अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटको ऐतिहासिक जित, ट्रम्पलाई ठूलो धक्का
वासिङ्टन डीसी । अमेरिकी मध्यावधि निर्वाचनमा विपक्षी डेमोक्र्याटिक पार्टीले संसद्का दुवै सदनमा बहुमत हासिल गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठूलो राजनीतिक धक्का दिएको छ।
राष्ट्रपति निर्वाचनमा ट्रम्पले विजय हासिल गरेको दुई वर्षमै आएको यो परिणामलाई उनको प्रशासनका नीति र कार्यशैलीप्रतिको जनअसन्तुष्टिका रूपमा हेरिएको छ।
४३५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि २१८ सिट आवश्यक पर्नेमा डेमोक्र्याटहरूले २३८ सिट जितेका छन्। रिपब्लिकन पार्टी भने १४७ सिटमा सीमित भएको छ। यससँगै डेमोक्र्याट नेता हकिम जेफ्रिज नयाँ सभामुख बन्ने बाटो खुलेको छ।
त्यस्तै, १०० सदस्यीय सिनेटमा पनि डेमोक्र्याटहरूले ५४ सिटसहित बहुमत कायम गरेका छन्। यसअघि बहुमतमा रहेको रिपब्लिकन पार्टी ४४ सिटमा खुम्चिएको छ।
यसपटक डेमोक्र्याटहरूले टेक्सस र कान्सासजस्ता परम्परागत रिपब्लिकन प्रभाव रहेका राज्यमा समेत सफलता हासिल गरेको विवरण सार्वजनिक भएका छन्। यसलाई अमेरिकी राजनीतिमा उल्लेखनीय शक्ति परिवर्तनका रूपमा हेरिएको छ।
चुनावी परिणामपछि राष्ट्रपति ट्रम्पले फक्स न्युजसँगको कुराकानीमा डेमोक्र्याट उम्मेदवारहरूले राम्रो प्रदर्शन गरेको स्वीकार गरेका छन्। उनले अध्यागमनलगायत साझा मुद्दामा संसद्को नयाँ नेतृत्वसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।
संसद्का दुवै सदन विपक्षीको नियन्त्रणमा पुगेपछि अब ट्रम्प प्रशासनलाई बजेट, कानुन निर्माण र विभिन्न नीतिगत कार्यक्रम अघि बढाउन चुनौती थपिनेछ। राष्ट्रपतिका निर्णयमाथि संसदीय निगरानी र राजनीतिक दबाबसमेत बढ्ने देखिन्छ।
यद्यपि निर्वाचन परिणामले ट्रम्पको राष्ट्रपतीय पद समाप्त गरेको छैन। उनी कार्यकाल पूरा नहुँदासम्म राष्ट्रपति रहनेछन्। तर संसद्मा बदलिएको शक्ति सन्तुलनले आगामी दुई वर्ष उनको प्रशासनका लागि राजनीतिक रूपमा चुनौतीपूर्ण हुने संकेत गरेको छ। 
प्रतिक्रिया