d

विशाल सिमेन्टका पूर्वसञ्चालक श्रेष्ठ जेल चलान

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । विशाल सिमेन्टका पूर्वसञ्चालकसमेत रहेका व्यवसायी अमित श्रेष्ठ जेल चलान भएका छन् । क्रिप्टो करेन्सी कारोबार अभियोग लागेका श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।

क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको ठहर गर्दै विशाल सिमेन्टका पूर्वसञ्चालक श्रेष्ठविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले विशाल सिमेन्टका पूर्वसञ्चालक अमित श्रेष्ठविरुद्ध ४८ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित सात वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो । श्रेष्ठले राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिमको कसुर गरेको अभियोगपत्रमा दाबी गरिएको थियो ।

नेपालमा अवैध रहेको क्रिप्टो कारोबार गर्ने गरेको आशंकामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोटको विदुर नगरपालिका–२ भई काठमाडौं बस्दै आएका ४१ वर्षीय श्रेष्ठलाई पानीपोखरीबाट पक्राउ गरेको थियो ।

श्रेष्ठमाथि अनुसन्धान गरेर कारबाहीका गर्न भन्दै अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको थियो । सुरुमा अभद्र व्यवहारमा मुद्दा प्रक्रिया अघि बढाएकोमा पछि अनुसन्धानमा क्रिप्टो करेन्सीमा समेत संलग्न देखिएको जनाएको छ ।

श्रेष्ठबाट बरामद मोबाइल, ल्याटपलगायत डिभाइस जाँचका लागि फरेन्सिक ल्याबमा पठाइएको थियो । फरेन्सिक ल्याबले बरामद डिभाइसबाट क्रिप्टो करेन्सी कारोबार हुने तथ्य फेला परेको रिपोर्ट दिएपछि सोही आधारमा उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।

शंकास्पद रकम श्रेष्ठसमेत सदस्य रहेको भाइबर गु्रप ‘फिटबेला एक्सचेन्ज’बाट क्रिप्टो करेन्सी कारोबार हुने गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ । साथै, श्रेष्ठसँग रहेको विभिन्न बैंकमा जम्मा भएको रकम विषयमा पनि प्रहरीले अनुसन्धान गरेको थियो ।

अनुसन्धान क्रममा रोयल बैंक अफ क्यानडा, कमनवेल्थ बैंक अफ अस्ट्रेलियामा रकम रहेको पाइएको छ । सन् २०१९ जुलाई २ देखि सन् २०१९ अगस्ट ८ सम्मको एक महिनाकै अवधिमा रोयल बैंक अफ क्यानडामा १ करोड ९५ लाख ४६ हजार २ सय ५२ रुपैयाँबराबरको डलर श्रेष्ठले जम्मा गरेको खुलेको छ ।

त्यस्तै, सन् २०१९ जनवरी ७ देखि सन् २०१९ अप्रिल २४ सम्मको अवधिमा कमनवेल्थ बैंक अस्ट्रेलियाको खातामा १ करोड ५० लाख ६२ हजार २ सय ७९ रुपैयाँबराबरको डलर जम्मा भएको अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अन्तर्गत कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो ।

श्रेष्ठले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १०३ को उपदफा (१) को देहाय (घ) अनुसारको कसुर गरेको ठहर गरिएको छ । अनुसन्धान प्रतिवेदनमा सोही कसुरअनुसार सजाय मागदाबी गर्न सिफारिस गरिएको थियो ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १०३ को उपदफा (१) को देहाय (घ)मा इजाजतबिना विदेशी विनिमयसम्बन्धी कारोबार गर्न प्रतिबन्ध लगाइएको छ ।

सोही ऐनको दफा १०४ को उपदफा (१) को देहाय (ग) मा इजाजतबिना विदेशी विनिमयसम्बन्धी कारोबार गर्नेलाई बिगो भएबिगो जफत गरी बिगोबराबरको जरिमाना र १ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपालमा भर्चुअल मुद्राको कारोबार पूर्णरूपमा गैरकानुनी रहेको भन्दै राष्ट्र बैंकले २९ साउन २०७४ मा सूचना प्रकाशित गरेको थियो ।

श्रेष्ठले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाविपरीत (गैरकानुनी) रूपमा भर्चुअल मुद्रा कारोबार गरेको अभियोग पत्रमा दाबी गरिएको छ । श्रेष्ठले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिमको कसुर गरेको अभियोगपत्रमा उल्लेख छ ।

दफा ९५ बमोजिमको कसुर गरेको भन्दै उनीविरुद्ध दफा ९६ को उपदफा (१) अन्तर्गत बिगोको ३ गुणासम्म जरिमाना र सात वर्षसम्म कैद सजाय मागदाबी गरिएको हो ।

नेपालमा गैरकानुनी मानिएको क्रिप्टो करेन्सीमार्फत अवैध रूपमा आर्जन गरेको र नेपालबाट हुन्डीमार्फत विदेशमा रकम पठाएर सञ्चित गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ । श्रेष्ठले क्यानडा, अस्ट्रेलियालगायतका देशहरूका बैंकमा रकम जम्मा गरेको अनुसन्धानबाट खुलेको छ ।

क्रिप्टो करेन्सीको कारोबार गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत असार २९ गते श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेको थियो । 

आजको राजधानीमा खबर छ  

Views: