d

आचारसंहितामा कडाइ गर्दै निर्वाचन आयोग 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको लागि तयार गरिएको आचारसंहितामा थप कडाई गर्ने भएको छ।   शनिवार पोखरामा भएको जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता, २०७९ लाई कडाइका साथ पालना गर्न/गराउन निर्देशन दिएका हुन् ।  

‘निर्वाचन आचारसंहिताको उल्लंघन गरेको देखिएमा आयोगमा लिखित वा मौखिक जानकारी दिनुहोला’ प्रमुख आयुक्त थपलियाले भने । आयोगले यस पटकदेखि अनुगमन अधिकृतको जिम्मेवारी हरेक जिल्लाका प्रमुख कोष नियन्त्रकलाई दिएको प्रष्ट पार्दै अनुगमन अधिकृतलाई आचारसंहिताको उल्लंघन गर्ने उम्मेदवारलाई २४ घण्टा भित्र स्पष्टीकरण सोध्न निर्देशन दिए ।

उम्मेदवारबाट चित्त बुझ्दो जवाफ पेश नभएमा उम्मेदवारी रद्द गर्ने समेतको अधिकार निर्वाचन आयोगलाई भएकोले त्यस सम्बन्धी विवरण स्पष्ट खुलाइ आयोगमा लेखी पठाउन उनले जोड दिएका थिए ।

निर्वाचन आयोग ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरेर निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७९ निर्माण गरेको छ।आचारसंहिताको दफा ४६ मा ‘कसैले आचारसंहिता उल्लंघन गरेमा आयोगले निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्द गर्न सक्नेछ’ उल्लेख गरिएको छ ।

उम्मेदवारले मनोनयन दर्ता गर्ने क्रममा बुझाएको विवरणमा उल्लेख भए बमोजिमको स्राेतबाट खर्च गरेको नगरेकोबारे आयोगले निगरानी गर्ने समेत थपलियाले बताए।  

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कर्मचारीलाई समेत कारबाही गर्न सुरु भइसकेको जानकारी गराउँदै कर्मचारीले निर्वाचन सम्पन्न नहुँदासम्म सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाउन पनि आग्रह गरे ।

कास्की जिल्लाका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलको अध्यक्षतामा बसेको बैठकमा कास्कीका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला आचारसंहिता अनुगमन समितिका सह–संयोजक टेक बहादुर केसी, सदस्य प्रहरी उपरीक्षक अजय केसी, उप–अनुसन्धान निर्देशक मनोज ढकाल,  अनुगमन अधिकृत रामजी शर्मा र सदस्य सचिव हुमनाथ पराजुली लगायतको सहभागिता रहेको थियो ।

Views: