मकवानपुर–बाराको सीमामा सेनाको ट्रक दुर्घटना, १६ सैनिक घाइते
मकवानपुर ।
मकवानपुर र बाराको सीमामा पर्ने चुरियामाईमा मंगलबार दिउँसो नेपाली सेनाको ट्रक दुर्घटना हुँदा कम्तीमा १६ जना सैनिक घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
तनहुँस्थित नं. २ राजदल गणबाट धनुषा तर्फ जाँदै गरेको लु १ ग २८० नम्बरको ट्रक हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईको पुलबाट करिब १०–१२ फिट तल खोल्सामा खसेको हो।
उपसेनानी हर्ष विक्रम अधिकारीको कमाण्डमा रहेका चार ट्रकमध्ये एक दुर्घटनामा परेको हो। सो ट्रकमा २२ जना सैनिक सवार थिए।
दिउँसो करिब २:५० बजे दुर्घटनाको खबर आएपछि प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
मकवानपुर र बारा दुवैतर्फका प्रहरी र नेपाली सेनाले घाइते सैनिकलाई तत्काल उद्धार गरी हेटौंडा अस्पताल पठाएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ।
प्रतिक्रिया