जयशंकरद्वारा नेपालमा जारी उद्धार प्रयासको समीक्षा, राहत सामग्री पठाउन उच्च प्राथमिकता
काठमाडौं । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि भारतले राहत र उद्धार प्रयासलाई तीव्रता दिएको छ। नेपालमा जारी उद्धार तथा राहत अभियानको अवस्थाबारे भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले उच्चस्तरीय छलफल गर्दै पछिल्लो अवस्थाको समीक्षा गरेका छन्।
जयशंकरले सामाजिक सञ्जालमार्फत बैठकबारे जानकारी दिँदै नेपालमा भइरहेको राहत तथा उद्धार कार्यलाई प्राथमिकताका साथ हेरिरहेको बताएका छन्।
उनका अनुसार काठमाडौं र बेइजिङस्थित भारतीय दूतावासहरूले बाढी प्रभावित क्षेत्रमा रहेका भारतीय नागरिकहरूको अवस्था तथा उनीहरूको सुरक्षाबारे पछिल्लो विवरण प्रस्तुत गरेका छन्।

त्यस्तै, भारतको विदेश मन्त्रालयका सम्बन्धित शाखाहरूले नेपाल पठाउन लागिएको थप राहत सामग्रीबारे जानकारी गराएको जयशंकरले बताएका छन्। नेपालका लागि थप राहत सामग्री पठाउने विषयलाई उच्च प्राथमिकता दिइएको उनको भनाइ छ।
बाढी प्रभावित क्षेत्रमा रहेका भारतीय नागरिकहरूको खोजी तथा उद्धारका लागि भारतले विभिन्न निकायसँग समन्वय गरिरहेको जनाएको छ।
भारतीय विदेश मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा रहेका पर्यटक, तीर्थयात्री तथा विभिन्न जलविद्युत् आयोजनामा कार्यरत भारतीय कर्मचारीहरूको अवस्थाबारे जानकारी संकलन भइरहेको छ।
उनीहरूको उद्धार तथा सुरक्षित स्थानान्तरणका लागि भारतका विभिन्न मन्त्रालय, सम्बन्धित राज्य सरकार, टुर अपरेटर तथा नेपाल सरकारसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
नेपालमा जारी राहत तथा उद्धार प्रयासको समीक्षाका लागि भएको छलफलमा भारतीय विदेश सचिव विक्रम मिस्री, विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवाललगायत वरिष्ठ अधिकारी सहभागी थिए।
त्यस्तै, काठमाडौं र बेइजिङका लागि भारतीय राजदूतहरूको समेत बैठकमा सहभागिता रहेको जनाइएको छ।
रसुवाको भोटेकोशी–ल्हेन्दे क्षेत्रमा आएको विनाशकारी बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि छिमेकी तथा मित्रराष्ट्रबाट सहयोग र ऐक्यबद्धता व्यक्त भइरहेको छ।
यसैबीच, भारतले नेपालमा तत्काल आवश्यक पर्ने राहत सामग्री उपलब्ध गराउने तथा प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिकको खोजी र उद्धारलाई समेत प्राथमिकतामा राखेको जनाएको छ।
प्रतिक्रिया