एमाले–कांग्रेस एकसाथ चुनावी मैदानमा उत्रिनुपर्छ : उपाध्यक्ष बादल
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आउँदो प्रतिनिधिसभा निर्वाचनमा एमाले र नेपाली कांग्रेस मिलेर चुनाव लड्नुपर्ने आवश्यकता औँल्याएका छन्।

मंगलबार मदन आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठीमा बोल्दै उपाध्यक्ष थापाले देशमा लोकतन्त्र संकटमा परेका बेला वामपन्थी शक्तिको नेतृत्व एमालेले र लोकतन्त्रवादी शक्तिको नेतृत्व कांग्रेसले गर्दै साझा रणनीतिमा अघि बढ्नुपर्ने बताए।
उनले भने, “अहिलेको विषम परिस्थितिमा दुई ठूला शक्तिहरूले स्पष्ट रणनीति बनाउनुपर्छ। चुनाव भएमा नयाँ संसदमा वामपन्थी र लोकतन्त्रवादी शक्तिले ‘डिप स्टेट’वादी शक्तिलाई परास्त गर्नुपर्छ।”

उपाध्यक्ष थापाले नयाँ संसदमा वामपन्थी र लोकतन्त्रवादीहरूको वर्चस्व स्थापित गर्ने, वा दुई शक्तिको प्रभाव रहेको पुरानै संसद पुनर्स्थापना गरेर लोकतन्त्रलाई सुदृढ गर्ने विकल्प खुला रहेको उल्लेख गरे।
लोकतन्त्र पुनर्स्थापनाका लागि १६५ वटै निर्वाचन क्षेत्रमा संयुक्त मोर्चा आवश्यक रहेको धारणा राख्दै उनले भने, “आउँदो चुनावमा आधा क्षेत्रमा वामपन्थी र आधा क्षेत्रमा लोकतन्त्रवादी शक्तिलाई विजयी बनाउने रणनीति बनाऔँ।”

प्रतिक्रिया