रास्वपा र राप्रपा द्वारा प्रतिनिधिसभा बैठक बहिष्कार
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजकाे प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।
आजकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूकाे प्रश्नकाे जवाफ दिने कार्यसूची थियाे । तर रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नाेत्तर कार्यक्रम कार्यसूचीबाट हटाउनुभयाे ।
सभामुख घिमिरेले बैठक शुरू भएको घोषणा गरेलगत्तै दुवै दलका सांसदहरूले आफ्नो आसनबाट उठेर विरोध जनाए । त्यसपछि सभामुख घिमिरेले बजेटमाथिकाे छलफल सक्नुपर्ने र प्रश्नोत्तरलगायतका कार्यक्रम अगाडि बढाउनुपर्ने भएकाले उपयुक्त वातावरण बनाउन आग्रह गर्नुभयो ।
सभामुखले सांसद अमरेशकुमार सिंहलाई बोल्न अनुमति दिएपछि रास्वपा र राप्रपाले बैठक बहिष्कार गरेका हुन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूसँग सरसल्लाह नगरी प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको विषयमा असहमति जनाउनुभयो ।
उहाँले सम्बन्धित मन्त्रीको अनुपस्थितिमा विनियोजन विधेयकमाथिको छलफल अगाडि बढाउन नहुने धारणा राख्नुभयो । त्यसअनुसार युवा तथा खेलकुद र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफल कार्यसूचीबाट हटेको छ ।
प्रतिक्रिया