d

कमल र शिवासताक्षी क्षेत्रको जंगल फडानी गरेर बागबानी केन्द्र बनाउने एमालेको योजना

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: नेकपा एमाले स्थायी कमिटि सदस्य तथा प्रदेश १ पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले पुर्व-पश्चिम राजमार्ग स्थित कमल र शिवासताक्षी आसपासका जंगलहरु फडानी गरेर  बागबानी केन्द्र बनाउने बताएका छन्।  दमकचोक स्थित थकाली होटलको सभाहलमा आज साँझ प्रेस चौतारी झापा द्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कार्कीले यसो भनेका हुन्।  

झापा क्षेत्र नम्बर ५ प्रदेश सभा (क) सदस्य पदमा उम्मेदवार समेत रहेका कार्कीले उक्त बनले कर्मचारी समेत पाल्न नसक्ने अवस्थामा रहेको ले त्यसलाई हटाएर बागबानी केन्द्रको रुपमा बिकास गर्ने एमालेको पहल रहने बताएका हुन्।  

यस सम्बन्धमा केन्द्रिय बन कार्यालय, प्रदेश सरकार र स्थानिय सरकारको संयुक्त पहलमा कार्य प्रारम्भ गरिने उनले जनाए।

पार्टी अध्यक्ष के पी ओली प्रधानमन्त्री रहेको बेला उक्त विषयमा छलफल अगाडी बढाएको बताउदै उनले यस क्षेत्रलाई  विभिन्न जातका फुलफुलको बगैचा बनाउन सकेको खण्डमा फलफुल खेतिमा ठुलै फड्को मार्न सकिने भन्दै यसबाट राज्यले ठुलो मात्रामा आय आर्जन गर्न सक्ने र रोजगारीको प्रचुर सम्भावना खडा हुने र यसका लागि एमालेले नै प्रदेश १ र संघीय सरकारको नेतृत्व गर्दा मात्र यो कार्यले सार्थकता पाउने बताए।   

  मङ्सिर ४ को निर्वाचनमा एमालेले प्रतिनिधी सभामा १ सय र समानुपातिकमा ४० संख्या हात पार्ने भन्दै एमालेले बहुमत प्राप्त गर्ने दावी गरे।  
 
'आवश्यकता अनुसार केहि स्थानमा राप्रपा र जसपा संग चुनावी तालमेल गरिएको छ, तालमेल अपरिहार्य रहेको थियो, यद्दपी १४१ स्थानमा हाम्रो उम्मेद्वारी रहेको छ, यहि नै हाम्रो जित्ने आधार हो।' 

 सत्ता स्वार्थमा केन्द्रित रहेको गठबन्धनले उठाएका उम्मेदवारहरु संग भविष्य लक्षित कुनै पनि एजेन्डा नरहेकोले पनि उनीहरुले देशव्यापी रुपमा हार बेहोर्ने ठोकुवा गरे।    

'हामी संग मुलुक सम्रिद्द बनाउने एजेन्डाहरु छन् , साढे ३ वर्षको अवधी सरकारमा रहँदा विकासको छलांग मारेको इतिहास बनेको छ, हामी पुन: बहुमत सहितको सरकार गठन गरेर बिगतमा सुरु गरेका सम्रिद्दीका अभियानहरुलाई निरन्तरता दिन चाहन्छौं, अव एमालेको विजय यातालाई कसैले रोक्न सक्दैन।', कार्कीले भने।  

नव निर्मित हुलाकी राजमार्गको उदाहरण दिँदै झपा ५ (क) का उमेद्वार समेत रहेका कार्कीले  हुलाकी सडक निर्माण सम्पन्न भए पछि प्रदेश १ को राजधानी सहर र भद्रपुरबासीहरु बीच व्यापारिक सम्बन्ध विस्तार हुँदछ, कोशी र बिरिंगमा हुलाकी पुल निर्माण हुन सकेमा विकासले गति लिएको हेर्न टाढा जानु नपर्ने जिकिर गरे।  झापाको अधिकांश भागमा हुलाकी सडक निर्माण सम्पन्न भएको बताउदै नेता कार्कीले केहि पुलहरु निमाण सम्पन्न हुनेबित्तिकै हुलाकी राजमार्ग संचालन हुने बताए। 

नेता कार्कीले कमल १ मा निर्माणाधीन अवस्थामा रहेको आदिबासी रंगशाला आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने बित्तिकै डिपिआर गरेर निर्माण सुरु गर्ने बताए।

  'तत्कालिन अवस्थामा रंगशालाको नाम र अन्य केहि बिषयमा बिबाद भएकै हो, अहिले त्यस्तो छैन, हामी उक्त स्थानमा आदिवासी रंगशाला निर्माण गर्ने सम्बन्धमा पार्टी भित्र गम्भीर छलफल मै छौं।  तत्कालै काम सुरु गर्छौं, उक्त स्थानमा आदिवासी संग्रहालय स्थापना गर्ने तैयारी समेत रहेको जानकारी गराउछु।', उनले भने।  

'मल आपुर्ती गर्ने ठेकेदारको घरमा नेता बस्ने नेताकै कारण समयमा मल ढुवानी हुन नसकेको विगतको अनुभवले देखाएको छ।  अव त्यस्तो हुने छैन। ठेकेदारको घरमा नेताले डेरा बसेर कमिसन  सेटिंग गर्ने गरेका कारण नेपाली किसानले समयमा मल पाउन सकेका छैनन्।  यस्तो प्रथाको अन्त्य हुनु जरुरी छ।  हामी सरकारमा जाने बित्तिकै मल आयातलाई व्यवस्थित गर्ने छौं।'
कृषि र पशुपालनको क्षेत्रमा समेत धेरै योजनाहरु आफ्नो पार्टीले घोषणापत्रमा समेट्न लागेको बताउदै मङ्सिर ४ को निर्वाचनले एमालेको स्थायी सरकार बन्ने कुरामा आफुहरु ढुक्क रहेको बताए। 
'गैर किसानले अनुदान पाउने गरेकोले किसानहरु मर्कामा रहेका छन्।  यसलाई कडाई गर्नु जरुरी छ।'
 
एमाले सरकारको साढे ३ वर्षको अवधिमा भौतिक पूर्वाधारको क्षेत्रमा निकै ठुलो फड्को मार्न सकिएको बताउदै धेरै अधुरा योजनालाई पूर्णता दिन आवश्यक रहेको बताए।  

एमालेका अर्का नेता तथा क्षेत्र नम्बर ५ प्रदेश (क ) एमाले उम्मेदवार होमबहादुर कार्कीले दमक-कमल-गौरिगंज र गौरादह क्षेत्रमा ओली सरकारको पालामा गरिएका विकास निर्माणका कार्यहरुको बारेमा चर्चा गरेका थिए।  दमकलाइ आधुनिक सहरमा रुपान्तरण गर्न आफुहरु लागिपरेको बताउँदै नेता थापाले सम्रिद्दीको यात्रामा एमाले मात्र नेपाली जनताको सहारा रहेको जिकिर गरे।  

कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा संयुक्त चुनाव प्रचार प्रसार समितिका संयोजक देवेन्द्र दाहालले चुनाव प्रचार प्रसार अभियानमा पार्टीका रणनीतिहरु बारे चर्चा गरेका थिए।  

 प्रेस चौतारी झापाका अध्यक्ष मन कुमार गदालले संचलान गरेको कार्यक्रममा राप्रपा केन्द्रिय सदस्य तथा मिडिया नेपालका अध्यक्ष गोपाल पौड्याल, एमाले झापा जिल्ला अध्यक्ष दिपक कार्की लगायतको उपस्थिति रहेको थियो।  
 

Views: