d

लैंगिक हिंसाविरुद्धको सचेतना कार्यक्रम सम्पन्न

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झापा: गौरादह नगरपालिका वडा नम्बर ४ मा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतनामुलक कार्यक्रम सम्पन्न  गरिएको छ । नेकपा एमाले आवद्ध अखिल नेपाल महिला संघको आयोजनामा गौरादह ४ स्थित भिमसेन प्रा. वि परिसरमा लैंगिक हिंसा विरुद्धको विश्वयापी कार्यक्रमको सिलसिलामा एकदिने कार्यक्रम सम्पन्न गरिएको हो । 

कार्यक्रममा लैंगिक हिंसाको असर, सामाजिक क्षेत्रमा यसको प्रभाव, लैंगिक हिंसाविरुद्ध  बिध्य्मान कानुनी व्यवस्था तथा महिलाहरूलाई कसरी सशक्तीकरण गर्ने भन्ने सन्दर्भमा केन्द्रित रहेको थियो । 
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ ।

सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।

कार्यक्रममा हिँसामा परेका महिलालाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान समेत  गरिएको छ ।

अनेमसंघ झापा जिल्ला सदस्य बिनिता सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सापकोटाले लैंगिक हिंसा विरुद्धको विश्वव्यापी अभियानले पीडित महिलाहरुको आवाजलाई बलियो बनाउने बताउदै मुलुकमा बढिरहेको दण्डहीनताको विषयमा आफुहरु चिन्तित रहेको बताइन् । बलिया कानुन निर्माण भएपनि त्यसलाई लागु गर्नुको सट्टा राजनीतिक आवरण दिँदै पिडकलाई उन्मुक्ति दिने परिपाटी खेदजनक भएको टिप्पणी गरिन् । 

कार्यक्रममा अनेमसंघ जिल्ला सदस्य   भिमा श्रेष्ठ लगायत ले शुभकामना मन्तव्य राखेका थिए । 

संगठनको वडा कार्यसमिति अध्यक्ष झुमा कार्की बस्नेतको  सभापतित्वमा सम्पन्न कार्यक्रममा चन्द्रकला थापाले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको संचालन मुना श्रेष्ठ घिमिरेले गरेकी थिइन् । 

Views: