गौरादह नगरपालिकाको आयोजनामा करदाता प्रशिक्षण सम्पन्न
साना तथा मझौला व्यवसायीहरुका लागि कर तथा लेखा प्रणाली सम्बन्धमा प्रशिक्षण दिईएको छ ।
गौरादह नगरपालिकाको आयोजनामा नगर सभाहलमा जेठ २५ र २६ गते कर नीति, व्यवसाय दर्ता तथा लेखा व्यवस्थापन र व्यवसायजन्य प्रशासनिक समस्या लगायत विषयमा व्यवसायीलाई प्रशिक्षण दिईएको हो । व्यवसाय र नीतिगत विषयमा सधै ठुला व्यवसायी मात्रै केन्द्रविन्दुमा रहने र साना व्यवसायीको समस्या तथा व्यवसायजन्य प्रशासनिक जटिलताको विषय ओझेलमा पर्ने गरेको गुनासो व्यवसायीबाट नै भईरहेका बेला साना तथा मझौला व्यवसायीका लागि कर प्रशिक्षण दिईएको हो ।
कर शिक्षा कार्यक्रमको औपचारिक उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख छत्रपती सुवेदीले नयाँ कर प्रणालीको विषयमा व्यवसायीहरुलाई जानकारी गराउदै व्यवसायीक सहजता प्रदान गर्ने उद्देश्यले कर प्रणाली सम्बन्धि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताउनु भयो । कर तिर्नु नागरिकको कानुनी कर्तव्य भएको बताउदै वहाँले समयमा कर तिर्ने बानीले व्यवसायीक अनुशासन कायम गर्ने बताउनु भयो । कर तिर्दा व्यवसायमा असर पर्दैन, '
समयमा कर तिर्ने बानी भएमा मुलुकको समग्र बिकासमा योगदान पुगेको हुन्छ जसले नागरिकलाई समेत प्रत्यक्ष आर्थिक समृद्धि प्रदान गर्छ ।', वहाँको भनाइ थियोे ।
उपप्रमुख तथा राजश्व परामर्श समिति संयोजक जलवर्षा राजवंशीले सरकारले कर वृद्धि गर्नु भन्दा करको दायरा फराकिलो पार्ने सरकारको रणनीति भएको बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुवेदीले नगरपालिकाले आयोजना गरेको कर प्रशिक्षण कार्यक्रमले व्यवसायीहरुलाई कर प्रति जिम्मेवार बनाउन मद्दत पुग्ने धारणा राखे ।
दुई दिवसीय कार्यक्रममा आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख कर अधिकृत पुन्य प्रसाद रिजाल, आ. रा. का. दमकका कर अधिकृत ज्ञानेन्द्र कुमार यादव, करदाता सेवा कार्यालय इलामका कर अधिकृत मनोज सेढाई, करदाता सेवा कार्यालय सङ्खुवासभाका कर अधिकृत योगेस भट्टराई तथा आ. रा. का. दमकका कम्प्युटर अपरेटर सागर ढुंगानाले कार्यक्रममा प्रशिक्षण प्रदान गरेका थिए ।
कार्यक्रमको व्यवस्थापकीय पक्षमा वडा नम्बर ३ का वडाध्यक्ष तथा राजश्व परामर्श समिति सदस्य दिलिप भण्डारीले भुमिका प्रदान गरेका थिए ।
प्रतिक्रिया