d

संसद्को प्रमुख प्रतिपक्षी दलमा कांग्रेस र एमाले दुवैको दाबी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाण्डाै – संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रमुख प्रतिपक्षी दलमा आफूलाई दाबी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसद्को पहिलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेले विश्वासको मत दिएका थिए । सरकारलाई विश्वासको मत दिए पनि आफू सरकारमा सहभागी नभएको भन्दै कांग्रेस प्रतिपक्षी बेन्चमा बस्दै आएको थियो । राष्ट्रपतिको उम्मेदवारको विषयमा तत्कालीन सत्तारूढ गठबन्धन विभाजित भएपछि गएकाे सोमवार एमालेले सरकार छोडेको थियो भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो । यससँगै एमालेले आफूहरू प्रमुख प्रतिपक्ष भएको दाबी गरेको छ ।

कुन–कुन दल सत्तापक्ष र कुन–कुन दल प्रतिपक्ष हुन् भन्ने यकिन नभइसकेको अवस्थामा बुधवारका लागि तय भएको प्रतिनिधि सभाको बैठक आउँदाे चैत ५ गतेसम्मका लागि स्थगित भएको छ । कांग्रेस र एमाले भने आफूलाई प्रमुख प्रतिपक्षी भएको तर्क पेस गरिरहेका छन् । यसै सन्दर्भमा बुधवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफ्नाे पार्टी प्रमुख प्रतिपक्षी दल भएको बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्ष दलको नेता शेरबहादुर देउवा रहेको पनि उल्लेख गर्नुभयो । कांग्रेस सरकारमा नजाँदासम्म संसद्को प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहने उहाँको भनाइ छ । एमाले पनि सरकारमा नरहेको अवस्था भएमा सङ्ख्यात्मक हिसाबले कांग्रेस अगाडि रहेकाले कांग्रेस नै प्रमुख प्रतिपक्षी दल हुने नेता लेखले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस हो । प्रमुख प्रतिपक्षी दलको अथवा विपक्षी दलको नेता शेरबहादुर देउवाजी हुनुहुन्छ । यसमा कुनै आशङ्का, यसमा कुनै दुविधा हुनुपर्ने कुरा छैन । हामी सरकारमा नजाँदासम्म हामी प्रतिनिधि सभामा विपक्षी दल हो । हामी एमालेभन्दा सङ्ख्यात्मकरूपले हामी अगाडि छौँ । सङ्ख्यामा जो सबैभन्दा ठूलो दल हुन्छ त्यही विपक्षी दल हुन्छ । त्यो एमालेले पनि राम्ररी बुझेको छ । संसद्ले पनि राम्ररी बुझेको छ ।’

त्यस्तै न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै एमालेका सचिव एवम् सांसद छविलाल विश्वकर्माले एमाले सरकारमा नरहेको र समर्थन पनि नगरेकाले प्रमुख प्रतिपक्षी भएको बताउनुभयो । उहाँले आफूहरूले औपचारिकरूपमै प्रमुख प्रतिपक्षी भएको दाबी गरिसकेको स्पष्ट पार्नुभयो । यद्यपि को प्रमुख प्रतिपक्षी दल हो भन्ने कुरा निरूपण गर्ने काम संसद् सचिवालयको भएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामी त प्रतिपक्षमा छौँ भनेका छौँ । निर्धारण गर्ने काम सचिवालयको हो । सत्तापक्षमा हुनका लागि जोड गर्नेभन्दा पनि प्रमुख प्रतिपक्ष हुनका लागि जोड गर्नेजस्तो देखियो । नेपाली कांग्रेसले प्रतिपक्ष नै हौँ भन्छ भने उसको कुरा रह्यो । हामी त औपचारिकरूपमा प्रतिपक्ष छदैछौँ । ऊ सत्तामा नरहेर प्रमुख प्रतिपक्ष वा प्रतिपक्ष नै हुन्छु भन्छ भने पनि उसको कुरा हो । यसमा निरूपण गर्ने काम सचिवालयको हो ।’

त्यसैगरी न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै एमालेका केन्द्रीय सदस्य सांसद ठाकुर गैरेले एमाले संसद्को प्रतिपक्षी बेन्चमा बस्ने बताउनुभयो । एमाले प्रतिपक्षी भएर नागरिककाे आवाज संसद् र सडकबाट उठाउने उहाँले बताउनुभयो । 

उहाँले एमाले सरकारमा रहँदा पनि कांग्रेसले सरकारलाई विश्वासको मत दिएको उल्लेख गर्दै कांग्रेस सत्तापक्ष अथवा प्रतिपक्ष दुवै हैसियतमा बस्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले कांग्रेसको परिचय खुल्न नसकेको प्रतिक्रिया दिनुभयो ।

अन्तिम अपडेट: फागुन १७, २०७९

Views: