असार ३१ २०८२, मंगलबार

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन घोषणा, नेकपा एमालेको अध्यक्ष पदमा दाबी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गर्दै नेकपा एमालेको अध्यक्ष पदमा दाबी गरेकी छन्। उनले राष्ट्रसेवाका लागि सेवा–सुविधा त्यागेको बताउँदै आगामी महाधिवेशनमा नेतृत्व सम्हाल्ने तयारी सार्वजनिक गरिन्।
Ads

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लामो मौनता तोड्दै सक्रिय राजनीतिमा पुनरागमनको घोषणा गरेकी छन्। नेकपा एमालेको आगामी महाधिवेशनलाई लक्षित गर्दै उनले अध्यक्ष पदमा दाबी प्रस्तुत गरेकी हुन्। इमेज टेलिभिजनलाई दिएको एक विशेष अन्तर्वार्तामा उनले अब आफूलाई ‘एमालेको नेता’को रूपमा चिनिने बताउँदै पुनः राजनीतिक जीवनमा सक्रिय हुने औपचारिक संकेत गरेकी हुन्।

भण्डारीले राष्ट्रपतिका रूपमा दुई कार्यकाल सफलतापूर्वक पूरा गरेपछि केही समय सार्वजनिक जीवनबाट टाढा रहेकी थिइन्। तर, अन्तर्वार्तामा उनले राष्ट्र र पार्टीको हितका लागि अब सक्रिय हुने बताउँदै भनिन्, "यो मेरो व्यक्तिगत पदलोलुपता वा महत्त्वाकाङ्क्षा होइन, राष्ट्रिय आवश्यकता र जिम्मेवारीको भावनाले अघि बढेकी हुँ।"

Ads

उनले राष्ट्रपतिबाट निवृत्त भएपछि पाउने सम्पूर्ण सरकारी सेवा-सुविधा त्याग गरिसकेको जानकारी पनि दिइन्। यो कदमले उनले आफ्नो पुनरागमनलाई नितान्त राष्ट्रसेवामा समर्पित रहेको प्रमाणित गर्न खोजेकी छिन्।

भण्डारीले आफ्नो भविष्यको योजनाबारे प्रस्ट्याउँदै अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरण, उद्योग, कृषि तथा रोजगारीका माध्यमबाट देशको अर्थतन्त्र सबल बनाउने, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने, तथा जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौतीहरूसँग सामना गर्न आफू प्रतिबद्ध रहेको बताइन्।

Ads

उनको यस्तो घोषणाले एमालेभित्रको नेतृत्व प्रतिस्पर्धामा नयाँ मोड ल्याउने देखिएको छ। झण्डै एक दशकभन्दा बढी पार्टीको केन्द्रीय भूमिकाबाट टाढा रहेकी भण्डारीको पुनरागमनले एमालेको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिक सन्तुलनमा नयाँ तरंग ल्याउने अनुमान गरिएको छ।

पूर्वराष्ट्रपतिबाट फेरि दलको नेतृत्वमा फर्किन खोज्नु नेपाली राजनीतिमा कम देखिएको प्रसंग हो, जसले भण्डारीको राजनीतिक लक्ष्य र रणनीतिक सोचप्रति आम चासो उत्पन्न गराएको छ। अब हेर्न बाँकी छ—उनको यो कदमले एमालेको आगामी नेतृत्व संरचना र राष्ट्रिय राजनीतिमा कस्तो असर पार्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार
आषाढ ०८ २०८२,सोमबार