d

नगरपालिकाको ३ लाख आर्थिक सहयोगमा २४ पुरुषलाई ५ दिने स्काउट तालिम

Views:
Responsive Image Gallery
Responsive Image Gallery


नेपाल स्काउटले ५३० औं बिटिसी तालिम सम्पन्न गरेको छ । गौरादह नगर स्काउटको आयोजनामा गौरादह कृषि क्याम्पस परिसरमा ५ दिने  तालिम सम्पन्न गरिएको हो । 

तालिममा गौरादह नगरपालिका तथा नगरपालिका बाहिरका गरि २४ जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए । 

उक्त अवसरमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । 

तालिममा प्रशिक्षार्थीहरुलाई स्काउट सम्बन्धि आधारभुत एवम् व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो । 

औपचारिक समारोह बिच संचालन गरिएको तालिमको अन्तिम रात क्याम्पस परिसरमा क्याम्प फायरिङ तथा विविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । 

स्काउट तालिममा कोर्स लिडर अरुण बस्नेत, प्रशिक्षक नारायण श्रेष्ठ, काउन्सिलरहरु बद्री अधिकारी, अर्पण थापा मगर, विजय गुरुङ, बिक्रम तिवारी, क्वाटर मास्टर सुस्मिता भुजेल, प्राविधिक पदम बहादुर दाहाल, तथा तालिम व्यवस्थापन प्रकाश भट्टराईले गरेका थिए । 

शनिबार सम्पन्न समापन समारोहमा आफ्ना संक्षिप्त धारणा राख्दै प्रमुख अतिथि तथा गौरादह नगरपालिकाकि उपप्रमुख एवम् नगर स्काउट प्रमुख जलवर्षा राजवंशीले स्काउटको क्षेत्रमा अाफुले ढिलै बुझेपनि स्काउटले समाज रुपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याउने बताइन् । यो वर्ष गौरादह नगर स्काउटलाई ३ लाख रुपैयाँ छुट्याएर तालिम संचालन गर्न पाएको बताउदै उनले आगामी अार्थिक बर्षमा नगरपालिका थप सकारात्मक रहने बताइन् । 

 स्काउटको तालिमकै लागि आफू बिदेश जान लागेको उपप्रमुख राजवंशीले जानकारी दिएकी थिइन् । 

नगर स्काउट संयोजक गंगा कार्कीले गौरादहमा महत्त्वपूर्ण तालिम संचालन गर्न सफलता मिलेको आफू उत्साहित रहेको बताउदै आगामी दिनमा थप महत्त्वपूर्ण कार्यक्रमहरु नगर स्काउटले संचालन गर्ने बताइन् ।

 तालिममा सहभागी भएका प्रशिक्षार्थीहरुलाई धन्यवाद दिदै उनले भनिन् , 'अाज समापनको अन्तिम समयमा छौँ। तपाईंहरु अाजबाट अन्तर्राष्ट्रिय स्काउटमा जोडिनु भएको छ। स्वच्छ भावनाले जोडिनु भएको छ। तपाईंहरु एउटा देशको सिपाही हुनु भएको छ। लिडरसिपमा भोलिका दिनहरुमा विद्यार्थी भाईबैनिहरुलाई सिकाउनु हुनेछ। नगरपालिका को साथ तपाईंहरुलाई सधैं रहने छ। स्काउट हरेक छेत्रमा रहने छ। यस कार्यक्रम साथ दिने सबैलाई धन्यवाद दिन चाहान्छु'

कार्यक्रममा सहभागीहरुले तालिम अत्यन्तै महत्त्वपूर्ण र जीवनोपयोगी रहेको बताएका छन् ।  
प्रशिक्षक बन्ने मौका पाएकोमा गौरादह नगर स्काउटलाई धन्यवाद दिँदै उनीहरुले आगामी दिनमा आ-आफ्नो क्षेत्रमा रहेर स्काउटकर्मी हुने प्रतिबद्धता व्यक्त गरेका छन् । 

नगरपालिकाको ३ लाखरुपैयाँ आर्थिक सहयोगमा २४ जना महिला र २४ जना पुरुषलाई तालिम दिने भनिएको भएता पनि महिलाहरुको लागि भने तालिम संचालन हुन नसकेको बताइएको छ । तालिममा सहभागी प्रशिक्षकहरुले जनही १५ सय रुपैयाँ इन्ट्री फी समेत तिर्नुपरेको थियो । 

 

 

 

Views: