d

नगरपालिकालाई सिस्टममा ल्याउनु नै मेरो ५ वर्षे मुख्य लक्ष्य हो - नगरप्रमुख सुवेदी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

 गौरादहमा  नेतृत्व विकास सम्बन्धि ३ दिवसीय कार्यक्रम सम्पन्न भएको छ ।  गौरादह ३ मा रहेर लामो समय देखि सामाजिक क्षेत्रमा सकृय  रहदै आएको धिमधिमे युवा क्लबको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । वडा नम्बर ३ स्थित सुर्योदय आधारभुत बिद्यालयमा बैशाख १४ देखि १६ गते सम्म सम्पन्न तालीमको सहजीकरण साहित्यकार शंकर चापागाईं धनकुटे कान्छाले गरेका थिए ।

गौरादह नगरपालिकाको १ लाख आर्थिक सहयोगमा सम्पन्न तालीममा नगर भित्र रहेका सामुदायिक बिद्यालयमा अध्ययनरत ३६ जना विद्यार्थीको सहभागीता रहेको थियो । 

 कार्यक्रमको अन्तिम दिन अर्थात आज शनिबार लाइफलाईन अस्पताल दमकमा सेवारत डा. स्वेता भण्डारीको सहजीकरणमा मानसिक तनाव न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम समेत सन्चालन गरिएको आयोजक संस्थाले जनाएको छ । 

कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट  मन्तव्य राख्दै प्रमुख अतिथि नगरप्रमुख छत्रपति सुवेदीले संघ/संस्थाहरु द्वारा आयोजना हुने क्षमता अभिवृद्धि तालीमले समाज रुपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनु भयो । बिद्यालयहरुले हरेक शुक्रबार अनिवार्य रूपमा अतिरिक्त कार्यक्रमहरु आयोजना गर्न सुझाव दिँदै वहाँले सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्न नगरपालिकाले बिद्यालय प्रशासनिक सुधार कार्यक्रमलाई प्राथमिकतामा राखेको  बताउनु भयो । 

नगरपालिकालाई ५ वर्ष भित्रमा सिस्टममा ल्याएर छाड्ने वाचाका साथ आफूले मेयरपदमा उम्मेद्वारी दिएको स्मरण गर्दै वहाँले भन्नुभयो, 'म  पटकपटक मेयर बन्ने महत्वाकांक्षा बोकेर हिडेको व्यक्ति होईन, भोलिको दिनमा जो मेयर बनेर आउँदा पनि नगरपालिकामा एउटा सिस्टम बसिसकेको हुनेछ, सोही सिस्टमको अधीनमा रहेर नगरबासीको हितमा काम गर्न सक्ने वातावरण तयार गर्नु मेरो मुख्य लक्ष्य छ।'

'नगरले भर्खरै शिक्षा ऐन जारी गरेको छ । ऐन अनुसार प्रधानाध्यापकको परीक्षा संचालन गर्न लागिएको छ । क्षमता नभएका प्रअ ले पद मात्र  ओगटेर बस्ने कार्यको अन्त्य हुनु आवश्यक छ । गौरादहलाई शैक्षिकहव बनाउने नगरको प्रयासलाई सहयोग गर्नुको सट्टा अनावश्यक बखेडा झिकेर शैक्षिक वातावरण धमिलो पार्न नखोज्न आग्रह गर्दछु ।' 

नगरले जारी गरेको शिक्षा ऐन संघीय कानुन सँग बाझिएको छ भन्ने तर्क गर्नेहरूले एक पटक संघीय ऐन अध्ययन गरेर मात्र बोल्न आग्रह गर्दै वहाँले प्रअ को पद रोलक्रम अनुसार हुनुपर्छ भन्नू आफैंमा गलत भएको तर्क गर्नुभयो । 

कार्यक्रमका तालीम वडा नम्बर ३ का वडाध्यक्ष दिलिप भण्डारी, तालीम सहजकर्ता शंकर चपागाई (धनकुटे कान्छा), गौरादह-विराटनगर सम्पर्क समाजका अध्यक्ष इन्द्र न्यौपाने, नगर स्काउट अध्यक्ष गंगा कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  

सोही अवसरमा तालीममा सहभागी भएकाहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । 

क्लब अध्यक्ष प्रवीण बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन प्रगति माविमा कक्षा १० मा अध्ययनरत छात्रा महिमा अधिकारीले गरेकी थिइन् ।

 

Views: