d

गौरादहमा यसरी गरिदैछ बजार अनुगमन.... (भिडियो सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झापा:  नगरपालिका नेतृत्वको टोलीले गौरादहका स्थानीय बजारहरुको अनुगमन सुरु गरेको छ । हिजो मंगलबार नगरको मुख्य बजारबाट सुरु भएको अनुगमन अभियानको आज दोश्रो दिन वडा नम्बर ५ स्थित स्कुलचौन बजार केन्द्रित रहेको हो । 

 नगरपालिकाको मुख्य बजार मानिने गौरादह बजारमा अनुगमन गर्दा बरामद गरिएको अखाद्य सामाग्री स्थानीय किश्ने खोलामा पुर्याइ हिजै नष्ट गरिएको छ  भने आज बुधबारको स्कुलचौन बजारको अनुगमनबाट बरामद गरिएको अखाद्य सामाग्री समेत सरोकारवाला निकाय र संस्थाहरुको प्रतिनिधित्वमा नष्ट गरिएको बताइन्छ ।  

No description available.

 

नगरपालिका उपप्रमुख जलवर्षा राजवंशीको नेतृत्वमा संचालित अनुगमन कार्यक्रममा इलाका प्रशासन कार्यालय गौरिगन्ज, उपभोक्ता हित संरक्षण मञ्च गौरादह, गौरादह उद्योग वाणिज्य संघ लगायतका सरोकारवाला निकाय तथा संघ संस्थाको समन्वयकारी भुमिका रहेको छ । 

आज बुधबार स्कुलचौन बजारमा गरिएको अनुगमनमा नगर उपप्रमुख जलवर्षा राजवंशी, झापा जिल्ला समन्वय समिति सदस्य कपिलमणी काफ्ले, वडा नम्बर ५ वडाध्यक्ष जगन्नाथ खनाल,  इलाका प्रशासन कार्यालय गौरिगन्जका प्रमुख चुडामणि आपागाईँ, उपभोक्ता हित संरक्षण मञ्च गौरादह नगर अध्यक्ष गणेशमान अधिकारी, आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख लव अधिकारी, ईलाका प्रहरी कार्यालय गौरादहका प्रमुख प्रहरी नायव निरीक्षक चन्द्रीका कुमार श्रेष्ठ, गौरादह उद्योग वाणिज्य संघ द्वितीय उपाध्यक्ष दिल बहादुर खत्री, महासचिव इश्वर खत्री, र सञ्चारकर्मी लगायत सामाजिक   क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा गरिएको अनुगमनबाट स्थानीय पसलहरुमा फेला परेका अखाद्य सामाग्रीहरु पहिचान गरि डिस्पोज गरिएको थियो । 

 

No description available.

 

अनुगमनका क्रममा कुरमुरे, चिप्स, चिउरा, गोर्खा स्ट्रङ बियर, डाबर दन्तमन्जन, पार्लेजी बिस्कुट, सस, चाउचाउ, नुडल्स, पिठो, ट्याङ जुस, पानीपुरी, सरफ, हाजमोला, अचार, भाँडा माझ्ने सावुन, सुजी, सुपारी, सख्खर, घिउ, अजिनामोट्टो, हाजमोला, छोक्रा लगायतका मिति सकिएका सामग्री बरामद गरिएको छ ।


'हिजोबाट सुरु गरिएको अनुगमन अभियानबाट ठुलो मात्रामा अखाद्य सामाग्री फेला पारिएको छ । त्यस्ता सामाग्री बेचबिखन गर्ने व्यवसायीहरुलाई आगामी दिनमा सचेतना अपनाउन आग्रह गरिएको छ । हाम्रो आग्रहलाई बेवास्ता गरेमा उपभोक्ता हित संरक्षण ऐनमा उल्लेखित प्रावधान अनुसार प्रक्रिया अगाडि बढाइने छ', नगर उपप्रमुख जलवर्षा राजवंशीले बताइन् । 

उपभोक्ता हितको लागि नगरपालिकाले जस्तो सुकै कदम चाल्न पछि नपर्ने समेत उपप्रमुख राजवंशीको भनाई रहेको छ ।

अनुगमन टोलीले व्यवसायीहरुबाट राम्रै साथ र समर्थन प्राप्त गरेको उपप्रमुख राजवंशी बताउछिन् । 

'हामीले व्यवसायीबाट सोचेभन्दा राम्रो साथ र सहयोग पाएका छौँ । प्रत्येक पसलमा पुग्दा बिना झन्झट प्रत्यक्ष अनुगमन गर्न पाइयो ।  यसबाट हामीहरु थप उत्साहित समेत भएका छौँ ।', बताइन् । 

नगर भित्र रहेका सवै बजारका प्रत्येक पसल तथा व्यवसायीक केन्द्रमा पुगेर अनुगमन गरिने बताउने उनले भनिन्, 'भोलिको सेड्युल भोलि नै तयार हुन्छ । कसैलाई जानकारी गराएर वा व्यवसायीलाई पुर्वसूचना दिएर अनुगमन गर्ने भन्ने हुदैन। यस्तो भ्रम नछर्न समेत आग्रह छ ।'

चाडवाड लक्षित अनुगमन जस्तो देखिएपनि बजार अनुगमनलाई निरन्तरता दिँदै जाने  उपप्रमुख राजवंशीको भनाई रहेको छ । 

मंगलबार अकस्मात गौरादह बजार क्षेत्रमा देखिएको अनुगमन टोली धेरै वटा पसलमा पुग्न भ्याएन । यसको प्रमुख कारण थियो अधिकांश पसलहरु बन्द रहनु । यसै विषयलाई लिएर स्थानीयले नगरपालिका द्वारा संचालित अनुगमन कार्यक्रम औपचारिकता देखाउन मात्र आयोजना गरिएको भन्दै स्थानीयले निकै आक्रोश समेत पोख्न भ्याए । मंगलबार गौरादह बजार बन्द रहेको बेला अनुगमन गरिएको भन्दै सामाजिक संजालमा आक्रोश व्यक्त गरिएको पाइन्थ्यो ।  स्मरणीय छ गौरादह उद्योग वाणिज्य संघले तिज अगाडि बाटै साता भरिनै स्थानीय  बजार सञ्चालन हुने सूचना प्रकाशन गरेको थियो । यद्यपि हिजो मंगलबार गौरादहका अधिकांश बजार किन बन्द रहे भन्ने विषय भने अनुत्तरित नै छ । 

यो पटकको अनुगमन गौरादह नगरपालिका वि. सं. २०७३ मा स्थापना भए पहिलो महत्त्वपूर्ण प्रयास भएको स्थानीयहरु माझ चर्चा हुने गरेको छ  । 
 नगरपालिका कै नेतृत्वमा गौरादह अनुगमन हुनु अगाडी गत महिना गौरादह उद्योग वाणिज्य संघले ढक तराजुमा अनुगमन गरेको थियो । झण्डै एक साता लामो उक्त अनुगमनबाट निकै ठूलो संख्यामा न्यून गुणस्तरीय ढक तराजुहरु बरामद गरिएको थियो । 

उपभोक्ताको रक्षा गर्दै बजार अनुगमन गरिएकोमा स्थानीय सरकारलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आउने भएकोले यस्ता अनुगमनलाई चाडबाड भन्दा अघिपछि समेत निरन्तरता दिने हो भने उपभोक्ता ठगी हुन बाट बच्न सकिने मात्र होईन सिंह दरवार गाउँगाउँमा भन्ने नाराको औचित्य पुष्टि हुने कुरामा समेत दुईमत देखिदैन । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
please ckick here to watch video

 

Views: