d

अध्यक्ष ओली भन्छन्, 'चुनावी प्रतिस्पर्धालाई अस्वस्थ नबनाऔँ'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।

बडादशैँ, नेपाल संवत्, तिहार, छठलगायत चाडपर्वका अवसरमा आज मङ्गलवार गृहजिल्ला झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले अस्वस्थ प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यास नहुने बताउनुभयो । ‘हामीले लडेर ल्याएको व्यवस्था नै बहुदलीय प्रतिस्पर्धा हो’, उहाँले भन्नुभयो, ‘प्रतिस्पर्धा स्वस्थ भएन भने त्यो लोकतान्त्रिक राजनीति हुँदैन ।’ उहाँले दलहरूबीच राष्ट्रिय एकता र बहुदलीय प्रतिस्पर्धाको गरिमा कायम राख्ने विषयमा एकता हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

एमाले अध्यक्ष ओलीले शुभकामना मन्तव्यका क्रममा दशैँको सांस्कृतिक, सामाजिक र पौराणिक महत्त्वका विषयमा चर्चा गर्दै मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, नारी शक्तिको उपासना गर्ने र असत्यलाई पराजित गर्ने सन्देश दिने चाड अरू देशमा नभएको बताउनुभयो ।

उहाँले २०५१ सालदेखि गृहजिल्लामा दशैँको महानवमीका अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आउनुभएको छ ।

त्यस अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईं, नेकपा माओवादीका युवा नेता रञ्जीत तामाङ, जनता समाजवादी पार्टी झापा अध्यक्ष दीपेनबाला राईलगायत विभिन्न राजनीतिक पार्टीका नेता, नेकपा एमालेका नेता, उद्योगी, व्यवसायी र पेसाकर्मीको उपस्थिति रहेको थियो । file photo

Views: