d

राजसंस्थाको झझल्को दिने दमकको पन्चायत रजत जयन्ती पार्क

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास / फागुन ८ दमक: वि. सं. २०१७ साल पौष १ तत्कालिन राजा महेन्द्रबाट स्थापना गरेको पन्चायती व्यवस्था २०४६ सालमा आएर अन्त्य भयो।  पन्चायती व्यवस्थाको अन्त्य भए संगै मुलुकबाट पन्चायतको झझल्को दिने सबैजसो स्मारक र स्तम्भहरुको  नाम निशान समेत मेटाइए। 

यहि झापाको प्रतिष्ठित सहर दमकमा अहिले पनि पन्चायत रजत जयन्तीको स्मारक  स्तम्भ सुरक्षित रहेको पाइन्छ।  

दमक नगरपालिका वडा नम्बर ७ को वडा कार्यालय भवन नजिकै रहेको यो स्मारक २०४२ सालमा पन्चायत रजत महोत्सव मनाउदा निर्माण गरिएको थियो।  पन्चायती व्यवस्थाको इतिहास बोकेका यस्ता स्मारकहरु मुलुकभर गणतन्त्रको चपेटामा परेर निमिट्यान्न पारिएको भएपनि यो स्मारक भने अहिले पनि उस्तै छ, दुरुस्तै छ र यो पार्कमा भ्रमण गर्ने जो कसैले पनि एक पटक यस स्तम्भमा सेल्फी लिएर मात्र फर्कने गर्दछन्।  
 
यस स्मारकको बारेमा कुरा गरिरहदा यसको संरक्षण चाहिँ कसले गरेको रहेछ भन्ने जिज्ञासा पनि उति नै हुन सक्छ।  

यो स्मारकको संरक्षण गर्ने जिम्मेवारी वडा कार्यालय वडा नम्बर ७  कै अगुवाईमा भएको पाइन्छ।  यस वडाका वडाध्यक्ष भिम प्रसाद पौडेल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित जनप्रतिनिधि हुन्।  २०४६ सालको राजनीतिक परिवर्तन पश्चात भएका स्थानिय तहका निर्वाचनमा  पटक पटक जनप्रतिनिधि रहेका पौडेल २०७४ र २०७८ मा भएको दुवै स्थानिय निर्वाचनमा लोकप्रिय मत प्राप्त गरेर निर्वाचित वडाध्यक्ष  हुन्।  

पौडेलकै सक्रियतामा पशुहाट क्षेत्रमा रहेको उक्त स्मारकलाई सुन्दर पार्क सहितको मनोरम स्थलको रुपमा विकास गर्न थालनी गरिएको पाइन्छ।  

वडा कार्यालयले आवश्यक वजेट तर्जुमा गरेर यस स्मारकको संरक्षण गर्दै आएको वडाध्यक्ष पौडेल बताउनुहुन्छ।  

'यस स्तम्भको नाम निशान मेटाउन निकै प्रयत्नहरु गरिए तर हामीले चट्टान जस्तो भएर स्तम्भलाई जोगाउदै आएका छौं। 
राजनीतिक व्यवस्था परिवर्तन भयो भन्दैमा ऐतिहासिक महत्व राख्ने पुरातात्विक स्थलहरु हटाउन खोज्नु गलत हो।  तत्कालिन इतिहास दर्शाउने यस्ता  स्तम्भले तत्कालिन समयको राजनीतिको अवस्थालाई बुझ्ने अवसर प्रदान पनि गर्छ।', वडाध्यक्ष पौडेलको भनाई रहेको छ ।  

रजत महत्सव रहेको उक्त स्थानलाई हाल वडा कार्यालयले मनोरम देखिने पार्कको रुपमा विकास गरेको छ। 

'प्रत्यक वर्ष केहि बजेट विनियोजन गरेर हामीले उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना बनाएका छौं।  यसले आन्तरिक पर्यटनमा मद्दत पुर्याउछ भन्ने पनि हाम्रो विश्वास रहेको छ।', वडाध्यक्ष पौडेल बताउनुहुन्छ।    

Views: