d

गौरादह नगरपालिकामा नयाँ जनप्रतिनिधिका ३६५ दिन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 सान नेपाल 
झापा: दोश्रो स्थानीय निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको कार्यकाल एक वर्ष पुगेको छ । निर्वाचित जनप्रतिनिधिले कति विकास गरे वा के गर्दैछन् भन्ने विषय चिया पसल देखि जनताका घरघरमा चर्चा हुन स्वाभाविक नै हो । सूचना र प्रविधिमैत्री व्यवस्थालाई अंगिकार गरेका मुलुकहरूमा मुलुकको सर्वांगिण अवस्थाबारे सुसूचित हुन पाउनु सामान्य विषय हो । नेपालमा जम्मा ७५३ स्थानीय तह छन् । सबै स्थानीय तह सञ्चारमैत्री भने छैनन् । आफुहरुले गरेका गतिविधिहरु कन्जुस्याइँ नगरी जनतालाई राख्दा जनताले सुसूचित हुने मौका पाउछन् भने जनप्रतिनिधिहरु सुशासनको प्रत्याभूति दिलाउन सफल छन् भन्ने पनि पुष्टि हुन्छ ।

 गौरादह नगरपालिकामा जनप्रतिनिधिको  अघिल्लो कार्यकाल निकै विवादास्पद मानिन्थ्यो। नयाँ नगरपालिका हुँदा ऐन कानुन निर्माणमा कठिनाइ, जनप्रतिनिधिमा अनुभवको कमि, कर्मचारी र जनप्रतिनिधि विचको द्वन्द, गठबन्धनयुक्त नगर कार्यपालिका, ठेकेदार मैत्री नगरप्रशासन, सूचना लुकाउने परिपाटी लगायतका विषयहरूकै कारण पनि तत्कालीन कार्यपालिकाले विभिन्न खाले झण्झट बेहोर्नु परेको थियो । पहिलेको तुलनामा यो वर्ष गौरादह नगरपालिका सञ्चारमाध्यमलाई साथसाथै लिएर हिँड्न प्रयास गरेको नै देखिन्छ । अघिल्लो पटक वडा नम्बर ५ का वडाध्यक्ष रहनुभएका छत्रपती सुवेदी यो पटक नगरप्रमुख हुनुहुन्छ । वहाँले नगर प्रमुखको जिम्मेवारी सम्हाले यता ४ वटा पत्रकार सम्मेलनहरु आयोजना गरिएका छन्।

 निर्वाचनताका 'सुशासन, पारदर्शिता, जवाफदेहिता र विधिको शासन स्थापित गरेर उदाहरणीय मेयर बनेर देखाउछु र भोलि आउने मेयरलाई गरे के हुन्न भन्ने उदाहरण प्रस्तुत गरेर मात्र नगरपालिकाबाट ५ वर्षे कार्यकाल पुरागरि बिदा लिन्छु' भन्ने वहाँको ब्रम्हवाक्य नै थियो भन्दापनि फरक पर्दैन। नगरवासीलाई दिएको वचन एक वर्ष पूरा हुँदा वहाँले कति पूरा गर्नसक्नु भयो भन्ने विषय नगरवासीमा हुनु स्वाभाविक हो । 

No description available.

 

मेयर सुवेदीलाई कठोर मिजासको व्यक्तिको रूपमा कतिपयले लिने गरेका छन् । नजीकबाट बुझ्नेहरुले वहाँलाई एक अध्ययनशिल, मिजासिलो र उर्जाशिल व्यक्तिको रूपमा समेत लिने गरेको पाइन्छ ।

सुवेदी लामो समय देखि विभिन्न कालखण्डमा जनप्रतिनिधिको भुमिकामा पटकपटक देखिनुभएको व्यक्ति हो । संघीय, प्रादेशिक र स्थानीय ऐन कानुनको विषयमा राम्रो कुशलता राख्ने जनप्रतिनिधि मध्ये पर्नुहुने मेयर सुवेदी  विधिको शासन नरहे लोकतान्त्रिक व्यवस्थाको कुनै अर्थ नरहने बताउनु हुन्छ । गौरादह नगरपालिकाका हरेक ऐनहरुको निर्माण वहाँकै पहलकदमीमा हुँदै आएको समेत चर्चा चलेकै विषय हो ।

 

No description available.

 प्रायजसो सबैखाले स्थानीय ऐन कानुन, नियमावली तथा कार्यविधि निर्माण भइसकेकोले पनि नगर संयन्त्र संचालनमा कठिनाइ हुने अवस्था हल हुँदै गएको मेयर सुवेदीको तर्क छ । 

एक वर्ष पूरा भएको अवसरमा गौरादह नगरपालिकाले आफ्नो प्रगति विवरण पत्रकार भेटघाट मार्फत जनसमक्ष ल्याएको छ । १६ पेज लामो एक वर्षे प्रगति विवरणमा हालसम्म गरिएका र चालू रहेका विविध कृयाकलापहरु प्रस्तुत गरिएको छ ।

एक वर्ष भित्रमा ३२ वटा ग्रामीण सडकमा २५ किमी कालोपत्रे सडक निर्माण कार्य अगाडी बढिरहेको देखिन्छ । सडक ग्राभेल तथा उच्चस्तरीय ग्राभेल सडक संख्या २०७ रहेका छन् भने यी सडकको कुल लम्बाइ ७० किलोमीटर हुन आउँछ । यस वर्ष ३९ किमी हुने कुल ६० वटा सडकहरु मर्मतसम्भार भएको तथ्यांकले देखाउछ । त्यस्तै यो वर्ष कुल ६२ वटा गरि झण्डै ५० किमी सडक स्तरोन्नति गरेको देखिएको छ । आर्थिक वर्ष सकिनै लाग्दा कालोपत्रे लगायत अन्य सडकहरूको निर्माण कार्य द्रुत गतिमा चलिरहेको पाइन्छ भने यस वर्ष २ वटा पुल, ५ वटा झोलुङ्गे पुल, २८ वटा कल्बर्ट र कजवे, कुल १६८८ मि. लम्बाइ हुन आउने ११ वटा पक्की नाल ढल निर्माण, १३ वटा ह्युम पाइप जडान, २३ वटा भवन निर्माणमा सहयोग, ८८ वटा मठमन्दिर निर्माणमा सहयोग, ५७ वटा बिद्यालय भवनमा निर्माण र मर्मत, ८ वटा बजार/ टहरा/ चौतारा निर्माण लगायतका भौतिक प्रगति देखिन्छ । यस बाहेक बिद्युतिकरण कार्यक्रम, खानेपानी, नदि नियन्त्रण, तारजाली, शवदाह, परालको छाना हटाउने कार्य, स्याल्लो टुवेल जडान  स्थल निर्माण लगायत रहेका छन् । 

त्यस्तै कुल २६ वटा विपन्न आवास निर्माण,  
स्वास्थ्य क्षेत्रमा गौरादह नगर अस्पतालमा १ जना एम.डी, २ जना मेडिकल अधिकृत गरि ३ जना डाक्टर, १ जना रेडियोग्राफर, फार्मेशी सहायक १, आधारभुत स्वास्थ्य सेवा केन्द्रहरुमा कार्यालय सहयोगी ६ जना र अ.न.मी २ जना नियुक्ती गरी यसै वर्ष अस्पताल संचालनमा ल्याइएको छ भने वडा नम्बर १ मा सुबिधा सम्पन्न नगर अस्पताल निर्माण कार्यका लागि सुरुवाती प्रक्रियाहरु अगाडी बढिरहेका छन् । स्वास्थ्य क्षेत्रमा औषधिको पर्याप्तता सुनिश्चित, रिफर सहितको स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न पूर्वाधारको तयारी गरिएको पाइएको छ । 

शिक्षाको क्षेत्रमा प्राविधिक शिक्षाको अवधारणामा नगरले फड्को मारेको देखिएको छ । यस वर्ष भद्रकाली र डोरामारी माविमा सिटिईभिटिबाट सम्बन्धन लिई प्राविधिक शिक्षा सुरु गरिएको छ जसमा सिटीईभिटीले निर्धारण गरेको शुल्क भन्दा ५० प्रतिशत छुट व्यवस्था गरिएको देखिन्छ । भद्रकाली मावीमा आई.टि.ई तीन वर्षे डिप्लोमा र डोरामारी मा. बि .मा कृषि सम्बन्धि अध्ययन हुनेगरेको छ । 

प्राविधिक शिक्षाको लागि प्रगति माविमा कम्प्युटर शिक्षा र डोरामारी माविमा पशु विज्ञान सम्बन्धि विषय थप गर्ने सम्बन्धि प्रक्रिया अगाडी बढाइएको जानकारी गराइएको छ । 

शिक्षा क्षेत्रमा भएका अन्य पहल तथा प्रयत्नमा बिद्यालयहरुमा ल्याबको सुविधा, ल्याबका लागि अनुदानको व्यवस्थाहरु रहेका छन् । 

सामाजिक विकासका तर्फ निर्वाचनमा गरिएको घोषणा पत्रमा उल्लेख गरिए अनुसार छोरी बुहारी निःशुल्क शिक्षा अन्तर्गत सामुदायीक कलेज गौरादह बहुमुखी क्याम्पसमा पढ्ने छोरी बुहारीका लागि नगरपालिकाले दरखास्त आहवान गरेकोमा १२ जना बुहारी र ८६ जना छोरी गरि ९८ जना छोरी बुहारीको दरखास्त परेकोमा बुहारीको पूर्ण शुल्क ९ हजार ६ सय र छोरीको आधा शुल्क ४ हजार ८ सयका दरले गरेर नगरपालिकाले क्याम्पसमा पठाइसकेको जानकारी गराइएको छ । 

महिला तथा बालबालिकाको क्षेत्र तर्फ ५५२ जनालाई अपांगता परिचयपत्र वितरण, ग र घ वर्गका अपांगता भएका ११५ जनालाई स्वास्थ्य विमा कार्यक्रम, ज्येष्ठ नागरिक दिवसमा ३५० ज्येष्ठ नागरिकलाई सम्मान, लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान, लैंगिक हिंसामा परेका ११ जनाको उद्दार, १५ जनालाई ६५ दिने एड्भान्स ढाका बुनाइ तालीम,  १५ जनालाई ३ दिने पुर्वसहकारी शिक्षा तालिम, २०० जनालाई छोरीबुहारी लोकसेवा तयारी कक्षा, ४० जनालाई ड्राइभिङ तालिम, आदिवासी जनजाति दलित र पिछडिएका  वर्ग १८ जना लाई ड्राइभिङ तालीम, ११ जनालाई मोटरसाइकल मर्मत तालीम, १४ जनालाई माइन्युट लेखन तथा उद्घोषण तालीम, १४ जनालाई एड्भान्स ब्युटिपार्लर तालीम, ६७ जनालाई बेसिक कम्प्युटर तालीम, ३० जनालाई इलेक्टि्रकल तालीम, २३ जनालाई प्लम्बिङ तालीम संचालन गरेको पाइएको छ । 

 त्यस्तै मल बनाउने कारखाना निर्माणको लागि प्रदेश सरकारको सहयोगमा मेशिन ल्याउने पहल भईरहेको जानकारी गराइएको छ । 

रोजगार सेवा केन्द्र तर्फ नगरपालिका भित्र हालसम्म ११३९ जना पूर्ण बेरोजगार, रोजगारमा संलग्न १६५ जना रहेको तथ्यांक सार्वजनिक गरिएको छ भने २०८० साल बैशाख देखि स्थानीय तहले श्रम स्वीकृतिको सेवा प्रदान गरेपछि २१ जनाले श्रम स्वीकृति लिएको जनाइएको छ ।

बेरुजु कति छ?
 
चालुखर्च ४५ करोड १६ लाख ४ हजार ९ सय ७५, पुँजीगत खर्च ३६ करोड ७३ लाख ६ हजार ३ सय २९ गरि कुल बजेट ८१ करोड ९० लाख १ हजार ३ सय ४ रहेको बजेट मध्ये आर्थिक वर्ष २०७९/८० जेष्ठ १० सम्म चालू तर्फ ६३.६४ प्रतिशत, पुँजीगत तर्फ ५३.१७ प्रतिशत गरि कुल ५९.३३ प्रतिशत खर्च गरेको तथ्यांकमा उल्लेख गरिएको छ । 

आन्तरिक अनुमानित आय २ करोड ९५ लाख रहेकोमा २०७९ जेष्ठ १० सम्म ४८.३० प्रतिशत र असार सम्मको आय ७४.५५ प्रतिशत रहेको देखिन्छ । 

गतवर्षको बाँकी बेरुजु १७ करोड ४३ लाख ६६ हजार रहेकोमा यो वर्ष संपरिक्षण गरिएको बेरुजु ७७ लाख ७५ हजार, चालु आर्थिक वर्ष कायम रहेको बेरुजु ४ करोड ५४ लाख ६९ हजार, अद्यावधिक बाँकी बेरुजु २१ करोड २० लाख ८५ हजार, यस वर्ष समपरिक्षणका लागि पेश गरिएको बेरुजु ९ करोड ८५ लाख २ हजार ९ सय २२ रहेको तथ्यांकमा उल्लेख छ । 
महालेखा परिक्षणले दिएक प्रारम्भिक प्रतिवेदन मात्र आएको र समपरिक्षण पश्चात ११ करोड ६२ लाख ३२ हजार ७८ रहन सक्ने अपेक्षा नगरपालिकाले लिएको छ ।  

पछिल्लो समय आर्थिक समस्या देखाउदै संघीय सरकारले ४ करोड बराबरको अनुदान कटौती गर्दा निर्माणक्रममा रहेका धेरै परियोजनाहरु प्रभावित भएका नगर प्रमुख सुवेदी बताउनु हुन्छ । 

'आ.व. को अन्त्यमा यसरी अनुदान कटौती गरेपछि निर्माण प्रभावित मात्र होइन सम्पन्न हुनलागेका योजनाको फरफारकमा समेत समस्या देखा परेको छ ।', सुवेदीको भनाइ रहेको छ । 
'अब हामीले आर्थिक अनुशासन कायम गर्दै आन्तरिक आयमा वृद्धि गर्नु अपरिहार्य छ ।  हामीले सम्पत्ति करको नयाँ प्रयोग गर्ने तयारी गरेका छौँ । यो घरबहाल कर सँग सम्बन्धित विषय हो ।', मेयर सुवेदीले स्पष्ट पारे। 

करिब ६५ हजार जनसंख्या रहेको यस नगरपालिकामा बसाइँसराइ र सम्बन्ध विच्छेदको समस्या भने जटिल देखिएको छ । ग्रामीण भेगको नगरपालिका भएका कारण एक वडाबाट अर्को वडामा सर्नेहरुको संख्या मात्र बढ्ने गरेको र यसले नगरको कुल जनसंख्यामा कुनै प्रभाव भने पार्दैन । प्राप्त तथ्यांक अनुसार २०७९ जेष्ठ ३१ सम्ममा जना ३४० बसाइँसराइ गरि आएको देखिन्छ भने सोही अवधिमा ४९३ जनाले नगरपालिका छोडेर अन्यत्र गएको देखिन्छ । आय आर्जन, रोजगारी, स्वास्थ्य सेवामा रहेको असुबिधाजनक अवस्था, व्यवसाय संचालनमा नोक्सानी, ठुला सहरको आकर्षण लगायतका कारणहरुनै बसाइँसराइ गरि जानेको संख्या वृद्धि हुनथालेको नगरप्रवक्ता नगेन्द्र भण्डारी बताउनु हुन्छ । 
सम्बन्धविच्छेद पनि  बसाइँसराइ जत्तिकै भयावह सामाजिक समस्या रहेको भण्डारीको तर्क छ । 

'नगरको तथ्यांकमा यस आर्थिक वर्षमा ६३ जनाले सम्बन्धविच्छेद गरेको पाइन्छ । यद्यपि अदालत बाट सोझै सम्बन्धविच्छेद गराउनेहरुको संख्या अझै बढी हुन सक्छ ।', भण्डारी बताउनुहुन्छ । 

फराकिलो भौगोलिक क्षेत्र र कृषिमा आश्रीत नगरको रूपमा रहेको गौरादह नगरपालिका समृद्धिको पर्खाइमा रहेको नगरपालिका हो । चाक्लाबन्दी खेति प्रविधि, पकेट खेती, अर्गानिक र बेमौसमी बाली प्रविधिमा जोड दिँदै कृषिमा आधारित उद्योगधन्दाको विकास गर्दै आन्तरिक आयमा वृद्धि गर्ने हो भने यो नगरपालिकालाई आत्मनिर्भर नमूना नगरपालिकाको रूपमा परिचीत हुने कुरामा भने दुईमत छैन  

 

नोट: अन्य विषयगत विवरणहरु आगामी अंकमा प्रकाशन गरिने छ - सम्पादक  

Views: