d

म सत्य कुरा बोल्छु, मतदाता ढाट्न जान्दिन - जीवन राई  (रोचक कुराकानी)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ (क) मा गठबन्धन  तर्फका उम्मेद्वार हुन् जीवन राई । गौरादह डिपुचोकका स्थापित व्यवसायी राई नेपाली कांग्रेस प्रदेशसभा (क) का सभापति तथा गौरादह उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत हुन् । बिद्यार्थीकाल देखि नै सकृय राजनीतिमा रहदै आएका राईको नाम सामाजिक क्षेत्रमामा निकै लोकप्रिय छ । मृगौला पीडित, क्यान्सर पिडित लगायत न्यून आर्थिक अवस्था भइ उपचार गर्न कठिनाई भएको परिवारको सहयोगमा सदैव अग्रपंक्तिमा रहने गरेकै कारण राईको लोकप्रियता चुलिदै गएको छ । कोभिड १९ को त्रासदीपूर्ण अवस्थामा चामल, दाल लताकपडा लगायतका खाद्यान्न सामाग्री बोकेर विपन्न सुमदायका घरघरमा पुग्दै समाजसेवाको बलियो उदाहरण बनेका राई बर्षादका मौसममा हुने बाढीको चपेडामा परेका नागरिकको उद्दारमा समेत सक्रिय रहदै आएका पर्याप्त उदाहरणहरु छन्।     मतदाताबिच घुलमिल गर्ने अल्ग्गै खुबी भएका राई यस पटकको चुनाव अत्याधिक मतले जित्ने कुरामा पनि ढुक्क देखिन्छन् । प्रस्तुत छ उनै सामाजिक, राजनीतिक लोकप्रिय व्यक्तित्व नेता जीवन कुमार राई संग पत्रकार सान नेपालले गरेको कुराकानी -

 

तपाईंको मुख्य प्रतिबद्धता के के छन् त ?
मलाई यसो गर्छु उसो गर्छु भन्न आउदैन। आफू सामान्य परिवारमा हुर्किएको मान्छे ठुला ठुला सपना देख्न पनि आउदैन र कसैलाई आश्वासन र सपना बाढ्न पनि आउदैन । म जितेपछि पनि मतदाता संगै हुनेछु । वहाँहरुको साझा प्रतिनिधि बन्ने छु । भूगोलको आवस्यकतामा केन्द्रित रहनेछु । जनता संग बसेर योजनाहरु बनाउछु।  आफ्नु क्षमताले भ्याए सम्म मात्र गर्छु, तपाईंहरुलाई झुठ बाढ्न आएको छुइन भनेर पटक पटक भन्ने गरेको पनि छु।   दिगो बिकासमा आधारित रोजगारी सिर्जना हुनेखालका योजनाहरु ल्याउछु भनेको छु । हाम्रो संयुक्त प्रतिबद्धता पत्र हामीले प्रकाशन गरिसकेका पनि छौँ ।

 

क्षेत्र नम्बर ५ (क) मा रहेका समस्याहरु के कस्ता छन् ? 

समस्या एउटा दुईवटा मात्र छदैछैन । जता गयो उतै समस्याको चाङ छ । यातायात, स्वास्थ्य, शिक्षा, खानेपानी, बिजुली, सिचाइ, बाढी, बसोबास, रोजगार, मलको अभाव, उद्योगधन्दाको कमी, रोजगारको अभाव जस्ता जनता संग प्रत्यक्ष सरोकार राख्ने विषयमा कैयौं जटिलता र समस्या छन् । सबैभन्दा ठूलो समस्या भनेको सहि नेतृत्व नहुनु हो ।  झापा, मोरंग जोड्ने फास्ट ट्रयाक सडकको अभाव छ।  कम्तिमा २ देखि ३ वटा यस प्रकारका ६ लेन सडक बनिनु पर्छ भन्ने मेरो खास मान्यता हो।  यहाँका व्यापारीहरु साग सब्जी र खाद्यान्न लिन पहाडी भागमा पनि पुग्नु हुन्छ।  व्यापार व्यवसायलाई प्रोत्साहन गर्न सडकहरु प्रसस्त हुनु पर्यो नी अनि पो बिकास हुन्छ त होइन ? यहाँ त पाडाजुगी- गौरिगंज सडक एउटा छ त्यो पनि ३ पटक ठेक्का लाग्यो रातो किताबमा चढ्यो भनेर पढ्न , सुन्न पाइन्छ अनि कसैको घर भत्किन्छ रे भनेर ठेक्का क्यान्सिल गरियो रे भन्ने सुनिन्छ।  यस्तो पनि हुन्छ तरिका ?काम गर्नु पर्यो नी झुठ बोलेर हुन्छ ? २१ औं सताब्दीका मतदातालाई ढाट्न पाइन्छ ?  

 

पुर्व प्रधानमन्त्री, पुर्व प्रदेश मन्त्री, पुर्व महान्यायाधिवक्ता, संविधानसभा सदस्य, पुर्व अर्थमन्त्री जस्ता होनहार व्यक्तिले नेतृत्व गरेको ठाउँलाई नेतृत्वविहिन भन्न मिल्छ र ? 

तपाईंले भनेको कुरामा म सहमत छु । तर वहाँ मध्ये एक जना मात्र बिकासबादी सोच भएको, जनतालाई माया गर्ने खालको हुनुभएको भए यो क्षेत्र स्वर्गको एक टुक्रा जस्तो सुन्दर बन्ने थियो । 


वहाँहरु त बिकास धेरै भएको छ भन्नुहुन्छ त ? 

तपाईं हेर्न सक्नुहुन्छ नी कहाँ बिकास भयो भनेर । के बिकास गर्नु भएको छ वहाँहरुले ? चुनाव आउने बेलामा वहाँहरु भन्ने गर्नुहुन्छ हामीले कृषि क्याम्पस ल्यायौं भनेर तर त्यो वहाँहरु मध्ये कसैले पनि पहल गरेर ल्याइएको होइन भन्ने कुरा बुझ्नु जरुरी छ । हिजो राणा शासनका प्रधानमन्त्री देव शमशेरले राज्यको नीति थोरै फराकिलो बनाइदिदा च्याउ उम्रेजस्तै बिद्यालयहरु उम्रेका थिए । बिद्यालय, कलेज, बिश्वबिद्यालयहरु समयका माग हुन् । म एउटा उदाहरण दिन चाहन्छु  एउटा पनि पसल नभएको गाउँमा कसैले पसल खोल्यो भने त्यो अत्यावश्यक थियो खुल्यो भन्ने हो । किराना पसल खुल्यो भन्दै  बर्सेनि देउसी खेल्नुको कुनै जरुरी रहदैन । 

 

तपाईंको मुख्य प्रतिस्पर्धी हिक्मत कार्की हुनुहुन्छ । वहाँ त मसंग प्रतिस्पर्धा गर्न सक्ने उम्मेद्वार नै छैनन् ।  अत्याधिक मतले जित्छु  भन्दै हुनुहुन्छ नी? 

वहाँले अघिल्लो पटक जित्नु भएकै हो । मन्त्री पनि बन्नु भएकै हो । तर आफुले गरेका प्रतिबद्धता पूरा गर्न वहाँ कति सक्षम हुनुभएको छ अनि जनताको घरमा जादा वहाँले कस्तो जवाफ पाउनु हुदैछ त्यो पनि वहाँलाई अनुभव छ होला नी ? म त हरेक मतदाताको घरमा पुगेको छु । वहाँहरुले २०४६ साल देखि गर्नुभएको झुठको खेतीको जवाफ यसपटक नेपाली जनताले दिदैछन् । अरु के कुरा गर्नु वहाँले आफ्नै घर अगाडिको बाटो ५ वर्ष देखि बनाउन बजेट खन्याउनु भएको छ । खोइ कति बन्यो देख्नुभएको होला नी ? पोखरी बनाउने भनेर २०४६ साल देखि सुनेको हो । करोडौं रकम खन्याइदै आएको पोखरीको हालत आज के छ ? आदिवासी रंगशालाले त वहाँहरुको सक्कली स्वरुप नै देखाएको छ । कमल गाउँपालिकामा वहाँहरुले मान्छे जुधाउने  बाहेक के गर्नु भयो ? साढे तीन वर्ष सत्तामा बस्दा वहाँहरुले आफ्नो क्षेत्रमा कुन योजना ल्याउनु भयो ? वहाँहरुले प्राय सवैजनाले पढ्नुभएको जनता मा वीको भवनको हालत देख्नु भएको छ नी ? त्यहि जनता मा वि  नजिकै बनाइदै गरेको कभड हलको अवस्था के छ ? हेरे भइ हाल्छ नी ! सबै भवन जिर्ण छन् । जनता मा वि  त एउटा प्रतिनिधि उदाहरण मात्र हो । एकाध बाहेक यहाँका सबै विद्यालयहरु जिर्ण छन् । खानेपानीको अवस्था के छ ? हिक्मत जी हिजोको दिनमा विकास निर्माणकार्यमा हामी सवै प्रदेशबासीले सकारात्मक सहयोग गरेकै हो, तर पनि बदलामा के दिनु भयो ? मन्त्री भएपछी हामीले पनि वहाँबाट आशा र भरोसा राखेकै हो। वहाँ आफ्नो गृह क्षेत्र छिर्दा आउँदा पाडाजुगीमा बजेको साइरन गौरिगंजबासीले सुन्न पाउथे। त्यहि तामझामका लागि मतदाताले भोट हालेका थिए त ? वहाँको बारेमा वहाँकै पार्टीका मान्छेले हिक्मतको जित्ने अवस्था निकै कमजोर छ , जनता विकल्प खोज्दै छन् भनेको सुनेकै पनि हो र निर्वाचनको मिति नजिकिदै जादा वहाँ आफ्नै बाट धोका पाइने हो की भन्ने त्रासमा पुगी सक्नु भएको छ।  देख्दै हुनुहुन्छ नी स-सानो झुण्ड बाहेक वहाँलाई कसले साथ दिएको छ ?     म वाणिज्य संघको अध्यक्ष भएको बेला गौरादहमा एउटा सामुदायिक अस्पतालको जरुरत छ भनेको थिए । अहिलेसम्म एउटा अस्पतालको लागि बजेट ल्याउने चिन्ता वहाँहरु संग छैन । दाताले उपलब्ध गराएको जमिनको कागजी प्रक्रिया मिलाउन मात्र ५ वर्ष लाग्छ भने अस्पताल कहिले बन्ला ?

 

राप्रपाका मतदाताले एमालेलाई सघाउने गरि तालमेल भएको छ, यस क्षेत्रमा राप्रपाको मत पनि राम्रै देखिन्छ त्यसो भएको खण्डमा तपाईंलाई जित्न गाह्रो पर्दैन ?
राप्रपाको तालमेल एमाले संग छ होला तर पनि आम राप्रपाका मतदाताले हिक्मत जी लाई भोट हाल्छन नै भन्ने के ग्यारेन्टी छ ? २०६४ साल देखि सुर्यमा भोट हाल्दै आएको राप्रपालाई एमालेले के उद्दार गर्यो ? राप्रपाका साथीभाई एमाले संग र विशेष गरि हिक्मत जी संग दोहरो भेटघाट र दोहोरो संवादमै हुनुहुन्न भन्ने कुरा मलाई जति थाहा छ तपाईंलाई पनि जानकारीनै होला नी ?   मा यहाँको माटोमा दुख सुख साटेर साथीभाई राखेर समाजसेवा गर्ने मान्छे हो।  दुख के हो, आम भुइँ मान्छेका समस्या के हुन्छन भन्ने मलाई राम्रो संग थाहा छ।  म आफैं पनि सामान्य वर्गको मान्छे हो।  मलाई राजनीति गर्ने भन्दा पनि मेरो ठाउँ एकपटक बनाउनु पर्छ भन्ने लाग्छ यसमा मलाई राप्रपा लगायत सवै  दल र स्वतन्त्र विचार राख्ने आम मतदाताले मतदान गर्नु हुनेछ भन्ने कुरामा मा पूर्ण विश्वास राख्छु।  

 

 भौतिक पुर्वाधारको क्षेत्रमा त निकै प्रगति भएका छन् भनिन्छ नी?

वहाँहरुका भाषणमा भएका होलान् । काम भएको कतै देखिदैन । हो एउटा कुरा अवस्य भएको छ । झुठको खेती राम्रै भएको छ । अरुलाई मान्छे नगन्ने आफू बनिने अरुलाई वास्ता नगर्ने कुरा धेरै नै भएका छन् । यहाँका समस्या भजाएर वहाँहरुको राजनीतिक मिसन निकै उचाईमा पुगेको होला । म त मतदाता संग प्रत्यक्ष भेटघाटमा छु । मतदाताले यो पटक झुठको साथ दिदैनन् ।

 

कांग्रेसकै कार्यकर्ताहरु एक ढिक्का छैनन्, माओबादीले पनि तपाईंहरुको टिमलाई भोट हाल्दैनन्।  स्थानीय निर्वाचनको परिणामले एक आपसमा दुरी बढेको छ भन्छन् नी ?
 विपक्षीले चलाएको हल्लामा मा विश्वास गर्दिन।  माओबादीका साथीभाई संग उमेद्वारी दिनु अगाडी देखि नै व्यापक छलफल र संवाद हुदै आएको छ।  वहाँहरुकै सल्लाह र सहयोगमा मैले टिकेट पाइएको हो।  गठबन्धनमा कुनै सन्देह छैन।  यो त मुलुकको आवश्यकताको कारण गरिएको गठबन्धन हो।  रह्यो कुरा मेरै पार्टीका साथी भाइ म संग असन्तुस्ट छन् भन्ने।  विपक्षीले जे पनि भन्छन्।  उनीहरु हामीलाई कमजोर पारेर जित्न सकिन्छ की भन्ने दिवा सपनामा हुनुहुन्छ।  नेपाली कांग्रेस यस्तो पार्टी हो जो देशमा अप्ठ्यारोमा परेको बेला काम लाग्छ।  अहिले पनि मुलुकको अवस्था भयावह छ।  संविधान च्यात्ने खेलको खिलापमा छ नेपाली कांग्रेस पार्टी।  तमाम कार्यकताले र मतदाताले यो कुरा बुझ्नुभएको छ।  आज गणतन्त्र नै धरापमा पर्ने खेलमा लगिएको छ।  गोलबंद भएर संविधान जोगाउने अभियानमा केन्द्रित रहेको नेपाली कांग्रेस जस्तो बिचार, सिद्दान्त र आदर्श बोकेको पार्टीका कार्यकता र मतदातामा मतभेद होला र सत्ता स्वाद चाखौला भन्नेहरुले मङ्सिर ४ गते आफैं थाहा पाउनेछन्।       

 

अन्त्यमा केहि छुटेको छ की ?
अन्त्यमा मा के भन्न चाहन्छु भने हामी चुनावी महासंग्राममा छौं।  प्रदेशसभा सदस्य पद अन्तर्गको क्षेत्र नम्बर ५ (क) बाट रुख चिन्ह लिएर म गठबन्धनको तर्फबाट उम्मेदवार रहेको छु र प्रतिनिधिसभा तर्फ डा खगेन्द्र  पाण्डव अधिकारी गठबन्धन उमेद्वार हुनुहुन्छ।   हाम्रो क्षेत्रमा बिकासका अनेकौं सम्भावना रहेको भएतापनि  सहि नेतृत्वको अभावका कारण बिकासको गति एकदमै सुस्त हुदै गएको छ।  मलाई तपाईंहरुले प्रदेशसभामा निर्वाचित गराउनुभयो भने तन, मनका साथ तपाईंहरुको एक सहयोगीको रुपमा रहनेछु।  यहाँका सबैखाले समस्यालाई समाधान गर्न मात्र मेरो ध्यान केन्द्रित हुने छ।  एकपटक मौका दिनुहुन आम मतदातामा बिनम्र अपिल गर्दछु। 

Views: