d

गौरादह वाणिज्य संघ निर्वाचन: यस्तो छ पछिल्लो जोड घटाउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास/ बैशाख २५/ गौरादह: 


-जेबी बौद्धिक व्यक्ति हुन् । उनले नजिते कसले जित्छ..? 
- बौद्धिक भएर के गर्नु र यसपटक लक्ष्मी बारकोटीको पल्ला भारी छ... । 

-तपाईंहरु के आधारले बोल्दै हुनुहुन्छ ? यो पटक जित्त्ने भनेकै प्रकाश बाँस्कोटाले हो... । 

-तिमिले खुबै कुरो बुझेका रहेछौ, जे बी ले हार्नु भनेको वाणिज्य संघ सकिनु हो ...

-लक्ष्मी भनेकी कसैको आँखामा नबिझाउने बलियो सम्भावना भएकी महिला नेत्री हुन् । सामाजिक पनि छिन् । मर्दापर्दा कम्मर कसेर सहयोग गर्ने लक्ष्मी दिदिले नजित्ने कुरै हुदैन ।

प्रकाश भनेको गौरादहको साँच्चैको प्रकाश हुन्  ।  वाल्यकाल देखिनै फर्निचर व्यवसायमा निकै ठूलो पसिना बगाएर  स्थापित भएको व्यवसायी हुन् । गरिब दुखीलाई सहयोग गर्न भनेपछि साह्रै मनकारी छन् । खबर सुन्नेबित्तिकै जहाँ पनि पुगेका हुन्छन् । यस्ता असल व्यक्तिलाई नजिताएर कसलाई जिताउने ? त्यसमा पनि उनले त स्वतन्त्र पार्टीको सप्पै भोट  पाउदै छन् । तपाईंहरुलाई थाहै होला नी अहिले गौरादहमा स्वतन्त्र पार्टीको कत्रो संगठन बनिसकेको छ । 

-हल्ला र लहडको पछि लागेर हुन्छ? के को स्वतन्त्र पार्टी ? किन चाहियो वाणिज्य संघमा स्वतन्त्र पार्टी ? जेबीले आफू अध्यक्ष बन्दा कति धेरै काम गरेका छन् ? गौरादह उद्योग वाणिज्य संघलाई उद्योग वाणिज्य महासंघको सदस्यता दिलाए । उनले नगरेको छ र ? तेत्रो भवन बनाएका छन् । ऋणमा जाकिएको वाणिज्य संघको सबै ऋण सकिएको छ । त्यो कसको पालामा भएको हो? 

-खुबै गरेछन् जेबीले, म त यो वाणिज्य संघको सदस्य नै बन्न मन नलागेर यो पटक नवीकरण नै गरिन । सदस्यहरु घटेर ४/५ सय मात्र भएका छन् । व्यवसायीको समस्याको बारेमा एउटा काम छैन । यस्तो पनि व्यवसायीको संगठन हुन्छ ? 

- सदस्य मात्र  राखेर के काम ? फर्जी व्यापारी हटाएर राम्रै गरेछन् । सदस्य भएपछि आफ्नो संस्थाको बारेमा चासो त राख्नुपर्छ नी ? व्यापारी भन्या छ हिड्या छ । कर तिर्नु छैन । नवीकरण गर्न जानू छैन । त्यतिकै हल्ला मात्र गरेर हुन्छ ?

- के को चुनाव ? चुनाव न सुनाव । म त भोट हाल्नै जान्न । खाली चुनाव भनेको छ । जनता अल्मल्याएको छ । 

-चिया दोकानका गफ सबै हावादारी हुन्छन् । ३६ साल देखि सुनिदै आएको छ यस्ता गफ । चिया दोकानका गफले सरकार ढाल्ने भए प्रचण्डलाई उहिल्यै कहाँ पुर्याइसक्ने थिए । 

यी हुन् हिजोआज गौरादहका चिया पसलमा हुने गफगाफका विषयवस्तु । चुनाव आउनै लाग्दा चियापसलमा घण्टौ बसेर यस्तै यस्तै गन्थन हुन्छन् । अहिले गौरादहका हरेक चिया पसलमा वाणिज्य संघको निर्वाचन नै प्रमुख बहसको विषय बनेको छ । 


 स्थानीय व्यवसायीहरुको संगठनमा नयाँ पदाधिकारी र सदस्यको निर्वाचन भोलि मंगलबार संघको आफ्नै हलमा हुँदैछ । अघिल्लो पटक सर्वसम्मत भएपछि व्यापारीहरुले चुनावमा भाग लिनै पाएका थिएनन्  । यसपटक भने सबै पदहरुमा निकै ठूलो प्रतिस्पर्धा देखिएको छ । 

अध्यक्ष पदमा प्रगतिशील समुहले पुरानै अनुहार जेबी कार्कीलाई उठाएको छ ।  लोकतान्त्रिक प्यानलको तर्फबाट लक्ष्मी बारकोटीले अध्यक्ष पदमा उम्मेद्वारी दिएकी छिन् । त्यस्तै स्वतन्त्र समुहको अर्को टिमको तर्फबाट अध्यक्षमा प्रकाश बाँसकोटा उम्मेद्वार रहेका छन् । 

कार्की अध्यक्ष रहेकोे बेला उनले मुख्यगरी ४/५  वटा महत्त्वपूर्ण काम गरेको व्यवसायी बिच चर्चा हुने गरेको पाइन्छ । वाणिज्य संघको सुबिधासम्पन्न  भवन निर्माण गरेको, व्यवसाय छाडिसकेका सदस्यको नाम हटाएर नितान्त व्यापारीहरुलाई मात्र सदस्यता प्रदान गरेको, कार्यालयमा सफ्टवेयर प्रणाली जडान गरेर आर्थिक पारदर्शिता कायम गरेको र सूचना प्रणालीलाई व्यवस्थित गर्दै संघका सबैखाले गतिविधिहरु व्यवसायी माझ पुर्याएको, तथा गौरादह वाणिज्य संघलाई उद्योग वाणिज्य महासंघको सदस्यता दिलाएको, नगरका हरेक बैठकमा संघको प्रतिनिधित्व हुने वातावरण तयार भएको आदि विषयहरु प्रगतिशील समुहले आफुहरुले जित्ने आधारको रूपमा लिदै  आएका छन् । 

लोकतान्त्रिक समुहले यो पटक आफुहरुले नेतृत्व गर्ने र वाणिज्य संघलाई एउटा बलियो संगठनको रूपमा स्थापित गर्ने प्रतिबद्धता मतदाता सामु गर्ने गरेको पाइन्छ । यस समुहकी  अध्यक्ष पदकी उम्मेद्वार लक्ष्मी बारकोटी नेपाली कांग्रेसमा एक अब्बल नेतृको रूपमा परिचित नाम हो ।  स्थानीय संघ/संस्थामा आवद्ध रहि हरेक सामाजिक गतिविधिमा सकृय रहने र हरेक राजनीतिक दल सँग सुमधुर सम्बन्ध स्थापित गर्न खप्पिस मानिने महिला नेत्री भएकै कारण र लोकतान्त्रिक समुहका सबै उम्मेद्वारहरु परिपक्क भएकै कारण पनि यस समुहका सबै उम्मेद्वारले सहजै जित हासिल गर्नेमा उनीहरु विश्वस्त छन् । 

उता स्वतन्त्र समुहबाट उम्मेद्वार रहेकाहरुले निर्वाचन जित्न अलग्गै रणनीति बनाएको देखिन्छ । वर्तमान कार्यसमितिमा कोषाध्यक्ष रहेका प्रकाश बाँसकोटा २/३ महिना अघि देखिनै भोट माग्न सकृय छन् । कुनै पनि हालतमा यो पटक प्यानलै लिएर वाणिज्य संघमा फर्कने भन्दै बाँसकोटाले सक्रियता बढाएका हुन् । महासचिव पदमा एमालेका निकै प्रभाशाली युवा कार्यकर्ता चन्द्रमणी गौतमको साथ पाएका बाँसकोटालाई राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र माओवादी केन्द्रको समेत साथ रहेको छ । सडक, संचार र आन्तरिक भेटघाटलाई एकै साथ अगाडि बढाएको उनको टिमले प्रचारप्रसारलाई निकै तिब्र पारेको देखिन्छ । अवको समय युवाहरूको रहेको र हरेक क्षेत्रमा युवाले नेतृत्व लिन तयार हुनुपर्ने बताउदै आएका बाँसकोटाले वाणिज्य संघलाई सबै व्यवसायीहरुको अपनत्व महसुस हुनेगरीको संगठन बनाउने बताउदै आएका छन् ।  

