गौरादहमा युवाहरूको रातभर गस्ती, प्रहरीलाई स्थानीयको भरपर्दो साथ
गौरादह, २५ भदौ – जेन-जी आन्दोलन पछिको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै गौरादह बजार र डिपुचोक तथा आसपासका क्षेत्रमा स्थानीय युवाहरूले रातभर गस्ती गरेका छन्। उच्छृङ्खल गतिविधि रोकथाम र प्रहरी प्रशासनलाई सहयोग पुर्याउने उद्देश्यले गरिएको गस्तीमा स्थानीय युवा समूह सक्रिय रहेको बताइएको छ।

संक्रमणकालीन अवस्थामा चोरी तथा लुटपाटको सम्भावना बढ्न सक्ने चेतावनीसहित हिजो मात्रै गठन भएको अनिस कार्की नेतृत्वको शान्ति तथा समन्वय समिति गौरादह बजार क्षेत्रमा सक्रिय थियो भने डिपु क्षेत्रमा सारथि युवा क्लब सहित स्वतस्फूर्त रूपमा भेलाभएका स्थानीयले निगरानी बढाएका थिए।
इलाका प्रहरी कार्यालय गौरादहका प्रसनि चन्द्रिका कुमार श्रेष्ठको नेतृत्वमा स्थानीय युवाहरू र प्रहरीको संयुक्त टोलीले गस्ती गर्ने क्रममा सडक किनारमा अलपत्र अवस्थामा रहेको एउटा मोटरसाइकल बरामद गरेको छ। बरामद मोटरसाइकल अहिले प्रहरीको जिम्मामा रहेको सारथि युवा क्लबका अध्यक्ष गोविन्द कँडेलले जानकारी दिएका छन्।

प्रतिक्रिया