d

भ्रष्टाचारी नेतालाई मङ्सिर ४ ले बढार्ने छ: अध्यक्ष लिङ्देन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा, ६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिरमा हुन गइरहेको प्रदेश र संघीय चुनावमा काँग्रेस र कम्युनिष्ट पार्टीहरुलाई बढार्ने सुवर्ण अवसर आएको बताएका छन् । काँग्रेस र कम्युनिष्ट पार्टीले सत्तामा बसेर भ्रष्टाचार गरेको भन्दै यसका विरुद्ध आम नेपाली जनताले मत नदिएर ठीक पार्नुपर्ने समय आएको बताएका हुन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी झापा क्षेत्र नं १ ले सोमबार चारआलीमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले अब पनि तिनै काँग्रेस र कम्युनिष्टलाई मत दिएर जिताउने हो भने मुलुकको विकास सम्भव नहुने जिकीर गरे । ‘हामीले काँग्रेस र कम्युनिष्टले सत्ता चलाएको हेरेर अहिलेसम्म बसिरहेका छौँ, उनले भने, ‘उनीहरुबाट हामीले के आशा र भरोसा प्राप्त गर्न सक्यौँ, त्यसैले परिवर्तनका लागि अब नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जिताएर परिवर्तन महसुस गर्न आम मतदातासमक्ष अपिल गर्दछु ।’

अध्यक्ष लिङ्देनले अबको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई असफल हुने छुट नभएको बताए । गत स्थानीय चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अपेक्षा गरेअनुसार परिमाण नआए पनि पार्टीप्रतिको आशा र भरोसा बढेर गएको विश्वास दिलाए । ‘स्थानीय चुनावको परिमाण हेर्दा हाम्रो पार्टी सशक्त रुपमा अगाडि बढेको छ,’ उनले भने, ‘त्यसैले नेपाली राजनीतिक शक्तिको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीको अब विकल्प छैन ।’

आमसभालाई सम्बोधन गर्दै पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारविरुद्धको महान अभियानमा जोडिन आग्रह गरे । उनले अबको चुनावमा भ्रष्टाचारी नेतालाई परास्त गर्ने तागत मतदाताले देखाउनु पर्ने बताए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जिताए मात्रै समृद्धि हासिल हुने दाबी समेत गरे ।

क्षेत्रीय अध्यक्ष अशोक सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा दमक नगरका मेयर राम थापा, अमर विष्ट, अन्जार आलम, जिल्ला अध्यक्ष केशवराज ओझा, प्रदेश सदस्य दिपेश राई ‘गोरे भाई’ लगायतको आतिथ्यता रहेको थियो । नगर सचिव विशालकृष्ण बाँस्तोलाले सञ्चालन गरेको कार्यक्रममा नगर अध्यक्ष सविना बजगाईंले स्वागत मन्तव्य राखेकी थिइन् ।

Views: