d

झापा ५ मा स्वतन्त्र उम्मेद्वार युग पाठकले बाले लालटिन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास, असोज ८ झापा: मंसिर ४ मा हुने संघीय र प्रदेश सभा निर्वाचनको लागि देशव्यापी दौड धुप सुरु भएको बेला झापाको निर्वाचन क्षेत्र नं. ५ मा लेखक तथा पत्रकार युग पाठकले लालटिन बालेर आफू स्वतन्त्र उम्मेद्वार रहेको घोषणा गरेका छन् । क्षेत्र नं. ५ को मुख्य शहर दमक चोक स्थित पिपलबोटमा आयोजित घोषणा सभाबाट पाठकले आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । 

उम्मेद्वारी घोषणा सभामा बोल्दै पाठकले मंसिर ४ को निर्वाचनमा क्षेत्र नं. ५ का मतदाताले आफुलाई मतदान गर्ने कुरामा ढुक्क रहेको बताए । पाठकले मिनी घोषणा पत्र सार्वजनिक गर्दै निकट भविष्यमा नै विषेश खालको घोषणा पत्र लिएर मतदाताको ढोका ढोकामा पुग्ने बताएका छन् । 
'हाम्रो घोषणा पत्र विशेष खालको हुनेछ, जसमा आम नागरिकका समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने विषयलाई प्राथमिकता साथ उठाउने छौँ र उक्त घोषणा पत्र अंग्रेजी भाषा सहित स्थानीय भाषामा समेत प्रकाशित हुँदैछ।', पाठकले जानकारी गराए । 

 पाठकले लालटिन बालेर उम्मेद्वारी घोषणा गर्दै भने, 'अव यो लालटिन बल्यो, उज्यालो लालटिन बोकेर मतदातालाई भेट्न बस्ती बस्तीमा पुग्ने छौँ, यो लालटिन निभ्न दिने छैनौं ।'

पाठकले आफ्नो उम्मेद्वारी कसै संग प्रतिस्पर्धा गर्नको लागि मात्र नभई आम जनताका समस्या लाई खरो रूपमा उठाउन र भ्रष्टाचार तथा कुसंस्कारको राजनीति विरुद्ध केन्द्रित रहेको बताएका थिए । 

यस क्षेत्रमा नेकपा एमालेको तर्फबाट अध्यक्ष तथा पुर्व प्रधानमन्त्री के पी ओलीको एकल नाम सिफारिस भइसकेको छ भने सत्तारुढ गठबन्धनको तर्फबाट माओवादीका रन्जित तामाङ र नेपाली कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारीको नाम चर्चामा रहेको छ । यद्दपी गठबन्धनले तामाङलाई नै सिफारिस गर्ने चर्चाले बजार तताएको पाइन्छ । 

पाठक बाहेक गौरादह ४ का अधिवक्ता तुलसी कार्की र गौरादहकै अर्का युवा कुमार कट्टेलले समेत स्वतन्त्र उम्मेद्वारी दिने बताउदै आएका छन् । 

कुल ४ वटा पालिका रहेको  क्षेत्र नं. ५ मा निर्णायक मत राष्ट्रिय प्रजातन्त्र पार्टी संग रहेको निर्वाचन आयोगको तथ्यांकले देखाउछ । यस क्षेत्रबाट राप्रपाले एमालेलाई सघाउने बताइएको भएता पनि प्रदेशसभाको उम्मेद्वारको विषयलाई लिएर अहिलेसम्म उक्त विषय छलफलकै क्रममा रहेको राप्रपाका नेताहरू बताउछन् । गठबन्धनले एमाले अध्यक्ष ओलीलाई काउन्टर दिन राप्रपालाई समेत साथ लिएर जाने प्रयत्न समेत भैरहेको राप्रपा नेता लक्ष्मी संग्रौलाले बताएका छन्  । 

क्षेत्र नं. ५ कै उम्मेद्वारीको विषयलाई लिएर माओवादी अध्यक्ष प्रचण्ड संग आफ्नो व्यक्तिगत भेटघाट भएको संग्रौलाले बताएका छन् । 

'संघमा ओलीलाई सघाउने कुरामा हाम्रो विमति छैन, झापाबाट  प्रदेशसभामा हाम्रा केहि उम्मेद्वारलाई एमालेले सहयोग गरोस् भन्ने हाम्रो न्युनतम बटमलाईन हो ।', राप्रपाको वाणिज्य बिभाग प्रमुख तथा केन्द्रिय सदस्य समेत रहेका संग्रौलाले पर्दाफाश संग भने ।

Views: