सिरियाली हवाई अड्डामा इजरायलको ८ पटक हवाई हमला, अमेरिका र टर्कीएद्वारा आलोचना
दमास्कस/अंकारा । इजरायलले सिरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको अबु अल–दुहुर हवाई अड्डामा आठ पटक हवाई हमला गरेको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ। मंगलबार भएको उक्त आक्रमणमा धावनमार्ग र भण्डारणस्थललाई लक्षित गरिएको बताइएको छ।
सिरियाली सरकारी टेलिभिजन एखबारियाले सैन्य स्रोतलाई उद्धृत गर्दै आक्रमण भएको जनाएको हो। छुट्टाछुट्टै सैन्य स्रोत तथा हवाई अड्डा आसपास बस्ने एक सर्वसाधारणका अनुसार आक्रमणबाट मानवीय क्षति भने भएको छैन।
यो आक्रमण मार्चपछि सिरियाली सरकारी संरचनामाथि इजरायलले गरेको पहिलो ठूलो हमला भएको बताइएको छ।
इजरायली आक्रमणप्रति अमेरिकाले समेत असन्तुष्टि जनाएको छ।
टर्कीका लागि अमेरिकी राजदूत तथा सिरिया र इराकका विशेष दूत टम बाराकले सामाजिक सञ्जालमार्फत अबु अल–दुहुर हवाई अड्डामाथिको इजरायली हमला ‘अनावश्यक तनाव वृद्धि’ भएको बताएका छन्।
उनका अनुसार यस्तो सैन्य कारबाहीले क्षेत्रीय स्थिरता कायम गर्न सहयोग गर्दैन।
बाराकले सबै पक्षलाई थप सैन्य घटनाभन्दा संयम र संवादलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
टर्कीले इजरायली आक्रमणको कडा विरोध गरेको छ।
टर्कीको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै इजरायली हमलाले सिरियाको भौगोलिक एकता र क्षेत्रीय अखण्डताको उल्लंघन गरेको जनाएको छ।
टर्कीले अन्तर्राष्ट्रिय समुदायलाई इजरायलको सिरियामाथिको बढ्दो सैन्य कारबाही रोक्न अझ निर्णायक भूमिका खेल्न आह्वान गरेको छ।
टर्की र इजरायलबीच पछिल्लो समय सिरियालाई लिएर तनाव बढिरहेको छ। टर्कीले सिरियाको नयाँ सरकारलाई सहयोग गर्दै आएको छ भने इजरायलले सिरियामा टर्कीको सैन्य उपस्थितिलाई आफ्नो सुरक्षाका लागि जोखिमका रूपमा हेर्दै आएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले भने सिरियामाथिको आक्रमणलाई सुरक्षा कारणसँग जोडेको छ।
कार्यालयका अनुसार सिरिया इजरायलसँग सुरक्षा विषयमा भएको यथास्थिति सम्झौता उल्लंघन गर्ने अवस्थामा पुगेको थियो। विशेषगरी अबु अल–दुहुर हवाई अड्डामा टर्कीका सैनिक तैनाथ गर्ने तयारी भइरहेको इजरायलको दाबी छ।
इजरायलले यसअघि नै सिरियालाई यस्तो तैनाथीले आफ्नो सुरक्षामा खतरा उत्पन्न गर्ने चेतावनी दिएको र सिरियाले त्यसलाई बेवास्ता गरेको नेतन्याहुको कार्यालयले जनाएको छ।
तर टर्कीले भने सिरियाली हवाई अड्डामा आफ्ना सैनिक तैनाथ रहेको वा नरहेको विषयमा स्पष्ट जानकारी दिएको छैन।
सिरियाली विदेशमन्त्री असद अल–शिबानीले इजरायललाई आक्रमण रोक्न आग्रह गरेका छन्।
उनले इजरायलले सिरियासँग आफ्नो सम्बन्ध र नीतिबारे पुनर्विचार गर्नुपर्ने भन्दै सैन्य कारबाहीको सुरक्षा औचित्य नभएको दाबी गरे।
शिबानीका अनुसार सिरियाले इजरायलसँगको समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयास जारी राख्नेछ।
सिरियाका नयाँ शासक अहमद अल–शराआले यसअघि नै इजरायलसँग सुरक्षा सम्झौताका लागि वार्ता भइरहेको बताएका थिए।
सन् २०२४ मा पूर्वराष्ट्रपति बसर अल–असदको सत्ता पतन भएपछि इजरायलले सिरियामा पटक–पटक सैन्य कारबाही गरेको छ।
इजरायलले विशेषगरी दक्षिणी र मध्य सिरियामा सरकारी तथा सैन्य संरचनालाई लक्षित गर्दै आएको छ। असदको शासन अन्त्य भएपछि इजरायलले दक्षिणपश्चिमी सिरियाको केही भूभागसमेत नियन्त्रणमा लिएको र सिरियाली सेनाका भारी हतियार तथा सैन्य उपकरणमाथि व्यापक हमला गरेको थियो।
असद शासनका बेला पनि इजरायलले सिरियामा नियमित हवाई हमला गर्दै आएको थियो। त्यसबेला इजरायलको मुख्य लक्ष्य सिरियामा इरानी प्रभाव र इरानसँग सम्बन्धित सैन्य संरचना कमजोर बनाउनु रहेको बताइन्थ्यो।
अबु अल–दुहुर हवाई अड्डा टर्कीको सीमाबाट करिब ७० किलोमिटर पूर्वमा अवस्थित छ।
सिरियाली गृहयुद्धका क्रममा यो सैन्य क्षेत्र पटक–पटक विभिन्न पक्षको नियन्त्रणमा गएको थियो। सन् २०१३ देखि यो नियमित सैन्य हवाई अड्डाका रूपमा सञ्चालनमा थिएन।
तर सिरियामा सत्ता परिवर्तनपछि नयाँ सुरक्षा संरचना निर्माण भइरहेको अवस्थामा यसको रणनीतिक महत्व पुनः बढेको देखिन्छ।
विशेषगरी सिरियामा टर्कीको बढ्दो सैन्य तथा राजनीतिक प्रभावका कारण इजरायलले त्यहाँको गतिविधिलाई नजिकबाट निगरानी गरिरहेको छ।
मंगलबारको आक्रमण केवल सिरिया र इजरायलबीचको विवादमा सीमित छैन। यसले टर्की र इजरायलबीचको बढ्दो रणनीतिक प्रतिस्पर्धालाई समेत सतहमा ल्याएको छ।
टर्कीले सिरियाको नयाँ सरकारलाई सैन्य तथा कूटनीतिक सहयोग गर्दै आएको छ। उसले सिरियाली सेनाको पुनर्निर्माण, तालिम तथा राज्य संरचना निर्माणमा समेत सहयोग गरिरहेको छ।
इजरायल भने सिरियाको नयाँ नेतृत्वको इस्लामवादी पृष्ठभूमिप्रति शंकित छ। साथै आफ्नो सीमाक्षेत्रमा इस्लामवादी सैन्य उपस्थिति स्वीकार नगर्ने स्पष्ट संकेत उसले दिँदै आएको छ।
गत वर्ष टर्की र इजरायलले सिरियामा दुवै देशका सेनाबीच सम्भावित दुर्घटना रोक्न सम्पर्क संयन्त्र स्थापना गरेका थिए। तर पछिल्लो समय सिरियाको भविष्य र त्यहाँको सैन्य उपस्थितिलाई लिएर दुवै पक्षबीच आरोप–प्रत्यारोप तीव्र हुँदै गएको छ।
सिरियामा १४ वर्ष लामो गृहयुद्धपछि सत्ता परिवर्तन भए पनि देशमा स्थिरता अझै कायम हुन सकेको छैन।
एकातिर नयाँ सिरियाली सरकार आफ्नो सुरक्षा संरचना पुनर्निर्माण गर्ने प्रयासमा छ भने अर्कोतिर इजरायल, टर्की र अन्य क्षेत्रीय शक्तिका सुरक्षा स्वार्थ सिरियाभित्रै ठोक्किन थालेका छन्।
अबु अल–दुहुरमा भएको आक्रमणले यही जटिल समीकरणलाई थप गहिरो बनाएको छ।
अमेरिकाले संयम र संवादको पक्षमा आवाज उठाएको छ भने टर्कीले अन्तर्राष्ट्रिय समुदायलाई इजरायलविरुद्ध कडा कदम चाल्न आग्रह गरेको छ। इजरायलले भने आफ्ना कदमलाई राष्ट्रिय सुरक्षाको आवश्यकता भन्दै आएको छ।
यसले सिरियामा नयाँ शक्ति सन्तुलन निर्माण भइरहेका बेला इजरायल–टर्की प्रत्यक्ष तनावको सम्भावना र सिरियाको सार्वभौमसत्तामाथिको विवाद अझ गम्भीर बन्न सक्ने संकेत दिएको छ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया