d

माली भ्रष्ट PARDAPHAS.COM

Views:
Responsive Image Gallery
Responsive Image Gallery

माली भ्रष्ट PARDAPHAS.COM

*******-***********
सबै पाटी उदाङ्गाछन् छानु भित्तो उडाउँदा
ढोका झ्याल कुनैछैनन् चोरले पसि भ्याउँदा 
सुवास फूलमा छैन  माली भ्रष्ट  भएपछि
फल शून्य बगैंचा छन् धर्ती शुष्क बनेपछि 

*********************************

हिमाल हिउँले शून्य नदी जल विहीन छन्
टाकुरा बृक्षले शून्य उजाड जलधार छन्
विकास पथ रित्तोछ रित्तो ढ्वाङ बजेपछि
रित्ताछन् खेत बारीका कुला म्वाँन सुकेपछि ।।
***********************************

पहाडि गाउँ बस्तीमा मान्छे बस्तैन क्वैपनि
बिकल्प हीन जन्ताले सास फेर्दैछ तैपनि
कुलो धारो कुनै छैन छैन ओषध जीवन 
अँध्यारा वन पाखा छन्  छैन सम्मृद्धि  पावन ।।
***********************************

न्याय शान्ति कुनै छैन छैनन् युवक देशमा 
भ्रष्ट शासन सञ्जाल अझ बढ्दैछ तेसमा 
खेती गर्दैन क्वैं आज  बजारै खेत बारीछ 
विदेशी खेतकै मिठो सागपात अपारछ  ।।
***********************************

गरीव अझ निर्धाछन् निर्धा कृषक छन् सबै
समाज अझ गिर्दोछ धनी तस्कर छन् सबै 
कृषि  ब्यापार उद्योग विदेशी हातमा परी
स्वदेशी हात रित्ताछन् भ्रष्ट नेतृत्वले गरी।।
***********************************

कालाछन् मन मान्छेका देश सङ्लो भएपनि
त्यसैले मन दुख्तैन जस्तै देश दुखेपनि
लटरम्य फलेझैंछन् विष बृक्ष वनैभरी
मानौं सुन्दर घुम्टोले सजेकी विष सुन्दरी ।।
***********************************

गुरु निरिहछन् सारा शिक्षाको गति बन्दछ
राष्टसेवीहरु भ्रष्ट  कामको गति मन्दछ 
नेता भाषणमा भन्छ अग्रगामीछ देश यो
विश्व तत्थ्याङ्क बोल्दैछ  पैलो गरीव देश भो ।।
***********************************

कस्तो उन्नति भो आज देश केभो कता गयो 
समग्र पक्ष निम्जो छ नेतामात्र धनी छ त्यो 
समाज्वाद सबै भन्थे नेतावाद रहेछ यो
सामन्त वादको  दाजु भाइ साम्राज्यवादको ।।
***********************************

न्याय बोल्दैन क्वै आज प्रजातन्त्र छ के भनौ
मनतन्त्र बन्यो सत्ता  हैन यो कसरी भनौ 
स्वार्थ नै स्वार्थको भारी भिरेको गणतन्त्रले 
राष्टको गरिमा बोक्न के सक्ला  परतन्त्रले 
***********************************

नेताका  मनमा छैन राष्ट राष्टियता कुनै
सानु दुब्लो लुरे च्याङ्ग्रे निरिह देश भो झनै 
किन कोही कसैलाई देश दुख्तैन तै पनि
स्वार्थको जालले छोप्ता देश देख्तैन क्वै पनि
***********************************

पराइ स्वार्थले चल्ने चाबीका हयमा चडी 
नरमेध ठुलो यज्ञ  हजारौं नरको बलि 
चढाइ देशको माटो रक्तपूर्ण बनेपनि
परिवर्तनको झिल्को बल्दै बल्दैन तैपनि ।।
***********************************

प्रा०डा गोपालप्रसाद भण्डारी 
२०८० / कार्तिक /७
हाल
नर्थकेरोलिना
फेदविल 
संयुक्तराज्य अमेरिका

Views: