गौरादह–१ मा ६२ योजना सम्पन्न, सार्वजनिक सुनुवाइ तथा प्रगति विवरण सार्वजनिक
गौरादह, झापा। गौरादह नगरपालिका वडा नं. १ मा आर्थिक वर्ष २०८१/०८२ का लागि सञ्चालनमा रहेका ६४ वटा विकास योजना मध्ये ६२ वटा योजना सम्पन्न भएको वडाध्यक्ष नागेन्द्र भण्डारीले जानकारी दिएका छन्। संघीय र प्रदेश सरकारमार्फत ठेक्का पद्धतिबाट अगाडि बढाइएका दुई बहुवर्षीय योजना बाहेक अन्य सबै योजना सम्पन्न भइसकेका हुन्।
गौरादह–१ वडा कार्यालयको सभा हलमा मिति २०८२ साल असार ३ गते सम्पन्न सार्वजनिक सुनुवाइ तथा वार्षिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा वडाध्यक्ष भण्डारीले विगत एक वर्षको भौतिक, सामाजिक, आर्थिक र प्रशासनिक गतिविधिहरूको विवरण प्रस्तुत गरे। उनले वडामा रहेका सरकारी तथा निजी संघसंस्थाहरूलाई समाज रूपान्तरणका आधार स्तम्भका रूपमा उल्लेख गर्दै तिनको सशक्तीकरणमा वडाको प्राथमिकता रहेको स्पष्ट पारे।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख छत्रपति सुबेदी, उपप्रमुख जलबर्षा राजवंशी, तथा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुबेदीको विशेष उपस्थिति रहेको थियो। प्रमुख अतिथि सुबेदीले वडाको विकासगत प्रगतिप्रति सन्तोष व्यक्त गर्दै यस्ता सार्वजनिक सुनुवाइ कार्यक्रमले सरकार र जनताबीचको सम्बन्ध बलियो बनाउने धारणा राखे।
कार्यक्रमको विशेष आकर्षणका रूपमा राष्ट्रिय तथा स्थानीय स्तरमा गौरव बटुलेका दुइजना छात्रालाई वडाबाट सम्मान प्रदान गरिएको थियो। राष्ट्रिय स्तरको कबड्डी प्रतियोगितामा सहभागी हुन छानिएकी इन्दिरा बोहोरा र ३ किलोमिटर म्याराथन दौड प्रतियोगितामा अव्वल रहेकी सोफिया खातुनलाई वडाले सम्मान गर्दै शैक्षिक अभिभावकत्व लिने घोषणा गरेको थियो। वडाध्यक्ष भण्डारीले भविष्यमा यस्ता प्रतिभाहरूलाई प्रोत्साहन गर्न वडा सधैं तत्पर रहने प्रतिवद्धता जनाए।
कार्यक्रममा स्थानीय नागरिकहरूले विकास योजनाको दीर्घकालीन प्रभाव, बजेट पारदर्शिता, सार्वजनिक सेवा तथा भविष्यका योजनासम्बन्धी विभिन्न जिज्ञासा प्रस्तुत गरेका थिए। ती सबै जिज्ञासाको जवाफ वडाध्यक्ष भण्डारीले स्पष्ट र तथ्यगत रूपमा दिएका थिए।
कार्यक्रमको सञ्चालन वडा सचिव अनिता अधिकारीले गरेकी थिइन्। उनले यो कार्यक्रम पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायी शासन प्रणालीतर्फको एक महत्वपूर्ण अभ्यास भएको बताइन्।
प्रतिक्रिया