श्रावण १५ २०८२, बिहिबार

मुख्यमन्त्री कार्कीद्वारा ‘दिव्यदृष्टि पूजा सामग्री’ उद्योगको अवलोकन

Ads

 

दमक, साउन ९ – कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतकुमार कार्कीले झापा, कमल गाउँपालिका–६ मा अवस्थित दिव्यदृष्टि भेनेरेसन एण्ड एग्रो कन्सर्न प्रा.लि. अन्तर्गत सञ्चालित ‘दिव्यदृष्टि पूजा सामग्री उद्योग’ को निरीक्षण गरेका छन्।

Ads

निरीक्षणका क्रममा मुख्यमन्त्री कार्कीले स्वदेशी कच्चा पदार्थमा आधारित धार्मिक उत्पादनमूलक उद्योगले स्थानीय उत्पादन प्रवर्द्धन, सांस्कृतिक संरक्षण तथा आयात प्रतिस्थापनमा महत्वपूर्ण योगदान दिन सक्ने बताए। उनले यस्तो प्रकारका उद्योगहरू प्रदेशको आत्मनिर्भरता, उद्यमशीलता र स्वरोजगार प्रवर्द्धनका दृष्टिकोणले उदाहरणीय हुने धारणा राखे।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारका तर्फबाट यस्तो उद्योगको प्रवर्द्धनका लागि आवश्यक नीति, सहकार्य र सहुलियत प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे।

Ads

उद्योगका अध्यक्ष विष्णुप्रसाद पोखरेल र कार्यकारी प्रमुख बबिता तिम्सिनाले निरीक्षण टोलीलाई उद्योगको स्थापना प्रक्रिया, उत्पादन विधि तथा व्यावसायिक विस्तारबारे जानकारी गराएका थिए। अध्यक्ष पोखरेलका अनुसार, "दिव्यदृष्टि ब्रान्ड अन्तर्गत हामी शुद्ध, शास्त्रसम्मत र घरेलु स्रोतमा आधारित पूजा सामग्री उत्पादन गर्दै आएका छौं।"

उद्योगले ६० भन्दा बढी महिलालाई अर्धरोजगारी तथा १५ जनालाई पूर्णरोजगारी उपलब्ध गराएको जानकारी दिइएको छ। उद्योगबाट हाल नवग्रह समिधा, हवन सामग्री, दिव्य समिधा, परिमल, बाटेको धूप, सप्तधान्य, गंगाजल, गौ अर्क, पञ्चरत्न, सर्वोषधि, सप्तमृतिका, तिल, जौ लगायत दुई दर्जनभन्दा बढी पूजा सामग्री उत्पादन हुँदै आएका छन्।

यी उत्पादनहरू कोशी प्रदेशका सबै जिल्ला हुँदै काठमाडौँ, चितवन, बुटवल, नेपालगञ्ज लगायतका मुख्य बजारमा वितरण भइरेहेको कार्यकारी प्रमुख तिम्सिनाले जानकारी दिइन्। उनले निकट भविष्यमा प्याकेजिङ सुधार, बजार विस्तार र अन्तर्राष्ट्रिय निर्यात गर्ने लक्ष्य रहेको पनि बताइन्।

उद्योगले स्थानीय कच्चा पदार्थको उपयोग, महिला उद्यमशक्ति प्रवर्द्धन, र जैविक तथा धार्मिक आस्थामा आधारित गुणवत्तायुक्त उत्पादनलाई प्राथमिकता दिँदै आएको छ।

निरीक्षण कार्यक्रममा मुख्यमन्त्रीसँगै प्रदेश सभा सदस्य होमबहादुर थापा लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार
जेष्ठ १५ २०८२,बिहिबार