उहिलेको कुरा: मैन्टोलको सम्झाना WWW.SHANNEPAL.COM
सान नेपाल
२०४४/०४५ सालतिरको नेपाली समाजको कुरा छुट्टै थियोे । गाउँमा बिजुली आउला भन्ने सपना पनि थिएन । मानिसहरु टुकी बालेर अँध्यारो हटाउथे । तर त्यो बेला बिजुलीको गर्जो टार्ने साधन थियो 'मैन्टोल' । अहिलेको जेन जी र अल्फा पुस्तालाई यो कुरा एकादेशको कथा हुन्छ, तर हिजोआज उमेरले ४० माथि पुगेका मानिसहरुलाई मैन्टोलको बारेमा कुरा मात्रै कोट्याउने हो भनें सुरु गरिहाल्छ्न् - आहा त्यो समय छुट्टै थियोे, बिहे होस् वा ब्रतवन्ध, उत्सव होस् वा गाउँमा कुनै सामुहिक कार्यक्रम, उज्यालोको साधन भनेकै मैन्टोल थियोे भन्न थालिहाल्छ्न् । बिहेको जन्ती होस् कि गाउँको जात्रा, भजन–कीर्तन होस् कि रातभरको भोजमट्टितेलको गन्धसँगै मैन्टोल बल्थ्यो, अनि अँध्यारो गाउँ एकाएक उज्यालो बन्थ्यो।बिजुलीको लाइन नपुगेका गाउँमा साँझ पर्नासाथ टुकी वा लालटिन बाल्ने जमाना थियो। नेपालीहरु त्यो बेलाका इन्जिनियर नै थिए । टुकी / बत्ती किन्न बजार जानु पर्दैन थियोे । एउटा सिसाको बोतलको बिर्कोमा सानो प्वाल पार्यो अनि सुती कपडाको सलेतो हालेर बोतलना थोरै मट्टीतेल हालिदिए पछि सलाइ कुरेर फुत्त सल्काउने बित्तिकै अँध्यारोको उपचार भई हाल्ने । मलाई सम्झना छ एस एल सी परीक्षा आउन लागेको थियोे । पढाईमा निकै मेहनत पनि गर्नुपर्ने । झमक्कै रात परेपछि मात्रै थाहा भयो आज मट्टीतेल छैन भनेर । तर चन्द्रकान्ता हिन्दी धारावाहिक हेर्ने भएर होला दिमाग पनि तेज चल्ने । मट्टीतेल नभएर के भयो र पम्पसेट चलाउन भनेर ल्याएको अलिकति डिजेल त छ नी । तर डिजेल त मट्टीतेल जस्तो उज्यालो नै नदिने । थोरै नुन मिसाइदिएपछि केहि न केहि त काम गरि हाल्थ्यो । त्यो बेलाको घरभित्र त जसोतसो ती बत्तीले काम चल्थ्यो। तर गाउँमा ठूलो कार्यक्रम भयो भने ती बत्तीले पुग्दैनथे।बिहेमा जन्ती आयो, रातभर भोज चल्यो, मन्दिरमा कीर्तन बस्यो, जात्रा लाग्यो, नाटक देखाइयो वा गाउँमा ठूलो जमघट भयो भने कसैले सोध्थ्यो
'मैन्टोलको बन्दोबस्त भयो त?' बस्, मैन्टोल आयो भने अँध्यारोको चिन्ता आधा सकियो। मट्टितेल हाल्यो, हावाको दबाब दियो, बत्ती तयार गर्यो अनि जब त्यो सेतो मेन्टल चम्किन थाल्थ्यो नी गाउँभरि झकास उज्यालो फ्याँक्ने ।
खासमा त्यो बेला मैन्टोललाई बत्ती भनिदैन थियो, गाउँको ‘जेनेरेटर’ नै थियो ।
हामीले नेपालमा मैन्टोल, मेन्टल वा पेट्रोम्याक्स अनि जनजिब्रोमा त पेट्रोलमेक्स भनेर चिन्ने बत्ती वास्तवमा सामान्य टुकीभन्दा बिल्कुल फरक प्रविधिको थियो।
‘Petromax’ चाहिँ मूलतः एउटा ब्रान्डको नाम हो। जर्मनीका Max Graetz ले सन् १९१० आसपास मट्टितेललाई दबाब दिएर बाफ बनाउने र मेन्टललाई अत्यन्त चम्किलो बनाउने प्रविधिको बत्ती विकास गरेका थिए भन्ने कुरा ईन्टरनेट तिर चर्चा भेटिन्छ ।
अर्थात् हाम्रो गाउँमा पुगेको त्यो ‘मैन्टोल’ कुनै सामान्य लालटिन थिएन।
भित्र मट्टितेल हुन्थ्यो।
सँगै सानो पम्प।
पम्प चलाएर ट्यांकीमा हावा भरिन्थ्यो।
मट्टितेल दबाबमा माथि जान्थ्यो, तातेर बाफ बन्थ्यो र त्यसबाट निस्किएको ऊर्जाले मेन्टललाई सेतो तातो अवस्थामा चम्काउँथ्यो।
त्यही भएर त्यसको उज्यालो हेर्दा लाग्थ्यो
'ए बाबा! यत्रो उज्यालो पनि मट्टितेलबाट निस्किन्छ?'
बिहेको जन्तीमा मैन्टोलको छुट्टै शान ।
आज बिहेको जन्तीमा गाडीको लस्कर हुन्छ। मोबाइलको टर्च हुन्छ। झिलिमिली बत्ती हुन्छ।
त्यतिबेला भने जन्ती हिँड्दा मैन्टोल पनि जन्तीको एउटा महत्वपूर्ण सदस्य हुन्थ्यो।
पुराना स्मृतिमा राति जन्ती जाँदा निश्चित दूरीमा मैन्टोल बालेर हिँड्ने गरेको उल्लेख भेटिन्छ।
कल्पना गर्नुस् त
अगाडि बाजा बजिरहेको छ।
बीचमा तपाईं दुलाहा।
वरिपरि जन्ती।
अनि अँध्यारो बाटोमा एकपछि अर्को झिलिक्क–झिलिक्क मैन्टोल।
त्यो दृश्य आजको DJ र LED को भन्दा कम आकर्षक कहाँ थियो र? अवश्य थिएन ।
कहिलेकाहीँ त मैन्टोल बोकेर हिँड्ने मान्छेको पनि छुट्टै जिम्मेवारी हुन्थ्यो होला
'बत्ती ननिभोस् है!'
'हल्लाउँदै छ, निभाउने भो मोराले !!'
भोजमा पनि मैन्टोल, भान्सामा पनि मैन्टोल
रातको बिहे भोज सम्झने पुरानो पुस्तालाई मैन्टोलको उज्यालो अझै याद होला।
एकातिर ठूलो भाँडोमा भात पाकिरहेको छ।
अर्कोतिर तरकारी।
कतै मासुको झोल उम्लिरहेको छ।
भोज खाने ठाउँमा मानिसको भीड।
अनि टाउकोमाथि मैन्टोल।
मैन्टोलको उज्यालोमा कसैको थाल चम्किरहेको छ, कसैको गालामा पसिनाको थोपा टल्किरहेको छ।
अनि खाना थप्ने मान्छेको आवाज'भात थपौँ कान्छा ?'
त्यो समय भोजमा ‘सेल्फी’ थिएन, तर सम्झनाका तस्बिर भने धेरै थिए।
कीर्तनमा मैन्टोल बल्दा गाउँ नै जाग्थ्यो
मैन्टोलको सबैभन्दा मिठो कथा शायद भजन–कीर्तनसँग जोडिएको छ।
रात पर्यो।
मन्दिरको आँगनमा मानिस जम्मा भए।
हार्मोनियम खुल्यो। मादल तयार भयो । कसैले घण्टी समात्यो। अनि मैन्टोल बल्यो।
फुस्स...
पहिले हल्का आवाज। त्यो सल्किन लागेको मैन्टोलको आवाज सबैलाई कर्णप्रिय लाग्थ्यो ।
पछि उज्यालो बढ्दै जाँदा
लु बल्यो है बल्यो .... लु अब नाच्न थालौँ ....
आहा !! कति रमाइलो थियोे त्यो समय ।
केही क्षणमै मन्दिरको आँगन सेतो प्रकाशले भरिने अनि सुरु हुने
जय गणेश जय गणेश जय गणेश देव...
जब मैन्टोल बल्थ्यो ... उज्यालोको रौनकमा घन्जिने पहिलो भजन यही हुन्थ्यो ।
त्यो उज्यालोमा बसेर गाइएका भजनको आवाज रातको शान्त वातावरण चिर्दै गाउँभरि पुग्थ्यो।
मैन्टोलको कुरा गर्दा सबैले आ-आफ्ना गाउँ टोलमा बालिने ठूलो र टाढा सम्म उज्यालो फ्याँक्ने बत्तिको सम्झना गर्छन् । मलाई पनि त्यो बेलाको याद खुप आउँछ । हाम्रो घर त्यो बेलाको महारानी झोडा वडा नम्बर ५ मा । ३/४ वटा घर मात्रै भएकोले हाम्रो गाउँलाई टुक्रे गाउँ भन्थे । टुक्रे गाउँको उत्तर पट्टी माथ्लो टोल थियोे, पुर्व तिरको टोललाई पल्लो टोल भनिन्थ्यो । यातायात र सञ्चारको साधन खासै नभएर होला २०० मिटर पर्तिर रहेका ती टोलहरु पनि मलाई चाहिँ निकै टाढा हो जस्तो लाग्ने ।
हाम्रो टुक्रे टोलको सम्बन्ध चाहिँ सायद किर्तन टोलीको कारणले होला माथ्लो टोल सँग भन्दा पुर्व रहेको पल्ला टोले सँग रहेको सम्बन्ध आत्मीय लाग्थ्यो । बाल्यकालमा मलाई थाहा भएसम्म सायद माथ्लो टोलमा किर्तन टोली थिएन । बुबा हरिकिर्तन मण्डलीको सदस्य हुनुहुन्थ्यो । हरेक मंगलबार किर्तन छ भनेर उतै जानुहुन्थ्यो । किर्तन पालै पालो हुन्थ्यो । हाम्रो घरमा किर्तने टोली आउँने दिन दिउसै भात खाइ सकिएको हुने । अनि साँझ परेपछि कतिबेला मैन्टोल बलेको देखिएला भनेर आँपको रुखमा चढेर पल्ला टोले आएकी आएनन् भन्दै आँखा टट्ट्याउने गरि हेरिन्थ्यो ।
'उ मैन्टोलको उज्यालो देखिन थाल्यो ...'
'ए किर्तने आए हए आए ....' - हामी केटाकेटीहरु उफ्रिदै यता र उता भाग्थ्यौं ...
'ए केटा हो? काँ गए इनेरु ..?'
किर्तने आइसके छिटोछिटो गुन्द्री/ गजरा निकालेर ओछ्याओ । ' - आमा अत्तालिदै कराउन थाल्नुहुन्थ्यो ।
मैन्टोल केवल उज्यालो दिने साधन थिएन; त्यो गाउँको सांस्कृतिक जीवनको एउटा हिस्सा थियो।
नाटकको ‘स्टेज लाइट’ पनि त्यही!
आज नाटक गर्नुपर्यो भने स्पटलाइट, लेड लाइट, मुभिङ हेड- कति हो कति!
तर त्यो बेला गाउँमा नाटक मञ्चन भयो भने मैन्टोल कै सहारामा रिहर्सल गरिन्थ्यो ।
कति सिर्जनशील थिए होलान् त्यतिबेलाका मानिस!
प्रकाशलाई कहिले यता पार्ने, कहिले उता।
कहिले पात्रको अनुहारमा उज्यालो पार्ने।
कहिले मञ्चको बीचमा।
अनि दर्शक?
अँध्यारोमा बसेर मैन्टोलको उज्यालोमा नाटक हेर्थे।
आजको सिनेमा हल कहाँ थियो र!
मैन्टोल धनीको घरमा मात्र होइन, गाउँको साझा सम्पत्ति जस्तै
मैन्टोल सामान्य घरमा दैनिक बाल्ने वस्तु थिएन।
किनकि त्यसलाई चलाउन मट्टितेल चाहिन्थ्यो। उपकरण महँगो थियो। मर्मत गर्न जान्ने मान्छे पनि चाहिन्थ्यो।
त्यसैले धेरै ठाउँमा यसको प्रयोग विशेष अवसरमा हुने गरेको पुराना संस्मरणहरूले देखाउँछन् ।
कसैको घरमा मैन्टोल छ भने त्यो घरको प्रतिष्ठा पनि अलिक माथि हुने ।
छिमेकी आयो
'हाम्रो घरमा आज पूजा छ, मैन्टोल एक रातका लागि दिनुस् न।'
दियो।
अर्को गाउँमा बिहे भयो।
फेरि त्यही मैन्टोल गयो।
यसरी एउटा मैन्टोलले कति गाउँको कति रात उज्यालो बनायो होला!
तर मैन्टोल बाल्नु सजिलो थिएन
आज बल्ब निभ्यो भने अर्को बल्ब लगायो।
मैन्टोलमा त्यस्तो कहाँ थियो र!
पहिले मट्टितेल हाल्नुपर्यो।
पम्पले हावा भर्नुपर्यो।
मेन्टर/मेन्टल ठीक छ कि छैन हेर्नुपर्यो।
बत्ती तताउनुपर्यो।
दबाब मिलाउनुपर्यो।
सब ठीक भयो भने मात्रै झलललल हुने ।
नत्र फुस्स सुरु हुन्थ्यो समस्या।
'हावा पुगेन।'
'जाली झर्यो'
'नोजल जाम भयो।'
'मट्टितेल सकियो।'
मर्मत गर्ने एकजना अनि वरिपरि झुम्मिएर यसो गर उसो गर भन्ने २७ जना हुन्थे । जे होस् नेपालीहरु आइडिया दिन भने उहिले देखि खप्पिस । भोटेकोसीमा टनेलमा थुप्रो परेको लेदो घरमै बसेर हटाउने नेपाली पनि धेरै छन् । ठ्याक्कै त्यस्तै । नेपालीको बानी नै आइडिया दिने तर त्यही काम गर्नुपरेमा मलाई आउने भए त सिआईए मा भर्ना भ भई हाल्थें नी भन्दै ठूलो कुरा गर्ने ।
त्यसैले गाउँमा मैन्टोल चलाउन जान्ने मान्छेको पनि माग हुन्थ्यो।
आज electrician बोलाइएजस्तै त्यतिबेला कसैले भनिदिन्थ्यो होला
'फलानोलाई बोलाऊ, उसलाई मैन्टोल बनाउन आउँछ।'
उज्यालो धेरै, खर्च पनि धेरै
मैन्टोलको उज्यालो देख्दा रमाइलो लागे पनि यसको अर्को पाटो थियो- मट्टितेल।
टुकी र लालटिनको तुलनामा ठूलो प्रकाश चाहिने भएकाले खर्च पनि कम थिएन।
गाउँमा मट्टितेल आफैंमा महत्वपूर्ण वस्तु थियो। टाढाबाट बोकेर ल्याउनुपर्ने, पैसा तिर्नुपर्ने।
त्यसैले कसैले मैन्टोल बाल्दा वरिपरिका मानिसले उज्यालोको मजा मात्रै लिँदैनथे ।
'कति मट्टितेल खायो होला!'
भनेर हिसाब पनि गर्थे।
आज मोबाइलको चार्ज सकिएला भन्ने चिन्ता हुन्छ।
त्यतिबेला मैन्टोलको मट्टितेल सकिएला भन्ने चिन्ता!
र एकदिन गाउँमा बिजुली आइपुग्यो...
त्यो दिन मैन्टोलको इतिहासमा सबैभन्दा ठूलो मोड आयो।
गाउँमा पोल गाडिए।
तार तानियो।
ट्रान्सफर्मर आयो।
घरमा मिटर जडान भयो।
अनि एक साँझ ठ्याक्क स्विच थिचियो, झलमल बल्ब चम्कियो ।
पहिले एउटा घर अनि पछि अर्को।
बिस्तारै गाउँभरि बिजुली फैलियो।
अब मैन्टोल निकालेर पम्प चलाउनुपर्ने भएन, मट्टितेल किन्नुपर्ने भएन, मेन्टल फेर्नुपर्ने भएन र बिस्तारै त्यो चम्किलो बत्ती भण्डारको कुनामा थन्किन थाल्यो।
पछि खिया लाग्यो, कसैले फाल्यो, कसैले कबाडीलाई बेच्यो।
कसैले भने
'यो त हाम्रो पुरानो मैन्टोल हो, नफाल है!'
तर त्यो मैन्टोलसँगै एउटा युग पनि थन्कियो
आजको बच्चाले पेट्रोम्याक्स देखेर सोध्ला
'यो के हो?'
पुरानो पुस्ता मुसुक्क हाँस्ला।
'यो? हाम्रो पालाको बिजुली हो बाबु!'
साँच्चै त हो।
त्यो समयका मानिसका लागि मैन्टोल केवल बत्ती थिएन।
त्यो बिहेको रमाइलो थियो।
त्यो जन्तीको बाटो थियो।
त्यो भोजको उज्यालो थियो।
त्यो मन्दिरको कीर्तन थियो।
त्यो गाउँको जात्रा थियो।
त्यो नाटकको स्टेज लाइट थियो।
त्यो रातभरको गफ थियो।
त्यो गाउँले जीवनको एउटा धड्कन थियो र सबैभन्दा ठूलो कुरा अँध्यारोमा पनि रमाइलो गर्न जान्ने हाम्रो पुस्ताको साथी थियो। आज LED ले सयौँ गुणा सजिलो उज्यालो दिन्छ।
तर मैन्टोलको जस्तो कथा कहाँ दिन्छ?
आज स्विच थिच्दा उज्यालो आउँछ।
त्यतिबेला भने पम्प चलाउनुपर्थ्यो, मट्टितेल हाल्नुपर्थ्यो, मेन्टल मिलाउनुपर्थ्यो । अनि बल्ल गाउँ उज्यालिन्थ्यो।
त्यसैले होला, त्यो उज्यालोमा बसेर बिताएको रात आज पनि धेरैको सम्झनामा अलि बढी उज्यालो छ।





प्रतिक्रिया