नेपालको अपराजित यात्रा, ओमान ३८ रनले पराजित
२९ असोज, काठमाडौं ।
आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया–पेसिफिक छनोटमा नेपालले लगातार चौथो जित दर्ता गर्दै अपराजित यात्रा कायम राखेको छ। बुधबार सम्पन्न खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गर्दै उपाधितर्फ ठोस पाइला बढाएको हो।
टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रनको मध्यम लक्ष्य प्रस्तुत गर्यो। ओपनर कुशल भुर्तेलले ५१ बलमा ६९ रनको अर्धशतक बनाएर पारीको मेरुदण्ड बने। आसिफ शेखले २४, गुलशन झाले १८ र आदिल आलमले १६ रनको योगदान दिए। पावरप्लेमा विना विकेट ५३ रन जोडेको नेपालले त्यसपछि भने नियमित अन्तरालमा विकेट गुमाएको थियो।

बलिङतर्फ ओमानका नदीम खानले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए, शुफिया मेहमुद र जितेन रामानन्दीले दुई–दुई विकेट हात पारे।
१५२ रनको लक्ष्य पछ्याउँदै ओमान २० ओभरमा ९ विकेट गुमाएर ११३ रनमै रोकियो। विनायक शुम्लाले १९ बलमा ३२ र मोहम्मद नदीमले २५ रन बनाए पनि अन्य ब्याटरहरू खास प्रदर्शन गर्न सकेनन्।

नेपालका गुलशन झाले ४ ओभरमा २४ रन दिँदै ३ विकेट लिए। नन्दन यादव र सोमपाल कामीले दुई–दुई तथा सन्दीप लामिछानेले एक विकेट जोडे।
यो जितसँगै नेपाल ४ खेलबाट ८ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपाल र ओमान दुवै टोली विश्वकपमा छनोट भइसकेका छन्।

नेपालले यसअघि यूएई र कतारलाई पराजित गरेको थियो। अब नेपालले शुक्रबार सामोआसँग अन्तिम खेल खेल्नेछ।
प्रतिक्रिया