माओवादी केन्द्रले जेन-जी आन्दोलनलाई ऐतिहासिक ठहर गर्दै समर्थन जनायो
काठमाडौं, २५ भदौ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले जेन-जी पुस्ताले सुशासनका पक्षमा सुरु गरेको आन्दोलनलाई ऐतिहासिक र न्यायोचित भन्दै समर्थन जनाएको छ । पार्टीले आन्दोलनमा सहभागी युवापुस्ताले देखाएको साहस र आहुति लोकतान्त्रिक मूल्य र सुशासनको यात्रामा महत्वपूर्ण योगदान हुने उल्लेख गरेको छ ।
माओवादी केन्द्रले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली र घाइतेहरुप्रति सहानुभूति प्रकट गर्दै सरकारको दमनकारी कदमप्रति कडा आपत्ति जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, “जेन-जी पुस्ताले अघि सारेको आन्दोलन सच्चा लोकतान्त्रिक अभ्यास हो, तर सरकारले दमन र तोडफोडको बाटो रोजेपछि परिस्थिति चर्किएको हो ।”
पार्टीले संसद भवन, राष्ट्रपतिको निवास, सिंहदरबारलगायतका महत्वपूर्ण संरचनामा भएको तोडफोड र आगजनीलाई अस्वीकार्य बताउँदै पनि त्यस्तो अवस्थाको मुख्य जिम्मेवारी सरकारकै उदासीनता र गैरजिम्मेवार नीतिमा रहेको टिप्पणी गरेको छ ।
युवापुस्ताको मागलाई संवेदनशीलतापूर्वक सम्बोधन गर्न सरकारलाई आह्वान गर्दै माओवादी केन्द्रले संवाद र सहमतिको बाटोमै समाधान खोज्नुपर्नेमा जोड दिएको छ । “शान्ति, सुशासन र समावेशी लोकतन्त्रका लागि युवाको आवाजलाई सुन्नु अपरिहार्य छ,” विज्ञप्तिमा भनिएको छ ।
पार्टीले देशको राजनीतिक स्थायित्व र लोकतान्त्रिक मूल्य संरक्षणका लागि आन्दोलनलाई अवसरका रूपमा उपयोग गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया