शिवसताक्षी: एमाले उपाध्यक्ष विष्णु प्रसाद प्रसाई एक वर्षका लागि निलम्बन
रुकम खनाल / शिवसताक्षी
झापा, ७ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) शिवसताक्षी नगर कमिटीका उपाध्यक्ष विष्णु प्रसाद प्रसाईलाई पार्टीले एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।
नगर कमिटीले दिएको जानकारीअनुसार, प्रसाईले भाद्र २४ गते सामाजिक सञ्जाल फेसबुकमार्फत जेन्जी पुस्ताद्वारा आयोजना गरिएको आन्दोलनलाई सम्बोधन गर्दै आफैंलाई निर्वाचित वडा अध्यक्ष पद र साधारण सदस्य नरहने गरी राजीनामा दिएको घोषणा गरेका थिए ।

यस विषयमा २०८२ असोज २ गते बसेको एमाले नगर सचिवालय बैठकले पार्टी विधान विपरीत गतिविधि भएको भन्दै स्पष्टिकरण माग गर्ने निर्णय गरेको थियो । तर प्रसाईले असोज ३ गते बुझाएको लिखित स्पष्टीकरण चित्तबुझ्दो नदेखिएको नगर कमिटीले जनाएको छ ।


पार्टी विधानको धारा ८० का विभिन्न उपधारा उल्लंघन भएको ठहर गर्दै, विधानको धारा ८१ बमोजिम उपाध्यक्ष प्रसाईलाई पद तथा साधारण सदस्यता दुवैबाट एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरिएको हो ।
नगर कमिटीका अध्यक्ष मेदनी दगाल र सचिव लक्ष्मी प्रसाद गुरागाईको संयुक्त हस्ताक्षरमा जारी निर्णयपत्रमा उक्त कारबाहीलाई अनुमोदनका लागि एमाले जिल्ला कमिटी झापामा पठाइएको उल्लेख छ ।

प्रतिक्रिया