गौरादहको इतिहासले कहिल्यै बिर्सन नसक्ने पात्र : रोहितकुमार साह
सान नेपाल
के तपाईंको मनमा अझै पनि गौरादह नगरपालिकाका प्रथम नगरप्रमुख रोहितकुमार साह हुनुहुन्छ?
इतिहास केवल ठूला भवन, फराकिला सडक र भौतिक संरचनाले मात्र बन्दैन। इतिहास निर्माण गर्ने मानिसका सोच, व्यवहार, इमानदारी र नेतृत्वले पनि समाजको स्मृतिमा अमिट छाप छाडेका हुन्छन्। गौरादह नगरपालिकाको इतिहासमा यस्तै एउटा नाम हो - रोहितकुमार साह।
गौरादह नगरपालिका घोषणा भएपछि पहिलो नगरप्रमुखका रूपमा जिम्मेवारी सम्हाल्नु वहाँका लागि केवल एउटा पद प्राप्त गर्नु मात्रै थिएन, बरु अभाव, अन्योल र चुनौतीका बीच एउटा नयाँ स्थानीय सरकारको जग बसाल्नु पनि थियो। नगरपालिका घोषणा भइसकेको थियो, नागरिकका अपेक्षा बढेका थिए, तर ती अपेक्षा पूरा गर्ने आवश्यक संरचना र स्रोतसाधन पर्याप्त थिएनन्।
नगरपालिका सञ्चालनका लागि आवश्यक कर्मचारीको अभाव थियो। स्थानीय सरकारलाई व्यवस्थित रूपमा अघि बढाउने ऐन, कानुन र कार्यविधिको कमी थियो। अर्कोतर्फ नागरिकका आकांक्षा भने असाध्यै धेरै थिए। सडक थिएनन्, कल्भर्टको अभाव थियो, खानेपानी र विद्युत् विस्तारका समस्या जताततै थिए। सामुदायीक विद्यालयहरु विद्यालय जस्ता थिएनन् । आधारभूत पूर्वाधार नै अपूर्ण रहेको अवस्थामा नगरपालिकाको नेतृत्व सम्हाल्नु आफैँमा कठिन जिम्मेवारी थियो।
यही कठिन समयबाट गौरादहको स्थानीय सरकारको संस्थागत यात्रा सुरु भएको थियो। पहिलो नगरप्रमुखका रूपमा साहले नयाँ संरचना निर्माण गर्ने, नागरिकका अपेक्षा सम्बोधन गर्ने र स्थानीय सरकारप्रति विश्वास स्थापित गर्ने जिम्मेवारी एकैसाथ बहन गर्नुपरेको थियो।
पाँच वर्षको कार्यकालमा उनको व्यक्तित्वको चर्चा गर्दा सबैभन्दा पहिले आउने पक्ष हो - वहाँको सरलता र व्यवहार। धैर्यता, इमानदारी, नैतिकता, विनम्रता र मिलनसार स्वभाव उनका परिचयका रूपमा स्मरण गरिन्छन्। नगरप्रमुखजस्तो जिम्मेवार पदमा रहेर पनि वहाँको जीवनशैली साधारण नै रह्यो। बोलीवचनमा मिठास, व्यवहारमा नम्रता र सबैसँग सहज रूपमा घुलमिल हुन सक्ने स्वभाव वहाँमा विशेषता थियो।
दोश्रो पटक पनि वहाँले नगर प्रमुखको उम्मेद्वारी दिनु भएको हो तर वहाँ विजयी हुन सक्नु भएन । अहिले पनि नागरिकहरु वहाँ सँग भेट गरि नै रहेका हुन्छन् । नगर प्रमुख पदीय भूमिकामा हो वा कुनै जननिर्वाचित प्रतिनिधि नै किन नहुन्, उनीहरु सदैब समाज रुपान्तरणको साधन बनि नै रहेका हुन्छन् । पात्र फेरिएलान्, प्रवृत्ति फेरिएलान्, जनप्रतिनिधिहरु पूर्व बन्लान् तर पनि वहाँहरुको ज्ञान, अनुभव र योगदानको कदर सदैव हुनुपर्छ ।
राजनीतिमा पद प्राप्त गर्नु ठूलो कुरा होइन, पदमा रहँदा आफ्नो आचरण र नैतिकता जोगाइराख्नु ठूलो कुरा हो। सार्वजनिक जीवनमा आरोप, विवाद र आलोचना सामान्यजस्तै बन्न थालेको वर्तमान समयमा पाँचवर्षे कार्यकालमा कुनै गम्भीर नैतिक दाग नलागेको उनको छविलाई धेरैले सकारात्मक रूपमा स्मरण गर्छन्। उनको जीवनशैलीमा देखिने सादगी र व्यवहारमा देखिने विनम्रतालाई कतिपयले महात्मा गान्धीको सरल जीवनशैलीसँग समेत तुलना गर्ने गरेका छन्।
यसको अर्थ उनको कार्यकालमा सबै समस्या समाधान भए वा विकासका सबै अपेक्षा पूरा भए भन्ने होइन। कुनै पनि स्थानीय सरकारको पहिलो कार्यकालमा सीमित स्रोत, संरचनागत कमजोरी र बढ्दो जनअपेक्षाका बीच काम गर्नु सहज हुँदैन। तर नेतृत्वको मूल्याङ्कन गर्दा उसले छोडेर गएको भौतिक संरचनासँगै संस्थागत जग, व्यवहार र सार्वजनिक छविलाई पनि हेर्नुपर्ने हुन्छ।
आज गौरादह नगरपालिका विस्तारै अघि बढिरहेको छ। नयाँ नेतृत्व आएका छन्, विकासका नयाँ योजना थपिएका छन् र नागरिकका अपेक्षा पनि फेरिएका छन्। तर नगरपालिकाको संस्थागत यात्राको सुरुवात गर्ने पहिलो नेतृत्वलाई स्मरण गर्नु गौरादहको इतिहासप्रतिको सम्मान पनि हो।
समयसँगै पदाधिकारी फेरिन्छन्, राजनीतिक समीकरण बदलिन्छन् र विकासका प्राथमिकता पनि परिवर्तन हुन्छन्। तर सरलता, इमानदारी र सार्वजनिक जीवनको मर्यादा जस्ता गुणले मानिसलाई पदबाट बाहिरिएपछि पनि नागरिकको सम्झनामा जीवित राख्छन्।
रोहितकुमार साह आज नगरप्रमुख छैनन्। तर गौरादह नगरपालिकाको पहिलो नगरप्रमुखका रूपमा उनले सम्हालेको जिम्मेवारी र उनको व्यक्तित्वको स्मृति गौरादहको राजनीतिक तथा सामाजिक इतिहासको एउटा अध्याय बनेको छ।
विकासका संरचना समयसँगै फेरिन सक्छन्, सडक र भवन पुराना हुन सक्छन्, तर नेतृत्वले छोडेको असल व्यवहार र नैतिकताको छाप लामो समयसम्म रहिरहन्छ।
के तपाईंको मनमा पनि गौरादहका प्रथम नगरप्रमुख रोहितकुमार साह हुनुहुन्छ? वहाँको नेतृत्वकालका कुन पक्षले तपाईंलाई सबैभन्दा बढी प्रभावित गरेको छ?
प्रतिक्रिया