भदौ २४ २०८३, बुधवार

क्यानडा–अमेरिका व्यापार तनाव बढ्यो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसँगको व्यापार विवाद चर्किँदै गएपछि क्यानडाले अमेरिकाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर बराबरका सामानमा १५ देखि ५० प्रतिशतसम्म प्रतिशोधात्मक शुल्क लागू गरेको छ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी शुल्कको जवाफ दिन प्रतिशोधात्मक कर आवश्यक भएको बताएका छन्। उनले अमेरिकी बजारमाथिको निर्भरता घटाउँदै अन्य अन्तर्राष्ट्रिय बजारतर्फ व्यापार विस्तार गर्ने संकेतसमेत दिएका छन्।

क्यानडाको नयाँ शुल्कअन्तर्गत स्टिल, आल्मुनियम, चीज, घरेलु उपकरण, कपडा, कस्मेटिक्स, कृषि उपकरण तथा इलेक्ट्रोनिक्सलगायत अमेरिकी सामान प्रभावित हुनेछन्। करका दर वस्तुअनुसार १५, २५ र ५० प्रतिशतसम्म छन्।

अमेरिकाले यसअघि क्यानडाबाट आयात हुने केही वस्तुमा ५० प्रतिशतसम्म शुल्क लगाएपछि ओटावाले त्यसको जवाफमा नयाँ कर लागू गरेको हो। दुई देशबीचको व्यापार वार्ता अगस्ट २१ मा निष्कर्षविहीन भएपछि तनाव थप बढेको हो।

व्यापार विवाद बढ्दै जाँदा उत्तर अमेरिकाको प्रमुख व्यापार सम्झौता USMCA को भविष्यबारे समेत चिन्ता बढेको छ। अमेरिका र क्यानडाबीचको व्यापार तनावले दुई देशका उद्योग, उपभोक्ता र लगानीमा थप दबाब पार्न सक्ने विश्लेषण गरिएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडाको विमान निर्माता कम्पनी बम्बार्डियरका विमानलाई अमेरिकामा बिक्री गर्न रोक लगाउने चेतावनीसमेत दिएका छन्। यसले व्यापार विवाद अझ गहिरिने संकेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार