d

साँस्कृतिक पर्व : दशैँ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

दशैँ पर्व नेपालको सबैभन्दा ठूलो चाड हो । धेरै हर्षोल्लास साथ मनाइन्छ । नेपालभर हिन्दु धर्मावलम्बीहरूले दशैं मनाउने गर्दछन् । यो पर्वले मानिसमा खुसी ल्याउने र एकताको सन्देश दिने पर्व हो। यो पर्वले एकता, सत्यको विजय र खुसीको सुरुवातको प्रतीक हो ।
दशैँ सामान्यतया नेपाली महिना आश्विन र कार्तिकमा पर्दछ । यसलाई दुर्गा पूजा पनि भनिन्छ । यो घटस्थापना | देखि कोजाग्रत पूर्णिमा सम्म गरी जम्मा १५ दिन मनाइन्छ । दशैंको पहिलो दिनलाई घटस्थापना भनिन्छ ! | घटस्थापनाका दिन देवी माताको स्थापना गरी केराको पात अथवा तामाको आडामा माटो हालेर त्यसमाथि थरी थरीका अन्नहरू जस्तै गहुँ, जौ आदि हालेर जमरा राखिन्छ नौ दिन सम्म देवि माताको पूजा गरिन्छ। दसौँ दिन पश्चात आफूभन्दा ठूलावडाबाट टिका, जमरा र आशीर्वाद लिइन्छ। दशैँ सत्यको विजय र असत्यको पराजय भएको खुशीयालीमा मनाइने पर्व हो ।
दशैको चलन कसरी चल्यो भन्ने सम्बन्धमा विभिन्न मतहरू छन्। पौराणिक कथा अनुसार परापूर्वकालमा दानवहरुले देवताहरुलाई असाध्यै दुःख दिएका थिए । त्यसपछि देवताहरु दिक्क भए र देवी माताको शरणमा पुगे। देवी माताको पूजा आराधना गरे। देवि माता खुसी भइन र थरीथरीका रूप धारण गरेर दानवहरुको वध गरिन। त्यसपछि देवताहरु शान्त सँग बाँच्न पाए। असत्यको पराजय र सत्यको विजय भयो । यसै खुसियालीमा दशैँ मनाइएको हो । दशैँमा हामीहरू राम्रा राम्रा लुगाहरु लगाएर ठूलावडाबाट टिका, जमरा र आशीर्वाद लिएर, मिठा-मिठा खानेकुराहरु खान्छौं। सत्यको विजय र असत्यको पराजय भएको खुसियालीमा कसैलेपनि भुइमा खुट्टा नराखे अधिराज्य बन्ने सांस्कृतिक मान्यतालाई आत्मसात गर्दै दशैँमा सबैले पिङ खेल्ने चलन छ ।
घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदा देखि क्रमश: शैलपुत्री, ब्रहमाचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै चण्डी पाठ गरी नव दुर्गा र तृशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतिको विशेष पूजाआजा र आराधाना गरिन्छ । विजया दशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानी को प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन रहेको छ । दशैँ हर्ष एवम् उल्लास तथा विजयको पर्व हो । हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक व्यक्ति, र समाजको रगतमा वीरता प्रकट होस् भन्ने हेतुले दशैँको उत्सव (पर्व) सुरु भएको हो । दशैँ पर्वले दश प्रकारका पापहरू - काम, तोध, लोभ, मोह, मद, मात्सर्य, अहङकार, आलस्य, हिंसा र चोरी त्याग्ने प्रेरणा दिन्छ । हिन्दू धर्मशास्त्रमा महिषासुर दानवले देवलोकका आतङ्क मच्चाएका थिए। दुर्गाले राक्षसहरुलाई मारेकी थिइन् । दसैंको पहिलो नौ दिन दुर्गा र महिषासुरका विभिन्न अवतारहरबीच भएको युद्धको प्रतीक हो । दसौँ दिन त्यो दिन हो जब दुर्गाले अन्तत: महिषासुरलाई पराजित गरेकी थिइन। अन्य हिन्दूहरुको लागि यो चाड रावणमाथि रामको विजयको प्रतीक हो जुन रामायणमा वर्णन गरिएको छ ।

घटस्थापना : विजयादशमीको पहिलो दिन घटस्थापना हो। यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन जमरा राखिन्छ । यस दिन घट कलशको स्थापना गरी देवी देवतालाई आवाहन गरिन्छ । यस दिन नदी खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दशैँ घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ अथवा गाउँ घरमा चलिआएको अन्न छरिन्छ ।

महासप्तमी : नवरात्रिको सातौं दिनलाई फूलपाती अथवा महासप्तमी भनिन्छ। नवरात्रको सप्तमीका दिन बेलपत्ता, धानको गाभा, अनार, अदुवाको बोट कच्छु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरु दसैँ घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ । वर्षा ऋतु सकिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरु घरमा भित्र्याउँदा घरभित्र रहने रोगका जीवांश र विभिन्न प्रकारका नकारात्मक कीटाणु तथा जीवाणुहरु औषधीय पालुवाको प्रभावले घरमा रहन सक्दैनन भन्ने विश्वास गरिन्छ ।

महाष्टमी: नवरात्रिको आठौं दिनलाई महाअष्टमी भनिन्छ । यस दिनमा महकाली, भद्रकालीको विशेष पूजा आजा गरिन्छ । देवीभागवत अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकालीका साथ अष्टमीका दिन उत्पन्न भएकोले पूजा गर्ने चलन छ। पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ । यी दिनहरुमा मानिसहरु आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवदेवतालाई पूजी बलि दिन्छन् । शाकाहारीहरुले नरिवल, कुभिण्डो, केरा, घिरौंला आदि फल अर्पण गर्दछन् । काठमाडौंको तलेजु भवानीको मन्दिर परिसर यो दिन सर्वसाधारणको लागि खुल्ला रहन्छ । यसै दिन दशैँघर (हनुमानढोका) को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यतिनै बोका बलि अर्पण गरिन्छ ।

महानवमी : नवरात्रिको नवौं दिनलाई महानवमी भनिन्छ । यस दिन विशेष गरी सिद्धिदात्री देवीको पूजा-आजा गरिन्छ। यसै दिन विहान कलपूर्जा, हातहतियारहरु तथा सवारीका साधनहरु आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। यस दिन अरु पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरुको पनि पूजा- आजा गरिन्छ ।

विजयादशमी : नवरात्रिको दशौं दिनलाई विजयादशमी पनि भनिन्छ । यस सम्बन्धमा श्रीमद्‌भागवत नवरात्र प्रकरणमा नवरात्र पर्यन्त अहोरात्र व्रत बसी दशमीका दिन शुभसाहितमा भगवान रामचन्द्रले रावणमाथि विजय प्राप्त गरेकाले यसलाई विजयदशमी भनिआएको हो भन्ने कथन पनि छ । यस दिनमा देवीका मूर्तिहरु र नवपत्रिकालाई बाजा-गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो कपडालाई प्रसादको रुपमा घाँटीमा लगाइन्छ । अनि घरका मूलमान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टिका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन् । अनि सपरिवार नातेदारकहाँ तथा मान्यजनकहाँ दशैँको लागि तयार भएको टीका लगाउन जान्छन् ।

कोजाग्रत पूर्णिमा: पूर्णिमाको दिन मनाइने यस पूर्णिमालाई कोजाग्रत पूर्णिमा भनिन्छ । यो दशै पर्वको अन्तिन दिन हो । कोजाग्रत शब्दको अर्थ जागृत भन्ने हो । यस दिन धनधान्यकी देवी लक्ष्मीको पूजा आराधाना गरिन्छ। देवी लक्ष्मी पृथ्वीमा अवतरित हुन्छिन् र धन र समृद्धि  रातभर जाग्राम रहने जो कोहीलाई वर्षा गराउँछिन भन्ने विश्वास गरिन्छ ।
त्यसैले दशैँ हिन्दु धर्म प्रति आस्था हुनेको लागि महत्वपूर्ण सांस्कृतिक पर्व हो ।


लेखक: स्नेहा दुलाल
कक्षा - १०
जनता उच्च माध्यामिक विद्यालय
गौरादह, झापा 

Views: