d

करोडौं ठगी गरेर फरार विश्वकर्माको खोजीमा तिब्रता, कहाँ पुग्यो अनुसन्धान?

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झापा: स्थानीयको ३० करोड भन्दा बढी रकम ठगी गरेर फरार रहेका गौरादहका सुन व्यवसायी सोमराज विश्वकर्मालाई फिर्ता ल्याइने पहल शुरु भएको छ । पीडितहरुको तर्फबाट गठित संघर्ष समितिलाई आज नगरपरिसरमा सम्बोधन गर्दै नगर प्रमुख छत्रपति सुवेदीले निज सोमराज विश्वकर्मालाई जहाँ भएपनि उपस्थित गराएर पीडितहरुको रकम फिर्ता गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

३० करोड भन्दा बढी रकम ठगी गरेर फरार रहेका विश्वकर्मा छिमेकी राष्ट्र भारत रहेको प्रारम्भिक अनुमान गरिएको छ  । जुनसुकै स्थानमा लुकेर रहेको भएता पनि उनलाई पकाउ गर्ने बारेमा पहल कदमी भइरहेको मेयर सुवेदीले जानकारी दिएका छन् । 

'हामी सबै संयन्त्र प्रयोग गरेर उनलाई झिकाउने प्रयासमा छौँ ।', मेयर सुवेदीले भने । 

विश्वकर्मा फरार भएकै अवस्थामा पनि उनको सम्पत्तिको लेखाजोखा गर्ने र बिगत १ वर्ष भित्रमा  उनले चल अचल सम्पत्ति सम्बन्धि कारोबार को को सँग गरेका छन् भन्ने विषयलाई महत्व दिएर अनुसन्धान भैरहेको समेत मेयर सुवेदीले खुलासा गरे ।  

ठगी गरेर फरार भएको खुल्ने बित्तिकै अहिले सोमराज कहाँ छन् भन्ने कुराले व्यापक चर्चा पाएको छ । करोडौं ठगी गरेका उनलाई स्थानीय र राष्ट्रिय संचार गृहहरुले महत्त्व साथ खबर सम्प्रेषण गरेपछि उनि नेपालमा बस्न सक्ने अवस्था समेत रहन सक्ने नदेखिने आम जनमानसमा चर्चा रहेको पाइन्छ । 

फरार अभियुक्त विश्वकर्माको खोजी कार्य भइरहेको जिल्ला प्रहरी प्रवक्ता खगेन्द्र रिजालले बताउछन् ।

पर्दाफास प्रतिनिधि सँग कुरा गर्दै प्रवक्ता रिजालले भने, 'उनी कहाँ छन् भन्ने थाहा भएको छैन । सञ्चारका सबै साधन बन्द गरेर हिडेको हुनाले उनको खोजी कार्यमा केहि जटिलता अवश्य छ ।'

फरार रहेका विश्वकर्माको खोजी कार्यमा सबै खाले प्रयास र प्रयत्नहरु जारी रहेको समेत प्रवक्ता रिजालले जानकारी गराएका छन् । 


झण्डै ६ सय जना पीडितले वडा कार्यालयमा असुलीमा  सहयोग गरिदिन अनुरोध गर्दै निवेदन दिएका छन् भने कतिपयले यसरी रकम असुली हुन सक्नेमा विश्वस्त हुन नसक्दा निवेदन समेत दर्ता नगरेको बताइन्छ । 


व्यवसायी विश्वकर्माले आर्थिकमन्दी र कोरोना कहरका कारण आफ्नो व्यवसाय धरापमा परेको र स्थानीयबाट लिएको सावाँ र ब्याज रकम भुक्तानी गर्न नसकेको भन्दै गत असार १४ गते वडाध्यक्ष नगेन्द्र भण्डारीको म्यासेन्जरमा अनौपचारिक चिट्ठी पठाएर फरार भएका थिए ।

 विश्वकर्मा फरार भए सँगै ठूलो संख्यामा स्थानीयहरुको रकम हिनामिना भएको खुलेको छ । 

विश्वकर्माले पीडित पारेका स्थानीयले संघर्ष समिति गठन गरेर दबाबमुलक कार्यक्रम गर्दै आएका छन् । 

पीडित पक्षले विश्वकर्माको गौरादह १ स्थित तीन तले घर र विभिन्न स्थानमा रहेका उनका जमिनमा झण्डा गाड्ने अभियान नै चलाएको छ । 

 झण्डा गाडिएको त्यस्ता जमिनहरु कुनै आफन्तका नाममा त कुनै बैंक र वित्तीय संस्थाको लिलाम सूचीमा परेको समेत चर्चा छ ।

उनीहरुले फरार अभियुक्तको सम्पत्ति खोजी गरि आफुहरुको रकम फिर्ता गर्न माग गर्दै आज नगरपालिकामा पुगी नगरप्रमुखको ध्यानाकर्षण गराएका छन् । 

पीडितहरुलाई मलमपट्टि लगाउदै नगर प्रमुख सुवेदीले व्यवसायीहरुबाट ठगी हुनेहरू प्रती नगरपालिका गम्भीर रहेको समेत बताए । 

मेयर सुवेदीले भने, 'तपाईंहरुको पीडा प्रति नगरपालिका गम्भीर छ । कानुनी प्रक्रिया पूरा गरेर लेनादेना गरिएको अवस्थामा रकम असुली गर्न सहज हुने थियो । कतिपय व्यक्तिहरुले सामान्य कानुनी प्रक्रिया नै पूरा नगरी कारोबार गरेको देखिन्छ । यस्तो अवस्थामा कसरी समस्या समाधान गर्ने भन्ने हुन्छ ।'

कारोबार गरेका धेरै जसो सँग विश्वकर्माले खातामा टिपोट मात्र गरेर रकम दिने लिने गरेको पाइएको छ । सम्पत्ति लेनादेना गर्दा वडा कार्यालयको रोहवरमा लिखत गरि लेनादेना गर्दा विश्वसनीय हुने र कानुनी उपचार प्राप्त गर्न सहज हुने भएता पनि उनी सँग कारोबार गर्ने मध्ये केहि कारोबारी सँग मात्र बैधानिक कागजपत्र रहेको बताइन्छ ।

आपसी सहमतिमा खातामा टिपेकै भरमा लामो  समय देखि लेनदेन गर्दै आइयो । वडामा गएर लिखत तयार गरेको भए रकम असुली गर्न कानुनी उपाय खोज्न सजिलो हुने रहेछ  । धोका खाएपछि मात्र आँखा खुल्यो ।', सोमराज बाट पीडित पारिएका एक स्थानीयले भने । 

 विश्वकर्माले गरेको कारोबारको खाता हेर्दा कारोबार खुल्ने गरि कुनै कागजपत्र समेत नबनाइएको देखिन्छ भने अर्को तिर उनिसँग कारोबार गर्ने ग्राहकहरुलाई पासबुक बनाएर त्यसैमा इन्ट्री गर्ने गरेको समेत खुलेको पाइएको  छ । 

कुनै पनि व्यवसायीले पास बुक प्रयोग गरेर आर्थिक कारोबार गर्नु आफैंमा अवैधानिक हुने मेयर सुवेदी बताउछन् । 

'तपाईंहरुलाई पासबुक दिएर कारोबार गरेको देखिन्छ । पासबुकमा इन्ट्री भएको आधारमा लेनादेना गर्नु भनेको बैधानिक हुँदै होइन । यसलाई कानुनी लिखत मान्न सकिने नसकिने भन्ने कुरा पनि जटिल नै छ । यद्यपि ठगीमा पर्नेहरुलाई संरक्षण गर्नु र रकम फिर्ता गराउन पहल गर्नु हाम्रो दायित्व हो । नगरपालिकाले छानबिन समिति गठन गरेर प्रक्रिया अगाडी बढाएको छ  । अब थप अध्ययन र अनुसन्धानमा न्यायीक समिति लाग्ने छ ।', मेयर सुवेदीको भनाई रहेको छ । 

नगरपालिका परिसरमा संघर्ष समितिलाई सम्बोधन गर्दै गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जेवी कार्कीले व्यवसायीबाट ठगिएकाहरुको पक्षमा वाणिज्य संघ सदैव लाग्ने बताउदै रकम असुली गराउन संघले जस्तोसुकै कदम चाल्न पछी नपर्ने आश्वासन दिए । वाणिज्य संघको सदस्य भएकै आधारमा कुनै पनि व्यवसायीलाई संघले संरक्षण गर्दैन भन्ने कुरामा विश्वस्त रहन उनले आग्रह गरेका छन् ।  

व्यवसायी विश्वकर्माको व्यवसाय धरापमा पर्न थालेको गन्ध पाएका कतिपय व्यक्तिहरुले भने समयमै नगद वा जिन्सी लिएर उन्मुक्ति पाएको समेत देखिएको छ । 

'पैसा माग्न जाँदा जग्गा देखाउथे । जग्गाको दाम गरौं न त भन्दा चलनचल्तीको रेट भन्दा ४ गुणा बढी मागेपछि लिने कुरै भएन । उसले भनेकै रेटमा जग्गा लिएको भएपनि दुख त पाइने नै थियो ।', गौरादह ४ मजुवा घर भई विश्वकर्मा सँग लाखौं कारोबार गरेका एक स्थानीयले भने । 

सयौंको संख्यामा करोडौं ठगी भएपछि स्थानीय व्यापार व्यवसाय समेत नराम्रो सँग प्रभावित भएको छ । 

सुन चाँदी व्यवसायीले करोडौं ठगी गरेपछि सुन चाँदीको कारोबार गर्ने अन्य व्यवसायीहरु समेत चौतर्फी निसाना पर्न थालेका छन् । 

ईमानदार भएर लामो समय व्यवसाय गर्ने अन्य सुन चाँदी व्यवसायीलाई आफ्नो व्यवसाय बचाउन हम्मे हम्मे परेको बताउछन् गौरादह डिपुचोकमा रहेर व्यवसाय गर्दै आएका जानुका सुन चाँदी पसलका संचालक हरि खड्का । 

'बिगत १५ दिन देखि एक तोला सुन किन्न पनि ग्राहक आएका छैनन् । अबर पर्दा लौन यति पैसा सहयोग गर्नुपर्यो भन्नेहरू समेत हिजोआज पातलिदै छन् ।', खड्काले भन्छन् । 

'अहिलेको प्रतिस्पर्धात्मक समयमा महंगो ब्याज तिर्ने सर्तमा लाँखौ रकम लिन डर मान्नु पर्छ । व्यवसाय गर्छु भनेर मात्र हुँदैन आर्थिक अनुशासन पनि कायम राख्न जान्नु पर्छ ।', व्यवसायी खड्का भन्छन् । 

Views: