जेष्ठ ३१ २०८३, आइतबार

गौरादह उद्योग वाणिज्य संघको पदहस्तान्तरण

Ads

 

गौरादह, ३० जेठ, २०८३ ।
एक दशकको यात्रा पूरा गरेको गौरादह उद्योग वाणिज्य संघले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै संस्थागत विकासको अर्को चरणमा प्रवेश गरेको छ। शनिबार आयोजित विशेष समारोहबीच नवनिर्वाचित कार्यसमितिको शपथग्रहण, पदस्थापन तथा सामुदायिक सभाहल उद्घाटन सम्पन्न गरिएको हो।
पछिल्ला दुई कार्यकाल नेतृत्व सम्हालेका निवर्तमान अध्यक्ष जीतबहादुर कार्कीले औपचारिक रूपमा अध्यक्ष ईश्वरकुमार खत्री नेतृत्वको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेका छन्। कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिँदै आगामी कार्यकालका लागि कार्यभार सम्हाले।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष ईश्वरकुमार खत्रीले व्यवसायीहरूको हकहित संरक्षण, स्थानीय व्यापार प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण तथा संस्थाको दीर्घकालीन विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विगत नेतृत्वले निर्माण गरेको संस्थागत आधारलाई थप विस्तार गर्दै गौरादह उद्योग वाणिज्य संघलाई अझ प्रभावकारी र व्यवसायीमैत्री बनाउने बताए।
निवर्तमान अध्यक्ष कार्कीले आफ्नो कार्यकालमा संघलाई बलियो संस्थाका रूपमा स्थापित गर्न सबैको साथ र सहयोग प्राप्त भएको उल्लेख गर्दै नयाँ नेतृत्वले त्यसलाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। मन्तव्यका क्रममा उनी भावुक समेत देखिएका थिए।
कार्यक्रममा नव–निर्मित ‘गौरादह सामुदायिक सभाहल’ को उद्घाटन तथा सभाहल निर्माणमा सहयोग गर्ने दाताहरूको शिलालेख अनावरण गरिएको थियो। संघले स्थापना कालमा गौरादह–१ को निलगिरी कोलोनीबाट सुरु गरेको यात्रा अहिले आफ्नै संरचना र सुविधासम्पन्न पूर्वाधारसम्म पुगेको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गौरादह क्षेत्रको विकासमा प्रदेश सरकारको प्राथमिकता रहने उल्लेख गर्दै गौरादह पोखरीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न आगामी वर्ष पनि बजेट विनियोजन हुने बताए।
गौरादह नगर प्रमुख छत्रपति सुवेदीले व्यवसायीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिकामा कर सूचना केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए।
त्यस अवसरमा २०८२ सालको एसईई परीक्षामा ४.० जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको थियो।
नयाँ नेतृत्वको पदस्थापनसँगै गौरादह उद्योग वाणिज्य संघले आगामी दिनमा व्यवसायीको हकहित, स्थानीय आर्थिक विकास र संस्थागत विस्तारलाई केन्द्रमा राखेर अघि बढ्ने अपेक्षा गरिएको छ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार