d

कस्तो विवाह बदर हुन्छ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

मुलुकी अपराध संहिता, २०७४ परिच्छेद –११ विवाह सम्बन्धी कसूरमा  निम्न अवस्थाको विवाह बदर हुने व्यवस्था गरेको छ। 

परिच्छेद –११ विवाह सम्बन्धी कसूर
१७१. मञ्जुरी विना विवाह गर्न नहुनेः (१) विवाह गर्ने व्यक्तिहरुको मञ्जुरी विना कसैले कसैलाई विवाह गर्न वा गराउन हुँदैन ।

(२) उपदफा (१) बमोजिम मञ्जुरी विना भएको विवाह बदर हुनेछ ।

(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलार्ई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि दफा १७३ बमोजिम विवाह गर्न पूरा हुनु पर्ने उमेर पूरा नभएको व्यक्तिले दिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन ।

१७२. हाडनातामा विवाह गर्न नहुनेः (१) कसैले परम्परा अनुसार चली आएको अवस्थामा बाहेक हाडनाता करणीमा सजाय हुने नातामा विवाह गर्न वा गराउन हुँदैन ।

(२) उपदफा (१) बमोजिमको विवाह थाहा नपाई भएको रहेछ भने त्यस्तो विवाह बदर हुनेछ ।

(३) उपदफा (१) बमोजिमको विवाह जानीजानी भएको रहेछ भने त्यस्तो विवाह गर्नेलाई हाडनाता करणीको कसूरमा हुने सजाय र गराउनेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ र त्यस्तो विवाह स्वतः वदर हुनेछ ।

१७३. बाल विवाह गर्न नहुनेः (१) विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन ।

(२) उपदफा (१) विपरीत भएको विवाह स्वतः बदर हुनेछ ।

(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

१७४. विवाहमा लेनदेन गर्न नहुनेः (१) आफ्नाे परम्परादेखि चली आएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहना बाहेक विवाह गर्ने दुलहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल, दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन शर्त राखी विवाह गर्न वा गराउन हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

(३) कसैले विवाह गरी सकेपछि उपदफा (१) बमोजिमको चल, अचल सम्पत्ति वा दाइजो माग गर्न वा त्यस्तो चल, अचल सम्पत्ति वा दाइजो नदिएको कारणले दुलही वा निजका नातेदारलाई कुनै किसिमले हैरान पार्न, सताउन वा कुनै अमानवीय वा अपमानजन्य व्यवहार गर्न हुँदैन ।

(४) उपदफा (३) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

(५) उपदफा (१) वा (३) बमोजिम कुनै सम्पत्ति लिएकोमा त्यस्तो सम्पत्ति सम्बन्धित व्यक्तिलाई फिर्ता दिनु पर्नेछ ।

१७५. वहुविवाह गर्न नहुनेः (१) विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन ।

(२) कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्नु हुँदैन ।

(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि पति पत्नीले कानून बमोजिम अंशवण्डा गरी भिन्न भएमा पुरुष वा महिलाले पुनः विवाह गर्न सक्नेछ ।

(४) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

(५) उपदफा (१) बमोजिमको विवाह स्वतः बदर हुनेछ ।

(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो संहिता लागू हुनुअघि तत्काल प्रचलित कानून बमोजिम भएको विवाहको हकमा यस दफामा लेखिएको कुनै कुराले असर पारेको मानिने छैन ।

१७६. हदम्यादः यस परिच्छेद अन्तर्गतको कसूरमा कसूर भए गरेको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन

https://lawcommission.gov.np को सहयोगमा 

Views: