आश्विन ०३ २०८२, शुक्रबार

बिपी स्मृति भवन र एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी

Ads

 

झापा । गौरादह नगरपालिका–२ मा रहेको नेपाली कांग्रेसको नगर पार्टी कार्यालय विपी स्मृति भवन र गौराद ७ स्थित एमाले पार्टी कार्यालय भवन जेन जेड प्रदर्शनकारीहरूको आक्रोशको शिकार भएको छ। उनीहरूले भवनमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन्।

Ads

देशभर भइरहेको विरोध प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १९ जनाको ज्यान गएको घटनाको विरोधस्वरूप सोमबार दिउँसो गौरादहमा ठूलो संख्यामा प्रदर्शनकारी स्वतःस्फूर्त रूपमा भेला भएका थिए।

नगरपालिकाको मुख्य पुर्व तर्फको गेट भित्र टायर बाल्दै चर्को नारावाजी गरेका थिए।  त्यहाँबाट फर्किरहेका प्रदर्शनकारीहरू अचानक आक्रामक बनेर कांग्रेसको नगर पार्टी कार्यालयमा धावा बोले। भवनका ढोका, झ्याल र भित्तामा तोडफोड गर्नुका साथै भित्र रहेका कागजात र फर्निचर क्षतिग्रस्त भए। केही समूहले भवनभित्र आगजनी गरी धुवाँ उठाएका थिए। पार्टी कार्यालय तोडफोड गर्दै गर्दा नजिकै रहेको वडा नम्बर २ को कार्यालयलाई भने प्रदर्शनकारी स्वयमले संरक्षण गरेको दृश्य निकै मननयोग्य थियो।  उनीहरु भन्दै थिए, 'वडा कार्यालय हाम्रो सम्पति हो यसलाई संरक्षण गर्नु पर्छ।'

Ads

प्रदर्शनकारीहरूले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको गौरादहस्थित निवास अगाडि टायर बालेर प्रदर्शन गरे। त्यसपछि उनीहरू डिपुचोक हुँदै बजार परिक्रमा गर्दै नगरपालिका कार्यालय अगाडि पुगे।

नगरपालिका कार्यालय अगाडि पनि प्रदर्शनकारीहरूले टायर दहन गरी सरकार र सुरक्षाकर्मी प्रति आक्रोश पोखेका थिए। उनीहरूले “हत्यारालाई कारबाही गर” र “सार्वजनिक सम्पत्ति बचाऊ” जस्ता नारासहित मुख्यमन्त्री र सरकारविरुद्ध तीव्र नाराबाजी गरे।

Ads

नगरपालिका परिसर र मुख्यमन्त्रीको घर अगाडी उच्च सुरक्षा सतर्कता अपनाइएको भएपनि पार्टी कार्यालय आगजनी गर्दा समेत प्रहरीले कुनै हस्ताक्षेप गरेको देखिएन।

प्रतिक्रिया

सम्बन्धित समाचार