रसुवा–तिब्बत बाढीबारे चीनको दाबी : ‘आरोपले होइन, सहकार्यले जीवन बचाउँछ’
काठमाडौं । रसुवा–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबारे फैलिएका ‘भ्रामक समाचार’को चिनियाँ दूतावासले खण्डन गरेको छ।
नेपालस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जालमार्फत दुईवटा दाबीलाई ‘फेक न्युज’ भन्दै खण्डन गरेको हो। दूतावासले ‘आरोपले केही सहयोग गर्दैन, सहकार्यले जीवन बचाउँछ’ भन्ने सन्देशसमेत दिएको छ।
दूतावासका अनुसार सन् २०२६ अगस्ट २६ को बिहान नेपालतर्फ भूकम्प वा भूकम्पजस्तो हिमनदी भत्किने घटना भएको र त्यसपछि ठूलो मात्रामा बरफ तथा पहिरो खस्दा हिलोसहितको बाढी आएको हो। उक्त घटनाले नेपाल र चीन दुवैतर्फको केरुङ–रसुवागढी सीमा क्षेत्रमा ठूलो क्षति भएको चिनियाँ पक्षको दाबी छ।
चिनियाँ पक्षले नेपाललाई चीनतर्फबाट समयमै पूर्वसूचना नदिइएका कारण ठूलो मानवीय क्षति भएको भन्ने दाबीलाई अस्वीकार गरेको छ। त्यस्तै, चीनतर्फ रहेको भू–प्रकोपजन्य बाँध भत्किएर नेपालमा ठूलो क्षति भएको भन्ने दाबी पनि गलत रहेको दूतावासले जनाएको छ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार सीमा क्षेत्रमा आएको पहिरोमा परी बिहीबार बिहानसम्म ३ जनाको मृत्यु भएको, ५५८ जना बेपत्ता रहेको र दुई स्थानीय बासिन्दाको उद्धार गरिएको थियो। बेपत्तामध्ये २६० जना विदेशी नागरिक रहेको जनाइएको छ।
चिनियाँ पक्षका अनुसार नेपालतर्फबाट आएको पहिरो तथा हिलोको ठूलो प्रवाहले चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत केरुङ काउन्टीको केरुङ पोर्ट क्षेत्रमा समेत क्षति पुर्याएको हो।
नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्राकृतिक विपद्बाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाललाई आवश्यक सहयोग गर्न चीन तयार रहेको बताएका छन्।
एनटीभी वर्ल्डसँगको अन्तर्वार्तामा राजदूत झाङले चीनले घटनाको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको र सम्भव भएसम्म सबै सहयोग तथा सहायता उपलब्ध गराउने बताएका छन्।

उनले नेपालसँग नजिकबाट समन्वय गर्दै विपद्को सामना गर्न एकअर्कालाई सहयोग गरिरहेको उल्लेख गर्दै दुवै देश मिलेर कठिनाइ पार गर्दै प्रभावित क्षेत्रको पुनर्निर्माण गर्न सकिने बताएका छन्।
राजदूत झाङका अनुसार हाल उपलब्ध प्रारम्भिक सूचनाअनुसार नेपालतर्फ भूकम्प भएको र त्यसले हिमपहिरो तथा त्यसपछि ठूलो पहिरो निम्त्याएको हुनसक्छ। तर घटनाको वास्तविक कारणबारे थप वैज्ञानिक अध्ययन आवश्यक रहेको देखिन्छ।
रसुवा–केरुङ सीमा क्षेत्रमा भएको घटनाबारे नेपाल र चीनबीच फरक–फरक दाबी सार्वजनिक भइरहेका बेला विपद्को वास्तविक कारण, पूर्वसूचना तथा सीमापार समन्वयबारे थप तथ्य र वैज्ञानिक अनुसन्धान महत्वपूर्ण बनेको छ।
ग्लोबल टाइम्सको समाचारमा आधारित
प्रतिक्रिया