d

कथा - 'आवाज बिहिन आत्मीयता'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

रेल आफ्नै गतिमा दौडिरहेको थियो ।
एउटा डिब्बामा दुईवटा सिट आमने सामने ।
एक सिटमा दुई जना युवक युवती बसिरहेका थिए । युवक इयरफोन कानमा हालेर गित संगीतमा मग्न हुन्थ्यो भने युवती आफ्नै पाराले सुइटर बुनिरहेकी हुन्थिन्। 

यो प्रक्रिया एक वर्ष देखि चलिरहेको थियो । कहिले म पहिले आएर सिटमा बस्थें त कहिले उनीहरु आइसकेका हुन्थे । 
म उनीहरुको शैली र आनन्दित क्षण देखेर निकै रोमान्चित हुन्थें । 
मलाई लाग्थ्यो,"उनीहरुको नाता के होला?" 

उनीहरु मलाई निहाल्थे म त्यो बेला आँखा अर्कै तिर बटार्थें । उनीहरुलाई निहाल्न पाउँदा मलाई अर्कै खुशी मिल्थ्यो । म जसरी अभ्यस्त थिएँ उनीहरु पनि त्यतिकै अभ्यस्त नै थिए सायद । 
एकदिन उनीहरुलाई रेलमा नदेख्दा मलाई धेरै निराशा हुन्थ्यो । मेरा आँखा उनिहरुकै खोजीमा हुन्थे । 
लामो समय वित्यो हामी बिच बोलचाल थिएन । म पनि चुप उनीहरु पनि एक आपसमा कुरा सम्म गर्दैन थिए । एउटाले अर्कोलाई बेला बेला पुलुक्क हेर्ने, आँखा जुधाउने, दुबैजनाका आँखा रसिला हुने तर शब्दविहिन । 
 
हामी रेलका तीन यात्री । कहिल्यै परिचय भएन । तर हाम्रा आँखा परिचीत थिए, एक अर्कामा आत्मीय थिए अनि ती आँखाहरुलाइ टुलुटुलु हेर्नू बाहेक अरु कुनै अभ्यास थिएन । तर पनि हामी बिच अनौठो आत्मीयता रहेको महसुस हुन्थ्यो । मानौ कि हामी तीन एउटै आमाका सन्तान हौँ । 

आइतबार छुट्टी हुँदा म घरमै बसेर उनीहरुको बारेमा सोचिरहेको हुन्थें । मेरो मनमा अनेकौं सवाल उठे पनि एउटै प्रश्न बारम्बार जन्मिन्थ्यो, 'उनिहरु दुई जना बिच के नाता होला?'

म अनुत्तरित नै थिएँ । 

एकदिन ट्रेनमा हस्याङ्फस्याङ गर्दै छिरें । मेरो सिट खाली नै थियो । सधैं अफिस जाँदाको रिजर्भ सिट अरु कोहि बस्ने कुरै भएन । म अचानक झस्किएँ । मेरा आँखाहरु झस्किए । किनकी अगाडि पट्टीको सिट खाली थियोे । मेरा आँखा ढोका तिर हेर्दै थिए । टोलाउदा टोलाउदै बिस्तारै रेल अगाडि बढ्यो तर सिटमा वस्ने त्यो जोडी आइपुगेन । 
भोलिपल्ट पनि त्यस्तै भयो । मेरो मन अत्तालिनु स्वाभाविक नै थियो । 
यसरी नै धेरै दिन बित्यो तर त्यो जोडी बस्ने सिट खाली नै रह्यो । 

वर्षौं बित्यो । जोडी आएन । मेरा आँखाहरुले  चित्त बुझाए । संसार यस्तै हो । हिजो देखेको वस्तु आज देखिदैन । मलाई लाग्न थाल्यो यो सबै भ्रम हो, त्यो जोडी सँग बिताएको पलहरु सबै सपना थिए । 

आज मेरो कार्यालयबाट मलाई बिदाई गर्ने दिन । आफ्नै पाराले रेल समाएँ । आफ्नै प्यारो सिटमा बसेँ । मेरा आँखा दोश्रो पटक झस्किए । मलाई सपना जस्तो लाग्यो । एक वृद्ध व्यक्ति म भन्दा अगाडिको सिटमा बसेको छ, उ एक्लै छ । सेतो फुलेको कपाल, चाउरी परेका गाला, दुब्लो शरीर । मलाई लाग्यो यी वृद्धलाई कहिँ त देखेको हो । 
मेरा आँखाले  उसलाई ठम्याउन खोजे । आँखा रसाए । बृद्धका पनि रसाए । 

वृद्ध व्यक्तिले कानमा इयरफोन घुसार्यो । अनि अर्कोपट्टी टाउको फर्काएर निदाउन प्रयास गर्यो। उसले आँखा चिम्म गरेको थियो। मैले त्यो बेला उसलाई राम्रोसँग निहाले । मैले उसको अनुहारमा एउटा कोठी देखेँ अब म ढुक्क भएँ ।  त्यो वृद्ध त्यही युवक हो भन्ने कुरामा  निस्चिन्त भएँ । 

मेरो मुख बाट अचानक बोली निस्कियो, "तपाईं त्यही व्यक्ति होईन ? वहाँ चाहिँ खोइ त .... ?

वृद्ध बोले, "वर्षौं अगाडि भगवानको प्यारो भईन्।"
म १२ हजार भोल्टको करेन्ट लागे जस्तो भएँ । 
अत्तालिदै सोधेँ, "कसरी?"
आँखा बाट बलिन्द्र धारा खसाउदै उनले भने, "मेरि पत्नीलाई क्यान्सर भएको थियो, अन्तिम स्टेज भएकोले उनको आयु धेरै थिएन । हरेक पलहरु सँगै बिताउन चाहान्थ्यौं । म सँधै अफिस जाँदा उनिपनि मसँगै मेरो अफिस आउथिन् । म अफिसमा छिर्दा उनि मेरो अफिस अगाडिको रुखको फेदमा वसेर मलाई पर्खिरहन्थिन् । 
"उनी बितेकै दिन मेरो जागीर पनि सकियो । त्यसैले रेलको डिब्बामा बस्नै परेन ।"

यति सुनिसक्दा नसक्दा मेरो होस मात्रै गुमेन, फ़ेरि पनि १२ हजार रेक्टर स्केलकै भुकम्पले झ्याप्पै छोपे जस्तै भयो । 

मानौ कि म कुनै अनकन्टार पहाडको टुप्पोमा म छु अनि पहाड मै माथी खसिरहेको छ । 

मैले ती वृद्ध व्यक्तिलाई टुलुटुलु हेर्न मात्र सकें । कस्तो भाग्य लिएर आउँछ मान्छे अनि कहिल्यै नफर्किने यात्रा समाउछ मान्छे । 

सान नेपाल 
गौरादह १ 

Views: