d

५१ दलले धरौटी बुझाए, २९ ले उम्मेदवारको सूची बुझाए

Views:
Responsive Image Gallery
Responsive Image Gallery

३ असोज, काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ सोमबार राति अबेरसम्म २९ राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेस गरेका छन् । आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनीतिक दलहरुलाई दल दर्ताको आह्वान गर्दा ७६ दलबाट ६८ निवेदन परेको थियो ।

समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राति साढे ११ बजेसम्म प्रतिनिधि सभामा उम्मेदवारी दिन ५१ वटा दलले धरौटी बुझाएका छन् । सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले धरौटी बुझाएका र आयोग परिसरमा सूची पेस गर्न उपस्थित दलको बन्दसूची पेस हुने बताए ।
उनका अनुसार राति अबेरसम्म नेकपा(एमाले), नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदूर किसान पार्टी, जनमत पार्टी, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले उम्मेदवारको बन्दसूची बुझाएका छन् ।


नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपालको उम्मेदवारको बन्दसूची पेस हुने क्रममा रहेको आयोगले जनाएको छ । आयोगले परिसरमा रहेका सबै दलको उम्मेदवारको बन्दसूची रुजू गरेर बुझ्ने क्रम जारी रहेको जनाएको छ । त्यसैगरी, राष्ट्रिय बाममोर्चा, बहुजन एकता पार्टी, राष्ट्रिय नागरिक पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, मितेरी पार्टी नेपाल, नेपालका लागि नेपाली पार्टीले उम्मेदवारको बन्दसूची बुझाएको आयोगले जनाएको छ ।

प्रदेशसभा तर्फ प्रदेश १ मा १६, मधेश प्रदेशमा १६ र बागमती प्रदेशमा २० राजनीतिक दलले उम्मेदवारको बन्दसूची बुझाइसकेका छन् । अन्य राजनीतिक दलको उम्मेदवारको सूची बुझ्ने क्रममा रहेको आयोगले जनाएको छ । गण्डकी र लुम्बिनीमा एघार÷एघार, कर्णालीमा दश र सुदूरपश्चिममा १३ राजनीतिक दलको उम्मेदवारको सूची पेस भएको आयोगले जनाएको छ ।

Views: