल आर्थिक,  भौतिक र सामाजिक तर्फका  दीर्घकालीन योजना प्रत्यक्ष जनताले महसुस गर्न सक्ने योजना सञ्चालन गरिनेछ।   भौतिक विकास तर्फ  दीर्घकालीन महत्वका पुल कल्बर्ट, कालोपत्रे सडक हुँदै ड्रेन,  बजार,  नगर अस्पतालको थालनी,  प्राविधिक शिक्षा आदि दीर्घकालीन रुपमा महत्व राख्ने कार्यको थालनी गरिने छ।  अब दुई वर्षभित्रमा केही पुल,  तीन किलोमिटर सडक कालोपत्रे,  सडक ड्रेन, ढल निर्माण नदी नियन्त्रण मठमन्दिर सामुदायिक हल निर्माण गरिने छ।  

 

तपाईंको वडामा शिक्षा क्षेत्रको अवस्था कस्तो छ ? निजि शिक्षण संस्थाका संचालकहरुलाई के सल्लाह दिनुहुन्छ?

 हाम्रो वडामा सामुदायिक विद्यालय तीन वटा रहेका छन्।  जनता उच्च माविमा  १२ कक्षासम्म अध्ययन हुन्छ।   प्राविधिक शिक्षा र विज्ञान संख्या पनि अध्ययन हुन्छ।  विद्यालयका भौतिक सुधारका काम धेरै भएका छन्।  सामुदायिक विद्यालयका विपन्न परिवारका छात्रछात्रालाई वडाबाट छात्रवृत्ति उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।   विगतको तुलनामा अहिले शैक्षिक गुणस्तर पनि सुधार उन्मुख हुँदैछ।  अंग्रेजी माध्यमका कक्षाहरु संचालित छन्।  मोति मा. वि. मा ८  कोठे पक्की भवन, हल निर्माण भएका छन्।  आइसिटी कक्षा सञ्चालनको लागि तयारी भइरहेको छ।  मन्टेश्वरी कक्षाको व्यवस्थापन र अध्ययन सुरु भएको छ।   निजी क्षेत्रका तीनवटा विद्यालय रहेका छन्।   निजी विद्यालयले यस वडाको ठूलो मात्रामा हिस्सा ओगटेको छ ।  नगरपालिकासँग समन्वय गरेर विद्यालयले लिने शुल्क, शिक्षकको पारिश्रमिक उचित सन्तुलन मिलाउनु पर्ने देखिन्छ।  गरिब तथा जेहेन्दार विद्यार्थीलाई उपलब्ध गराइदिने छात्रवृत्तिमा वडा तथा नगरको समन्वयमा छात्रवृत्ति दिने व्यवस्था गर्ने विषयमा हामी निजि क्षेत्र संग समन्वय गर्ने तयारीमा छौं।  


स्वास्थ्य क्षेत्रमा के कस्ता गतिविधि हुँदै छन् ? के सबै वडाबासीले कोभिड खोप पाएका हुन् त ? स्वास्थ्य विमा अस्पताल कहिलेबाट सुरु हुन्छ ? नगर अस्पताल निर्माण गर्ने प्रक्रिया कहाँ पुग्यो ? कति बजेट छुट्याउनु भयो ?

चालु आर्थिक वर्षबाट छिटै नगर अस्पताल सञ्चालन गर्दैछौं।  हाल गौरादह वडा नं १ को स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा सञ्चालन गरिने छ।  यसको लागि आवश्यक जनशक्तिको लागि  विज्ञापन निकालि सकिएको छ।  नगर अस्पतालको लागि जग्गा प्राप्ति को कार्य अन्तिम चरणमा पुगेको छ।  दाताहरुले करिब २ विगाहा जग्गाको प्रतिबद्धता गर्नु भएको छ जुन एकै ठाउँबाट आएको छ।   सो जग्गा पासको प्रक्रियामा छ।  यसै आर्थिक वर्षभित्रमा जग्गा पास गरेर डीपीआर निर्माण गरी नगर अस्पताल निर्माण गरिने छ।   बिभिन्न अस्पतालसँग समन्वय गरी स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छौं।   स्वास्थ्यविमा कार्यक्रम संचालन गरिएको छ।  कोभिडको खोप लगाइने मात्रामा बाहेक सबैलाई तेस्रो खोप समेत उपलब्ध गराइ सकिएको छ। 


सामुहिक खेति र पशु / पंक्षीपालक कृषकलाई वडाले प्रदान गर्ने सेवा सुबिधाहरु के कस्ता छन् ?
बेमौसमी र अर्गानिक खेतीमा वडाले पुर्याएको योगदान बारे बताइदिनुहोस न ?
शितभण्डार निर्माण गर्ने यो वर्षको योजना के छ ? नगर पशु/ कृषि शाखाको अवस्था र यो वर्ष उक्त शाखा मार्फत प्रदान गरिने सेवाहरु के कस्ता छन् ?

कृषि तथा पशुपालनको लागि 'गोठमै पशु बीमा कार्यक्रम' संचालन गरिने छ। नस्ल सुधार ल्याई कार्यक्रम संचालनमा छ।   'एक टोलविकास एक मकै छोडाउने मेसिन' कार्यक्रम संचालित छ।  जैविक बिषादी र मल बनाउने तालिम र उपकरण वितरण, फलफूलका बिरुवा वितरण बेमौसमी व्यवसायिक तथा उन्नत तरिकाले सब्जी खेती गर्नेलाई टनेल वितरण, अर्ग्यानिक सब्जि खेतिको लागि तालिम र ठूलो कृषि पशुपालन बाख्रा बंगुर फार्मलाई प्रदेश र संघीय सरकारसँग समन्वय गरी अनुदानको व्यवस्था मिलाइने छ।   शीतभण्डारको लागि प्रदेश सरकार संग समन्वय गर्ने नीति छ अवलम्बन गरिएको छ । 

 


सार्वजनिक शौचालय, रंगशाला र बसपार्क बनाउने योजना अलपत्र परेकै हो ?

गौरादह बजार र डिपु आसपासका क्षेत्रमा सार्वजनिक शौचालय निर्माणक लागि रु  २० लाख विनियोजन गरिएको छ।  निर्धारण गरिएको छ उचित ठाउँमा जग्गाको खोजी गरिँदै छ।  रङ्गशालाको लागि वडा नम्बर २ मा जग्गाको प्रस्ताव आएको छ।  जग्गा पासको लागि प्रक्रिया अगाडि बढ्दैछ।  बसपार्कको लागि अब केहि महिनामा जग्गा प्राप्तीको लागि आव्हान गर्दैछौं।  उचित स्थानमा जग्गा प्राप्ति पश्चात बसपार्क निर्माण गरिनेछ।  


पोखरीको करोडौं बजेट फ्रिज भएको भनिन्छ, एकातिर नगर गौरवको आयोजना भनिन्छ अर्को तिर प्राप्त भएको बजेट नै फ्रीज हुन्छ भनिन्छ, तपाइँहरुको अघिल्लो कार्यकालमा गठन भएको पोखरी निर्माण समिति त संस्थामा रुपान्तरण गरियो भन्ने पनि चर्चा छ।  यथार्थ र भ्रम के हो स्पष्ट पारिदिनुहोस् न? 

गौरादह पोखरीको लागि निर्माण गरिएको समितिले डिपिआर तयार गरी प्रदेश र संघीय सरकार संग योजना माग गरिएको थियो।  प्रदेश सरकारबाट ३ करोड ३६ लाख बजेट पनि छुट्टियो।   प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट ठेक्का हुने हुँदा हामीले डिपीआर र अन्य आवश्यक कागजपत्र बुझायौं।   ठेक्का लगाउन दबाब र डेलिगेसन  समेत गर्यौं। तर प्रदेश सरकार परिवर्तन भए पश्चात आर्थिक वर्ष ०७८/ ०७९  मा लाग्ने ठेक्का प्रक्रियामा नलगेको कारण सो बजेट फ्रीज हुन गयो।  उक्त योजना नगरपालिकाले गर्ने योजना थिएन।  प्रदेश मन्त्रालयले आफै गर्ने भएकोले ठेक्का प्रक्रियामा नलागेको कारण योजना सञ्चालनमा आएन। 

 

अक्सर फोहोर व्यवस्थापन गर्न नसक्दा गौरादह नगरपालिका पटक पटक विवादमा मुछिदै आएको थियो।  पछिल्लो छोटो समयमा फोहोर व्यवस्थापनले राम्रै सफलता हात पारेको पनि देखिन्छ, घर घरमा पुगेर फोहोर संकलन हुँदै गरेको पनि देख्न पाइएको छ।  फोहोर व्यवस्थापनका दिर्घकालिन र अल्पकालिन कार्यक्रमहरु के कस्ता छन् ?

गौरादह नगरपालिकाको फोहोर व्यवस्थापनमा केही महिनादेखि राम्रै सुधार आएको छ।  अहिले फोहोर राम्रै संग उठाउन थालिएको छ।  वडा नम्बर ७ मा डम्पिङसाइड बनाइएको छ।  अहिले सबैखाले फोहोर एकैठाउँमा फालिन्छ।  विभिन्न संघसंस्था संग समन्वय क्रमिक रुपमा  गरेर फोहोरको प्रकृति हेरेर सड्ने, नसक्ने र सिसाजन्य फोहोरलाई अलग अलग गरी प्रशोधन गर्न सक्नेलाई प्रशोधन गर्ने गरी व्यवस्थित रुपमा दिर्घकालिन योजनाका साथ लैजाने हाम्रो चाहना छ।  

 

महिलाहरुको लागि नगरपालिकाले के कस्ता नीति अख़्तियार गरेको छ? 
 वडामा वडा महिला सञ्जाल गठन गरिने छ।  वडा महिला सञ्जाललाई बजेट पनि विनियोजन गरिएको छ। महिला संजाल र वडा कार्यालयको समन्वयमा वडामा रहेका महिला उद्यमीहरुसँग आवश्यक छलफल गरी सिप विकास र तालिम कार्यक्रम सञ्चालन गरिनेछ।  स्थानीय महिला उद्यमीहरुलाई प्रोत्साहन गरिनेछ साथै विभिन्न संघसंस्थाहरु र जिल्ला घरेलु कार्यालय संग समन्वय गरि सीप विकास तालिम कार्यक्रम सञ्चालन गरिनेछ। 

 


तपाईं पुन: नगर प्रवक्ता नियुक्त हुनु भएको छ, अघिल्लो कार्यकाल जस्तो अल्पमत र बहुमतको बहस गरिराख्नुपर्ने अवस्थामा पनि हुनुहुन्न।   संविधान प्रद्दत मौलिक अधिकार 'सूचनाको हक' लाई कसरी व्यवस्थित  गर्दै हुनुहुन्छ ? अवका दिनमा संचारकर्मी र आम नागरिकले नगरमा सूचना लिनको लागि तपाईंले प्रवक्ताको हैसियतमा गर्नु भएको व्यवस्थापनको बारेमा तथ्यगत कुराहरु स्पष्ट परिदिनुहोस न? संचार क्षेत्र र संचार उद्द्यमहरुको लागि  वडाले के कस्तो समतामुलक नीति अख्तियार गरेको छ ?

 

मैले नगरपालिकाको प्रवक्ता हु।  नगरबाट हुने सम्पूर्ण गतिविधि र नियमित कामकारवाहीलाई नगरपालिकाको सूचना अधिकारी मार्फत वेवसाइटमा राखिने छ।  महत्वपूर्ण विषयहरु प्रवक्ता मार्फत सञ्चारकर्मी र सरोकारवालाबीच राखी सार्वजनिक गरिने छ।  सुशासन र पारदर्शिताकालागि आवश्यकतानुसार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने छ।  स्थानीय मिडियालाई नगरपालिकामा सूचीकृत गरी सुचनाहरु स्थानीय मिडियालाई प्राथमिकताका साथ दिने छ।   बेलाबेलामा अन्तरसंवाद चलाइने छ।   सार्वजनिक सुनवाई गरिने छ।  वडामा  पनि सूचना तथा संचारको लागी बजेट विनियोजित गरिएको छ।  स्थानीय पत्रकार क्षमता वृद्धि, सूचना संकलन र सञ्चार सम्बन्धि गोष्ठी  अन्तरक्रिया सञ्चालन गरिने छ।   समय समयमा वडाको प्रगति विवरणहरु मिडियाकर्मी बिच सार्वजनिक गरिने छ।   वडाका सम्पूर्ण गतिविधि सार्वजनिक गरिने छ।   सबैको पहुँचमा वडाको सूचना पुगोस भनेर वडाको १० स्थानमा आगामी भाद्र १५  देखि सूचना बोर्ड राखिने छ।  वडाको सार्वजनिक सुनवाई गरिने छ।

 

 यो पनि हेर्नुहोस: गौरादह नगर प्रमुख छत्रपति सुवेदी संगको कुराकानी

अन्त्यमा के भन्न चाहनु हुन्छ ? 
 अन्त्यमा हामी नगरपालिकाको सम्पूर्ण विकासको लागि दीर्घकालीन योजना निर्माण गरेर सामाजिक, आर्थिक, भौतिक विकास, सुशासन र पारदर्शिताका साथ काम गर्नेछौं।  १ / २ महिनाभित्र नगर प्रोफाइल सार्वजनिक गर्ने छौं।  १/२ महिनाभित्रै नगर  प्रोफाइल  सार्वजनिक गर्ने छौं। विकास निर्माणमा दलीयस्वार्थ माथि उठी काम गर्ने प्रतिबद्धता र सबैमा अपिल गर्दछु चाँडै नगर अस्पताल विमा सहितको सञ्चालन गरी स्थानीयस्तरमा स्वास्थ्यको पहुँच पुर्याउने नगरपालिकामा आवश्यक जनशक्ति पूर्ति गरी सुशासन र छिटोछरितो चुस्तदुरुस्त सेवा उपलब्ध गराउने छौँ।  ठुला योजनाको लागि प्रदेश र संघीय सरकारसँग समन्वय गरिने छ।  साथै सामाजिक सुरक्षा भत्ताको नवीकरण गराउन श्रावण मसान्त भित्र गरि सक्नु हुन जानकारी पनि गराउँदछु।  

 

यो पनि हेर्नुहोस: गौरादह नगर प्रमुख छत्रपति सुवेदी संगको कुराकानी

 

Views: