d

कक्षा १२ को नतिजा सार्वजनिक, मौका परीक्षा कहिले ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery


३० साउन, काठमाडौं । मंगलबार कक्षा १२ को नतिजा सार्वजनिक भएको छ  ।

गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६३७, आंशितर्फक ६० हजार ९५९ जना, ग्रेड वद्धितर्फ १४ हजार १३५ जना र २०७२/०७३ को ग्रेडवृद्धितर्फ १ हजार १०६ जना गरी ४ लाख ४८ हजार ८३७ जना सहभागी भएका थिए ।

मंगलबार सार्वजनिक नतिजा अनुसार यो वर्ष नियमिततर्फ ३ लाख ७२ हजार ६३७ परीक्षार्थीमध्ये ३.६१ देखि ४ जीपीए ल्याउने ६ हजार ९७६ जना छन् । ३.२१ देखि ३.६० जीपीए ल्याउने ३८ हजार ९९९ जना, २.८१ देखि ३.२० ल्याउने ६९ हजार १७४ जना, २.४० देखि २.८० आउने ६३ हजार ७७ जना, २.१ देखि २.४० जीपीए आउने ११ हजार ४३८ जना र १.६१ देखि २ जीपए ल्याउने ४७  जना छन् ।


तीमध्ये नियमिततर्फ १ लाख ८९ हजार ७११, आंशिकतर्फ १८ हजार ३०, ग्रेडवृद्धितर्फ ६ हजार १४० जना र २०७२÷७३ को ग्रेडवृद्धितर्फ ६५० जना ग्रेडेड (माथिल्लो तह अध्ययनका लागि योग्य) भएका छन् । त्यस्तै ५६ जनाको परीक्षा रद्ध भएको छ ।


गत वर्ष जारी लेटर ग्रेडिङ निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत अंक नल्याएमा ननग्रेड (एनजी) हुन्छन् । ग्रेडिङ प्रणालीमा पास–फेल नभने पनि एनजी आएकाहरुले माथिल्लो तहको अध्ययन गर्न पाउने छैनन् । उनीहरुले ग्रेडवृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ ।
यो वर्ष एक लाख ८२ हजार ९२६ (४९.०९ प्रतिशत) एनजी ल्याएका छन् । एन जी ल्याएकाहरुले पुनः अतिरिक्त परीक्षा दिनु पर्ने हुन्छ  । 

बोर्डले २ विषयसम्म ननग्रेड हुनेका लागि असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्दैछ । त्यसमा १ लाख २३ हजार ३ सय ९६ जना सहभागी हुन पाउनेछन् । बोर्डका सदस्य सचिव दुर्गा अर्यालका अनुसा एक विषयमा मात्र एनजी आउनेको संख्या भने ७९ हजार ५८४ जना रहेको छ ।

नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय ५ सय रुपैयाँ तिरेर नतिजा पुनर्योग गराउन सक्ने बोर्डले जनाएको छ । त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुन परीक्षण गराउन पनि सक्ने बताइएको छ ।

पुन परीक्षण गराउँदा पहिले परीक्षण गरेका भन्दा नयाँ ३ जना परीक्षकबाट जाँच गराउने र तीन जनाले दिएको नम्बरको औसत निकाल्ने गरिन्छ । यसरी आएको प्राप्तांक पहिलेको भन्दा १० प्रतिशत कम वा बढी भएमा पहिलेकै अंक कायम हुनेछ । १० प्रतिशत भन्दा बढी कम वा बढी भएमा नयाँ अंक कायम हुनेछ ।

Views: