गौरादह नगरपालिकामा विकासको गति तिब्र छ - छत्रपति सुवेदी
गौरादह नगरपालिका नगर प्रमुख छत्रपति सुवेदीसँग नगरभित्र भएका गतिविधिहरूको विषयमा गरिएको साक्षात्कार कार्यक्रममा कसार साप्ताहिकको प्रकाशक/सम्पादक वेणु अधिकारीले लिएको अन्तर्वार्ताको प्रस्तुती:

आफ्नो परिचय र यस पदमा आउनुका प्रेरणा के हो?

अब यो परिचय भन्दा त ,मैले मेरो परिचय दिइरहनु पर्छ जस्तो लाग्दैन। म छत्रपति सुवेदी नै हुँ। म यस ठाउँमा आएको २०२६ सालमा नै हो।बीचमा १० वर्ष ताप्लेजुङमा बसे।त्यसपछि २०४३ सालदेखि कोहवरा गाविस तत्कालीन र अहिले गौरादह - ५ जहाँ मेरो घर छ , त्यही बसोबास गरेको छु।परिचयको रुपमा यतिनै भन्दा काफी हुन्छ होला। सामाजिक क्षेत्रमा काम गरेको छु।राजनीतिमा आउने प्रेरणा त लगभग १५/१६ वर्षको उमेरदेखि नै राजनीतिक र सामाजिक क्षेत्रमा बढी चासो राख्ने व्यक्ति।पहिला व्यापार पनि गर्थे।सामान्य कपडा व्यापार गर्थे। त्यसपछि समुदायसँग पहिला व्यापारिक सम्बन्ध सुरुमा जोडियो।तर,पनि रुचि सामाजिक क्षेत्रमा बढ्यो।मैले सामाजिक क्षेत्र मै काम गरे।२०४६ पछाडिको पिरियडमा पार्टीमा आबद्ध भए।नेकपा एमालेमा आबद्ध भए।नेकपा एमालेको विभिन्न तह र तप्कामा बस्दै बस्दै काम गरेपछि मान्छेको आकांक्षा हुन्छ । सामाजिक क्षेत्रमा काम गर्ने प्लेट फर्म खोज्छ।यो प्लेट फर्म खोज्दै खोज्दै म नगर प्रमुख ।
गौरादह नगरपालिकाको विकासको लागि तपाईंको मुख्य प्रथामिकता के हुन्?

विकासको प्राथमिकता भन्ने कुरा चाहिँ के हुन्छ भने मैले त निर्वाचनको ताकामा मेरो पार्टीले राखेको प्रतिबद्धता पनि सँगै छ।मुख्य प्राथमिकता ३/४ वटा कुरालाई राख्नु पर्ने हुन्छ। एउटा चाहिँ नभई नहुने कुरा पूर्वाधार नै हो।पूर्वाधार विकास, शिक्षा,स्वास्थ्य अनि कृषि नै हुन्।यी चाहिँ हामीहरुका अति आवश्यक कुराहरू हुन्।त्यसपछि अन्य समस्याहरू नदी नियन्त्रणका समस्या छन्।यी समस्या चाहिँ अलिकति पछाडि किनभने जवसम्म पूर्वाधार अनि शिक्षा र स्वास्थ्यलाई हामीहरूले अगाडि बढाउन सक्दैनौं ,त्यसलाई चाहिँ तवसम्म अरु कुनै पनि गर्छु भन्दा पार लाग्दैन। हाम्रो मुख्य पूर्वाधार भनेको पूर्वाधार,स्वास्थ्य,शिक्षा र कृषि नै हो।
अहिलेको समयमा मुख्य चुनौतीहरू के-के हुन्?
हालको चुनौती भनेकै आर्थिक स्रोतको कमी नै हो।आन्तरिक राजश्व असुली गर्ने अपेक्षा गरिएको छ ।आन्तरिक स्रोत कम छ।परनिर्भरतामा भर पर्नु परेको छ।जम्मै हिसाव गर्ने हो भने आन्तरिक स्रोत ५ करोड पनि पुग्दैन । यसले प्रशासनिक क्षेत्रमा खर्च गर्नु परेको छ।नेपाल सरकार ,प्रदेश सरकारको समपुरक बजेटले पूर्वाधारको विकासको काम गर्नु परेको छ।तर,पनि दातृ संघ संस्थासंग पहल गरी प्राप्त अनुदान रकम र अन्य रकमको प्रत्येक वडामा समानुपातिक वितरणको व्यवस्था मिलाइएको छ। प्राकृतिक विपत्तिहरूलाई सामना गर्नु मुख्य चुनौती हो।यसलाई दीगो योजनाका साथ स्थानीय जनसहभागिता र सरकारको सहयोगबाट समाधान गर्न खोजिएको छ।
नदी कटान एउटा जटिल समस्या बन्दै गएकोले गौरादह ६ को कोहबरा नजिक रतुवा नदिकटान रोक्न ५ किमी नदी तट बन्धनको काम सम्पन्न गरिएको छ।यसलाई नेपाल सरकार,प्रदेश,दातृ संस्था र एडीबी को आर्थिक सहयोग मिलेको छ। आपतकालीन अवस्थाको लागि बास पाइम लगाउने व्यवस्था गरिएको छ।

यातायात व्यवस्था गर्न कस्ता योजना छन्?
यातायात व्यवस्थाका लागि त त्यही हो, अब लामा दुरीका सडकहरुलाई हामीले १/२ वर्षमा लगभग लगभग सम्पन्न गर्ने छौ।लामा दुरीका भन्नाले पश्चिम तर्फ सितापुरी - रंगपुर,दामुना - डाकुपाडासम्म पर्ने सडक,वडा नं ४/५ सकुलचौन डोरामारी बनियाटोली सडक, त्यस्तै वडा नं ४ रंगपुर देखि मिलनचोक हुँदै फत्तेपुर सम्म पुग्ने,वडा नं ३ बाट सुरुवात खरेल डाँडा गौरीगञ्ज़ सडक,वडा नं १ बाट सुरु अर्जुनदेव राईको घरबाट सुरु दहीचोकदेखि पूर्व सडक ,गौरादह बजार हुँदै हिमालचोक ठकठके हुँदै ठेकिटोला दन्तकाली हुँदै तल कोरोबारीको बगाह चौधरीसम्म पुग्ने सडक,गौरादह डिपूचाेकदेखि कृष्णी सोलमारी हुँदै बैगुन्धुरा,तुलाचन पुग्ने सडक,यी सडकहरुलाई हामीहरूले लगभग लगभग २ वर्ष भित्रमा अन्तिम बिन्दुमा पुर्याउने प्रयत्नमा छौं।र, पुग्छ पनि आत्म विश्वास छ ।बाँकी त्यस्ता सडकहरूमा कोहवरा , ग्वालडूब्बा महाभारा सडक आगामी वर्षसम्ममा बैगुन्धुरादेखि अहिले कोहवरा साविक कृष्णी खोलाको पश्चिमपट्टि भागसम्मको भाग समाप्त भइसक्यो। बैगुन्धुराको भाग बाँकी छ।आगामी वर्ष सम्पन्न हुने गरी बजेट विनियोजन भैसकेको छ। गुराँस चोक,चप्रामारी,झुनामारी सडक,देविमार्ग रतनचौन सडक,मैदानघोपादेखि रामपुरे सडक भए ।यी सडकाहरुलाई पनि सडकमा रुपान्तरण गरिसकेपछि सामान्य विद्यालय बसहरू, अटो रिक्सा,भाडाका ती अहिले प्रसस्त रुपमा पाउने सिटी रिक्सा,सामान्यता हायास गाडिहरु भए,भेनहरु,म्याजिक गाडिहरु पनि सञ्चालनमा आउँछन्।दमकको चिया दोकान, बलुबाथान, सेतुमारी, चैतुचोक हुँदै डिठ्ठा चोक जाने सडकलाई पनि निरन्तरता दिएका छौं।यसपाली १ नं वडा,४ नं र ५ नं अदालती मुद्दा फिर्ता नभएकाले काम रोकिएको छ। यातायातको क्षेत्रमा कहीं जानु पर्यो भन्दाखेरि रोकिने अवस्था छैन।यातायात त सडक भएपछि आफै फर्केर आइहाल्छन्।
शिक्षाका क्षेत्रमा के नयाँ पहलहरू लिइएको छ?
शिक्षा क्षेत्रमा हामीले केही परिवर्तन ल्याउने कोशिश गरेका छौं। त्यसमा विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रियालाई हामीले अलिकति परिमार्जन गरेर नगर शिक्षा ऐन लागू गरेका छौं।नगर शिक्षा समिति गठन गरेका छौं।यसले काम गरिराखेको छ। विद्यालयको कक्षा कोठाहरू निर्माण गर्ने काम अहिलेसम्म म नगर प्रमुख भईकन जम्मा ९ वटा विद्यालयका विद्यालयमा भवन बनाइएको छ। जम्मा कोठाको हिसाव गर्दाखेरि ४५ कोठा जति चाहिँ हामीले कक्षा कोठाहरू बनाई सकेका छौं।आगामी वर्ष ७ वटा विद्यालयलाई फेरि अरु अरु भवन बनाउँछौं।कक्षा ५ र ८ को परीक्षा नगर स्तरिय परीक्षा लिने गरेकाछौ।प्राध्यापकहरू प्रस्तावको आधारमा नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाएकाछौं । शिक्षाको गुणस्तर रुपमा अनुगमन गर्ने र विभिन्न तालिमहरु विभिन्न संघ संस्थासंग मिलेर बालकक्षालाई सुधार गर्ने कार्यक्रमको पनि हामीले नीति अगाडि बनाएकाछौं।
स्वास्थ्य क्षेत्रमा के काम हुँदैछ?
स्वास्थ्य क्षेत्रमा हामीहरूको पछिल्लो प्राथमिकता जो राखेको थियो,नगर अस्पताल गर्ने।म निर्वाचित भएको २ महिना पछाडि देखि थाल्ने भनेर पछि ४ महिना पछाडि सुरु भाको।अहिले नगर अस्पताललको भवन बनाउने क्रममा छौं।र,सेवा चाहिँ हामीले विस्तार गरेका छौं। नगर अस्पतालले दिनु पर्ने सेवा जति सेवा दिन थालेको छ।विशेषज्ञ सेवा,ल्याब सेवा,फार्मेसी,एक्स रे , भिडियो एक्सरे सेवा छ।सुत्केरी हुने पलापिड सेवा छ। ग्रामीण क्षेत्र नगरपालिका भएकोले यो क्षेत्रको पश्चिमी झापाको पश्चिम क्षेत्रमा दमकमा पाउने सुविधाहरु अब हामीहरूले गौरादह नगरपालिका भित्र उपलब्ध गरेका छौं।
सरसफाइ क्षेत्रमा के-कस्ता काम सञ्चालनमा आएका छन्?
सरसफाइ सम्बन्धमा चाहिँ विशेष गरेर फोहोर मैला व्यवस्थापनको लागि चुनौती पनि छ।हामीसँग डम्पिङ साइड छैन।यसले गर्दाखेरि हामीहरूले पहिला चाहिँ एउटा कम्पनीलाई ठेक्का दिएका थियौ।डम्पिङ साइड हामीले उपलब्ध गराउने, उपलब्ध गराएर त्यहा जेसिवि लगेर व्यवस्थापन गर्ने।हामीसँग प्रयाप्त मात्रामा भयो , काम गराइ पनि त्यो कम्पनीको सन्तोष जनक रहेन।त्यसैले हामीहरूले वार्ता गर्यौ ।कागजी प्रतिबद्धता सहमतिले त्यो ठेक्कालाई तोडी दियौ। तोडेर अहिले फेरि नयाँ सोचका साथ हामीले फेरि ठेक्का आह्वान गर्यौ ।सरसफाइको लागि अब पुरै कम्पनीले पालिकादेखि बाहिर लगेर डम्पिङ गर्नुपर्ने, डम्पिङको व्यवस्था आफै गर्नुपर्ने शर्त गरेर अहिले कम्पनीहरुमा कम्पनी छनोट भईसकेको छ। सम्झौता हुन बाँकी होला।अब हाम्रो त्यो सरसफाइ कम्पनीसँग सम्झौता भइसकेपछि कुनले पाको छ, पाउनेले इबिडिङबाट गरेको ठेक्का हो । त्यो कार्य सुरु गर्छ ।कार्य सुरु गरेपछि हामीहरूको पहिला हप्ताको २ पटक उठाउथ्यो भने फोहोरलाई अब ३ पटक उठाउनु पर्छ, हप्तामा।
सरसफाइ गर्दा पहिला हाम्रै कर्मचारी दिएका थियौ । अब उसैले आफ्नै कर्मचारी राख्नु पर्छ। डम्पिङ उसले गौरादहको एरियाभित्र गर्न पाउँदैन।बाहिर कहाँ लगेर गर्ने भन्ने उसले सुनिश्चित हामीलाई पेस्नु पर्छ।लाने ठाउँको डम्पिङ गर्ने पालिकाको स्वीकृति पत्र सहित आएपछि मात्र हामीले सम्झौता गर्नेछौं।
साथ साथै सार्वजनिक शौचालयहरु बनाउने क्रममा यो वर्ष डिपूमा एउटा चाहिँ शौचालय राखेका थियौं। त्यहाँको बासिन्दाहरुले त्यसलाई चाहिँ रुचाउनु भएन ।त्यहाँबाट हटाउन लगाउनु भयो।बरु त्यहाको साथीहरुले हामी निजी शौचालय प्रयोग गर्न दिन्छौं भनी प्रयोग गर्न दिनु भयो ।त्यसैलाई हामीले सरसफाइ गरेर निजी शौचालय सार्वजनिक रुपमा प्रयोग गरेको शौचालय स्थानिय देवी दाहाल र सुमन गिरीले दिनुभएको छ।
बजारमा शौचालय निर्माण यसपालिदेखि प्रदेश सरकारको सहयोगमा हुन्छ। साढे ३७ लाख स्वीकृति गरेकाछौ।त्यसैगरी विभिन्न ठाउँमा सार्वजनिक शौचालय राख्ने।
कृषिमा के कस्ता कार्यक्रमहरु सञ्चालन गरिएको छ?
कृषिको क्षेत्रमा अहिले हामीले यान्त्रिकरण विशेष गरेर गह्रा सुधार र यान्त्रिकरणलाई जोड दिएकाछौं।गह्रा सुधार गर्नु तात्पर्य भनेको चाहिँ हामीले जति ठूला गह्रा बनाउँछौ त्यतिको लागत कम हुन्छ।लागत कम बनाएपछि उत्पादन वृद्धि हुन्छ।उत्पादन वृद्धि भनेपछि आलीले खाने भागमा पनि उत्पादन हुन्छ।त्यतापट्टि हाम्रो ध्यान गएको छ।आगामी वर्ष पनि तेश्रो वर्ष निरन्तर छ।यान्त्रिकरण तर्फ पनि हामीले साना यन्त्रहरू पावर टेलर वितरण गरेर अनुदानमा दिएका छौं ।सिँचाइको लागि बोरिङ मोटर ८५ % अनुदानमा वितरण गरेका छौं। वर्षेनी एक सय डेड सय/ एक सय डेड सयका दरले चाहिँ मोटर बोरिङ वितरण गरिरहेका छौं।
पशुपालन क्षेत्रमा दाना बनाउने मेसिन,कुटी काट्ने मेसिन गोठको सुधार काउ प्याड वितरण गर्दै गर्दै अब कृषि क्षेत्रमा अलिक उत्पादनलाई सुरक्षित राख्नका लागि तरकारीहरू,बीउ विजन राख्न कोल्ड स्टोर निर्माण गरेका छौं। यो वर्ष ७ वटा कोल्ड स्टोर स्थापना गरेका छौं।एउटा कोल्ड स्टोरको क्षमता २०/२२ टन हुन्छ। २२ टन क्षमता भएका ७ वटा कोल्ड स्टोर राख्ने।४ वटा सहकारीसंग समन्वय गरेर सहकारीलाई ८५ प्रतिशत अनुदान दिएर सञ्चान गर्नेछौं ।३ वटा चाहिँ नगरपालिकाले आफै सञ्चालन गर्ने गरी कृषि बजारमा रहेको २ नं वडामा पनि निर्माण गर्ने छौ।त्यसमा चाहिँ कृषकहरूले उत्पादन गरेको तरकारीहरू स्टोर गरेर १/२ महिना राख्न सक्ने भए।त्यसमा भाडा त उनीहरूले तिर्नु पर्ने हुन्छ। पछि बजारमा मूल्य वृद्धि भएको बेला बेच्दा सहकारीले पनि आफ्नो माल,बीउ राख्न सक्ने भए।
दिगो आर्थिक स्रोतहरू के हुन?
दिगो आर्थिक श्रोत भनेर त हामीहरूको जस्तो ठाउँमा, हामीहरूको जस्तो पालिकामा, हामीसँग व्यसायहरु जवसम्म वृद्धि हुँदैनन् ,व्यवसायहरू।सम्पति कर,मालपोत कर,व्यवसायी कर,भूमि कर,पर्यटनको क्षेत्रमा हामीहरूको विकास गर्न सकेका छैनौं।पर्यटन विकासको लागि हामीले २/३ वर्षलाई क्षेत्र तोकेका छौं।एउटा गौरादह पोखरी बृहत रुपमा सौन्दर्यकरण गरि एउटा आकर्षण बनाउने छौं। यो योजना केन्द्रिय,प्रदेश सरकारको सहयोगमा आगाडी बढेको छ। र,आगामी वर्षमा अब ३ वर्षलाई श्रोत सुनिश्चिता पनि भइसकेको छ।त्यसको डिपिआर सम्मको काम अनुसार काम तेश्रो वर्षसम्ममा सक्छौं।यो वर्षको ४ करोड ५ लाख रकम विनियोजन भएर आएकोछ।प्रदेश पर्यटन कार्यालयले त्यसलाई कार्यान्वन गर्छ।श्रोत ल्याउने कुरामा चाहिँ हाम्रो पहल कदमी र लबिङ केन्द्रिय सरकारले प्रदेश समपुरक आयोजनामा हालेको हुँदा २७ करोड बराबरको श्रोत सुनिश्चिता भैसकेकोछ।आगामी वर्ष ,३ वर्ष त्यसले केही मात्रामा हो। त्यहाँबाट लिने भनेको पर्यटकहरु आएर आउने सामान्य कर मात्र हो।त्यसको साथ साथै अरु ठाउँमा पनि बनाउनु पर्छ ।१ को टिकघारी सार्वजनिक ठाउँ।त्यो सार्वजनिक ठाउँ एउटा राम्रो पार्क बनाउन खुल्ला पार्क बनाएर त्यहाँ पनि आन्तरिक पर्यटक भित्र्याएर पनि त्यहींबाट आयआर्जन हुनसक्छ।अब वैदेशिक भन्दा बाहिर, आन्तरिक बाह्य पर्यटकलाई आकर्षक गर्नका लागी वडा नं ७ दुधाली र आदिबासी,राजवंशी,ताजपुरिया,सतार,धिमालहरूको सँस्कृति झल्कने एउटा संग्रालय पनि बनाउन र यसको लागि नेपाल सरकार पर्यटन मन्त्रालयले एक वर्षलाई गौरादह पोखरीको वरिपरि भने टिकघारी पार्कलाई ३ करोड रुपैयाँ ,आदिबासी संग्रालयको लागि ३ करोड रुपियाँ,आदिबासीहरुको महाराज थान त्यसलाई पनि ३ करोड रुपैयाँ,७ नं कै नानाचन मन्दिर त्यसलाई पनि ३ करोड रुपैयाँ,गौरी गंगाघाट भन्ने एउटा राम्रो घाट त्यहा पनि बनाउन पार्क सहितको घाट निर्माण ३ करोड रुपैयाँ,एउटा बौद्ध गुम्बा बनाउन ३ करोड रुपैयाँ विनियोजन भएको छ।यस्ता संरचनाहरु निर्माण गर्दैछौं।यी संरचनालाई आकर्षक गर्दै बाह्य तथा आन्तरिक पर्यटकलाई भित्र्याएर आर्थिक सङ्कलन गर्ने ठाउँ।
आगामी वर्षका प्रमुख योजना के-के हुन्?
आगामी योजना भन्नाले तिनै हुन।यिनै समग्र योजनालाई पार लाउने।२०८४ पछि गौरादहमा एक प्रकारको चाहिँ परिवर्तन नै ल्याउने योजना हो। २०८४ भन्दा अगाडि नै परिवर्तन हो, हाम्रो।
स्थानीय बासिन्दा र साना व्यवसायीहरूलाई के सन्देश दिनु हुन्छ ?
अब स्थानिय बासीलाई त महिले पहिलेदेखि नै भनेको छ।तपाईंहरु आत्तिनु पर्दैन।गौरादह नगरपालिका नगरवासीले काम भएन भन्दै आत्तिनु पर्दैन। गौरादह नगरपालिका पारदर्शी छ।भ्रष्टाचार छैन।काम केही भएन भन्ने केही स्टनबाजी गर्नेहरू पछि नलाग्नुहोस।केही भएको छैन भन्छन् ।काम भइरहेको छ।हामी समस्त गौरादह बासीलाई शिर झुक्न दिने छैनौं।जनतालाई कर बढाएर ढाड सेक्यो भन्ने आरोप लगाउँछन्।त्यस्तो छैन।तपाईंहरू पनि विश्वास गर्नुहोस्।त्यो विश्वासलाई हामी मर्न दिदैनौं। तपाईहरुको विश्वासलाई हामी विश्वासघात गर्दैनौ।मैले भन्नु त्यति नै हो।
व्यक्तिगत जीवन र रुचिहरू के-के हुन्?
त्यसमा चाहिँ त कस्तो हो भने मेरो व्यक्तिगत रुचि केही छैन।म त सामाजिक मान्छे । म लगभग ७० वर्षको दौडानमा आइसके।म अहिलेसम्म सामाजिक क्षेत्रमा रमाउने हो।मलाई सामाजिक क्षेत्रमा काम गर्न पाइन भने चाहिँ निरास पनि लाग्छ। मेरो रुची नै सामाजिक क्षेत्र हो।समग्रमा सामाजिक विकासको लागि के गर्नु छ भन्ने चिन्ता गर्ने र त्यही सोच्ने गर्दछु।
प्रतिक्रिया