अध्यक्षमा आ-आफ्नो टिमले जित्ने दावी गर्दै गर्दा महासचिवमा पनि त्रिपक्षिय रूपमा बलियो प्रतिस्पर्धा हुने आकलन गरिएको छ । प्रगतिशील समुहबाट उम्मेद्वार रहेका क्रान्ति दिप काफ्ले गौरादह जेसीजका पुर्व अध्यक्ष हुन् । आफ्नो व्यवसायका अतिरिक्त सामाजिक कार्यमा निकै सकृय देखिने काफ्लेलाई आफ्नै पार्टीमा रहेका चन्द्रमणी गौतमको उम्मेद्वारी भने निकै भारी पर्ने देखिएको छ । काफ्ले नेकपा एमाले सम्बद्ध व्यवसायी हुन् भने स्वतन्त्र समुहबाट महासचिवको उम्मेद्वार रहेका गौतम पनि सोही पार्टीका सकृय कार्यकर्ता हुन् । मंसिर ४ मा सम्पन्न निर्वाचनमा नेकपा एमालेका उम्मेद्वारहरु केपी ओली र हिक्मत कार्कीलाई जिताउन अहोरात्र खटेका गौतमले वाणिज्य संघमा आफ्नै पार्टीका विरुद्ध उम्मेद्वारी दिएपछि परिणाम कस्तो आउँछ भन्ने निर्क्योल गर्न नसकिने अवस्था देखिएको छ । लोकतान्त्रिक समुहबाट महासचिवका उम्मेद्वार हुन् इश्वर खत्री । सामाजिक क्षेत्रमा निकै सकृय रहने खत्री सहकारीकर्मी समेत हुन् । उनको आफ्नै लगानीमा दमक र गौरादहमा नोबेल डेन्टल केयर संचालनमा छ ।  कांग्रेसको जिल्ला सदस्यमा फराकिलो मतान्तरले जित्न सफल भएका खत्री यो पटक जसरी भएपनि वाणिज्य संघको महासचिव बनेरै छाड्ने मौकामा छन् । 

यस पटकको निर्वाचनले जेजस्तो परिणाम दिएता पनि गौरादह वाणिज्य संघ आवद्ध र आवद्ध हुन नसकेका व्यवसायीहरु निर्वाचनको मुखमा निकै उत्साहित देखिएका छन् । आ-आफ्नो विचार र सिद्धान्तमा अडिग रहि स्वस्थ प्रतिस्पर्धा गर्न पाएकोमा उम्मेद्वारहरु पनि सन्तुष्ट नै देखिन्छन् । स्थापना काल देखि नै कछुवाको गतिमा वाणिज्य संघ हिड्दै छ भन्ने आरोपलाई सकारात्मक रूपमा लिदै अवको २४ घण्टा भित्रमा यस संघले प्राप्त गर्ने नयाँ कार्यसमितिले नयाँ ढंग र नयाँ परिपाटीले आफ्नो कार्य सम्हाल्छ भन्ने आशा एवम् भरोसामा व्यवसायीहरु देखिन्छन् । 


प्रगतिशील उम्मेद्वारहरुको सुची 

अध्यक्ष: जित बहादुर कार्की
प्रथम उपाध्यक्ष: खड्गराज थापा
द्वितीय उपाध्यक्ष: दिल बहादुर खत्री
तृतीय उपाध्यक्ष: सरद कुमार थापा
महासचिव: क्रान्ति दिप काफ्ले
कोषाध्यक्ष: हरि कार्की
खुल्ला सदस्यहरु: दिपक उप्रेती, हरिचन्द्र अधिकारी, भानु सुवेदी, गणेश बहादुर विष्ट, लक्ष्मी प्रसाईं, मोहन प्रसाद पराजुली, विपिन रिजाल, महिला सदस्य: गिता खतिवडा (दंगाल), भूगोल तर्फका उम्मेद्वारहरु: रुकमणी लुइटेल (रुका), अनिश कार्की, कृष्ण कार्की, दुर्गा भण्डारी ।


लोकतान्त्रिक तर्फ

अध्यक्ष: लक्ष्मी बारकोटी (प्रसाईं)
महासचिव: इश्वर खत्री 
प्रथम उपाध्यक्ष: अशोक चुडाल
द्वितीय उपाध्यक्ष: बिरेन्द्र बस्नेत
तृतीय उपाध्यक्ष: तारा कुमार श्रेष्ठ 
कोषाध्यक्ष: कमला नेम्वाङ 
खुल्ला सदस्यहरु: ई. भानु आचार्य, कृतेन्द्र ढुंगाना (कृष्ण), ज्ञानेन्द्र लोहनी, कृष्ण शर्मा, भुपाल निरौला, हरि प्रसाद सिटौला, सन्जित सिटौला, 
भूगोल तर्फ: पुष्पराज गुरागाई, होम गौतम । 


स्वतन्त्र समूह: 
अध्यक्ष: प्रकाश बाँसकोटा
महासचिव: चन्द्रमणी गौतम
प्रथम उपाध्यक्ष: भुपेन्द्र भट्टराई 
तृतीय उपाध्यक्ष: चुडाबहादुर भुजेल 
खुल्ला सदस्यहरु: जीवन चापागाईं, मुन्निलाल शर्मा तिवारी, राजेश्वर प्रसाईं, लोकनाथ आचार्य, सन्तोष कुमार नेपाली, शिशु कुमार श्रेष्ठ, महिला सदस्य: डुका अधिकारी, भिमादेवी सापकोटा, प्रेम बहादुर बस्नेत, जीवन भेट्वाल, यज्ञराज चापागाई । 

 

Views: