माघ २९ २०८२, बुधवार

८५ वर्षमा व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन’ - शहीद दिवसमा बालेन साहको गम्भीर सन्देश

Ads


काठमाडौँ | शहीद दिवस
राणा शासनविरुद्ध संघर्ष गर्दै गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीले बलिदान दिएको ८५ वर्ष पूरा भएको अवसरमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले शहीदको सपना अझै अधुरै रहेको यथार्थतर्फ राज्य र नागरिक दुवैको ध्यानाकर्षण गराएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा बालेन साहले राणा शासनको अन्त्य त भयो, तर त्यसपछि पनि राज्य जनताको हुन नसकेको कटु सत्य उल्लेख गरेका छन्। “८५ वर्षमा पटक–पटक व्यवस्था फेरियो, तर सत्ताको चरित्र फेरिएन,” उनले लेखेका छन्।
उनका अनुसार शहीदको बलिदान केवल इतिहासमा सीमित भयो, सपना भने पूरा भएनन्। लोकतन्त्र, गणतन्त्र, संघीयता जस्ता व्यवस्थागत परिवर्तन भए पनि सुशासन, पारदर्शिता र जवाफदेहिताको अभाव उस्तै रहेको उनले टिप्पणी गरेका छन्।
बालेन साहले भदौ महिनामा भएको ‘जेन–जी आन्दोलन’ को स्मरण गर्दै सुशासन र भ्रष्टाचार अन्त्यको मागसहित शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले जीवन गुमाउनुपरेको घटनालाई गम्भीर रूपमा उठाएका छन्।
“८५ वर्षअघि जस्तै, यसपालि पनि युवाले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्‍यो,” उनले उल्लेख गरेका छन्।
उनले अबको संघर्षको लक्ष्य स्पष्ट हुनुपर्ने धारणा राख्दै शहीदका सपना पूरा गर्ने जिम्मेवारी वर्तमान पुस्ताको काँधमा आएको बताएका छन्।
“लामो समयदेखि जरा गाडेर बसेको भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रूपमा उन्नत बनाउनु हाम्रो दायित्व हो,” साहको भनाइ छ।
साथै, राज्यका निकायहरूमा मौलाएको चरम दलीयकरण अन्त्य गरी राज्यलाई जवाफदेही, पारदर्शी र जनमुखी बनाउने जिम्मेवारीबाट अब कसैले पन्छिन नपाउने उनको जोड छ।
“यी शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन,” भन्दै उनले शहीदको रगतलाई सम्मान गर्ने एकमात्र उपाय उनीहरूको सपना पूरा गर्नु भएको बताएका छन्।
शहीद दिवसको अवसरमा बालेन साहले सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै फेरि कसैले शहीद बन्न नपरोस् भन्ने कामना गरेका छन्।
उनका शब्दमा, “यो शहीद दिवस मन, बचन र कर्मले प्रतिबद्ध भएर शहीदका बलिदानलाई सार्थक बनाउने संकल्प गर्ने समय हो।”

प्रतिक्रिया

सम्बन्धित समाचार
माघ ०४ २०८२,आइतबार