भदौ ३० २०८३, मंगलबार

ऐतिहासिक महिला फुटबल खेल र अवको यात्रा

प्रथम ऐतिहासिक महिला फुटबल प्रतियोगिताले देखाएको अवको बाटो कस्तो हुनुपर्छ ?

गौरादहमा भर्खरै स्थापना भएको स्पर्श क्लबले आयोजना गरेको प्रथम ऐतिहासिक महिला फुटबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको विजेता आयोजक स्पर्श क्लब नै बन्यो। उपाधि जित्नु आयोजकका लागि ठूलो उपलब्धि हो, तर यो प्रतियोगिताको महत्व एउटा ट्रफी जित्नुमा मात्रै सीमित छैन।

सीमित स्रोत–साधन, आर्थिक चुनौती र पूर्वाधारको अभावबीच एउटा नयाँ संस्थाले यति ठूलो प्रतियोगिता आयोजना गर्ने आँट गर्नु आफैंमा प्रशंसनीय काम हो। काम सुरु गर्नुअघि चुनौती देख्नु स्वाभाविक हो, तर चुनौती हुँदाहुँदै पनि मैदानमा उत्रिने साहस गर्नु अझ महत्वपूर्ण कुरा हो।

प्रतियोगिताको मिति सार्वजनिक भएसँगै बजारदेखि डिपुसम्मका चिया गफमा विभिन्न अनुमान पनि सुनिए। ‘नयाँ संस्था हो, पैसा कहाँबाट ल्याउँछ ?’, ‘यति ठूलो खेल कसरी गर्छ ?’, ‘खेललाई राजनीतिक रंग दिइँदैछ कि ?’ जस्ता चर्चा हुनु अस्वाभाविक थिएन। तर अन्ततः मैदानमा देखिएको दृश्यले धेरै प्रश्नको जवाफ आफैं दियो।

खेल सुरु भएको दिनको माहोल गौरादहका लागि निकै उत्साहजनक रह्यो। दर्शकको उपस्थिति, खेलप्रतिको चासो र सामाजिक सञ्जालमा आएको चर्चा हेर्दा यसअघिका धेरै कार्यक्रमभन्दा महिला फुटबल प्रतियोगिता बढी चर्चामा आएको तथ्यलाई स्वीकार गर्नैपर्छ। खेलप्रतिको यस्तो आकर्षण गौरादहमा महिला खेलकुदको सम्भावना कति ठूलो रहेछ भन्ने एउटा संकेत पनि हो।

आयोजकको योगदान उच्च हुन्छ नै तर पनि फाइनल खेल हुने दिन रातभर परेको पानी अनि बिहानै हेर्दा हिलाम्मे मैदान । फरुवा बोकेर मैदान सफा गर्नुपर्दाको क्षण । सामाजिक सञ्जालमा मैदान सफा गर्दै गरेको भिडियो हेरेर हामीले लाइक पनि गर्‍यौं होला । आफुलाई त्यो ठाउँमा आयोजक बनेर सोच्ने हो भने ??

यो प्रतियोगिता आयोजना गर्न त्यति सजिलो भने थिएन। वर्षायामको समय थियो। टाढाका राम्रा महिला टिमलाई सहभागी गराउन पनि सहज थिएन। खेलाडीको आउने–जाने खर्च, खाना–खाजा र बसोबासको व्यवस्थापन आयोजककै जिम्मेवारी बन्न पुग्यो। त्यसमाथि पार्किङको समस्या, साँघुरो ठाउँ र विद्यालयको तुलनात्मक रूपमा सानो मैदानमा ठूलो प्रतियोगिता सञ्चालन गर्नुपर्ने चुनौती आयोजकसामु थियो।

दर्शकको उपस्थितिले अर्को महत्वपूर्ण विषय पनि उजागर गर्‍यो। मैदानको क्षमताभन्दा बढी दर्शक आएपछि कतिपयले पछाडि बसेर वा छेलिएर खेल हेर्नुपर्ने अवस्था बन्यो। यसलाई केवल व्यवस्थापनको कमजोरी भनेर हेर्नुभन्दा गौरादहमा एउटा व्यवस्थित खेलमैदान वा रंगशालाको आवश्यकता कति गम्भीर रहेछ भन्ने संकेतका रूपमा लिनु उपयुक्त हुन्छ।

कल्पना गरौँ, यही प्रतियोगिता पर्याप्त दर्शक क्षमता भएको व्यवस्थित रंगशालामा भएको भए दृश्य कति फरक हुन्थ्यो होला ? पार्किङ गर्ने ठाउँको अभाव, दर्शक व्यवस्थापन, खेलाडीको सुविधा, सुरक्षा र सञ्चारमाध्यमको व्यवस्थापनदेखि खेलको समग्र वातावरण नै अझ व्यवस्थित बन्न सक्थ्यो।

यसकारण स्पर्श क्लबले आयोजना गरेको प्रतियोगिताले एउटा प्रश्न पनि छाडेको छ । हामीले खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माणमा पर्याप्त ध्यान दिएका छौँ त ?

गौरादह नगर खेलकुद परिषद्को भूमिका यहाँ अझ महत्वपूर्ण हुन्छ। खेलकुदको विकासमा परिषद्ले समन्वय, पूर्वाधार निर्माण, प्रतियोगिता प्रवर्द्धन र स्थानीय खेलाडीलाई अवसर दिने काममा अग्रणी भूमिका खेल्न सक्छ। वार्षिक रूपमा खेलकुद क्षेत्रमा उल्लेख्य बजेट विनियोजन हुने अवस्थामा यति ठूलो दर्शक उपस्थित भएको महिला फुटबल प्रतियोगिताले भविष्यका लागि नयाँ सम्भावना देखाएको छ।

यो प्रतियोगिताले स्थानीय सरकार, खेलकुद परिषद्, निजी क्षेत्र, सामाजिक संस्था र खेलप्रेमीबीच सहकार्यको आवश्यकता पनि देखाएको छ। नयाँ संस्थाले ठूलो कार्यक्रम गर्न खोज्दा अन्तिम समयमा मात्र सहयोग जुटाउनेभन्दा कार्यक्रमको उद्देश्य र सम्भावना बुझेर सुरुदेखि नै साथ दिने वातावरण बन्न सके अझ राम्रो परिणाम आउन सक्छ।

मुख्यमन्त्री स्वयंको गृहक्षेत्रमा भएको यस्तो प्रतियोगिताले प्रदेशस्तरको ध्यान पनि तान्न सफल भएको छ। कार्यक्रम सुरु हुनुअघि नै आवश्यक सहयोग र समन्वयको वातावरण बन्न सके आयोजकलाई अझ सहज हुने थियो। कार्यक्रमको अन्तिम समयमा सहयोग घोषणा हुनु सकारात्मक कुरा भए पनि यस्ता कार्यक्रमलाई सुरुदेखि नै संस्थागत रूपमा सहयोग गर्ने संयन्त्र निर्माण गर्न सके त्यसको प्रभाव अझ ठूलो हुन सक्छ।

तर यहाँ एउटा कुरा स्पष्ट हुनुपर्छ। सहयोग र बजेटसँगै आर्थिक पारदर्शिता पनि उत्तिकै महत्वपूर्ण विषय हो। स्पर्श क्लबले यति ठूलो कार्यक्रम आयोजना गरेर प्राप्त गरेको ‘माइलेज’लाई आगामी दिनमा विश्वास निर्माणसँग जोड्न सके अझ राम्रो हुनेछ। आम्दानी, खर्च, सहयोग र व्यवस्थापनलाई सकेसम्म पारदर्शी ढंगले सार्वजनिक गर्ने संस्कारले आयोजकप्रतिको विश्वास थप बलियो बनाउँछ।

सबैभन्दा सुखद पक्ष भनेको प्रतियोगिताको उपाधि आयोजक स्पर्श क्लबकै आफ्नै महिला टिमले जित्नु हो। आफूले प्रतियोगिता आयोजना गर्ने मात्र होइन, मैदानमा आफ्नै टिम उतारेर उपाधिसमेत हात पार्नु स्पर्श क्लबका लागि अर्को ठूलो सफलता हो। यसले क्लबको संगठनात्मक क्षमता र महिला खेलाडीप्रतिको लगानीलाई पनि देखाउँछ।

यो प्रतियोगितालाई कसैको कमजोरी खोज्ने अवसरभन्दा गौरादहको खेलकुद विकासका लागि एउटा सिकाइका रूपमा लिनुपर्छ। नयाँ संस्थाले देखाएको साहसलाई हौसला दिने, कमजोरी देखिए सुधार गर्ने र आवश्यक पूर्वाधार निर्माणमा स्थानीय सरकार तथा सरोकारवालालाई थप जिम्मेवार बनाउने अवसरका रूपमा यसलाई हेर्न सकिन्छ।

एउटा सानो विद्यालयको मैदानमा हजारौँ आँखा खेल हेर्न जम्मा हुनु आफैंमा गौरादहको खेलप्रतिको प्रेमको प्रमाण हो। अब आवश्यकता त्यही उत्साहलाई व्यवस्थित पूर्वाधार र दीर्घकालीन योजनासँग जोड्नु हो।

स्पर्श क्लबले एउटा प्रतियोगिता मात्र आयोजना गरेको छैन, गौरादहमा महिला फुटबलको सम्भावनाको ढोका पनि खोलेको छ। अब त्यो ढोका खुलै राख्ने र अझ फराकिलो बनाउने जिम्मेवारी आयोजकसँगै नगर, प्रदेश, खेलकुद परिषद्, निजी क्षेत्र र सम्पूर्ण खेलप्रेमी समाजको हो।

एक नयाँ संस्थाको साहसले सुरु गरेको यो यात्रा अब गौरादहको खेलकुद विकासको साझा यात्रा बन्न सके त्यसैमा यो ऐतिहासिक प्रतियोगिताको वास्तविक सफलता हुनेछ।

अन्त्यमा, यो भब्य र सभ्य रूपमा सम्पन्न भएको कार्यक्रमले हामिलाई महत्त्वपूर्ण सन्देश छाडेर गएको छ:

#खेल मैदान नभएपनि गौरादहले खेलाडी जन्माएको रहेछ ।

#इच्छाशक्ति भएमा जस्तोसुकै ठूलो कार्यक्रम पनि सफलतापूर्वक सम्पन्न गर्न सकिने रहेछ ।

#हामी सँग दर्शकको संख्या उच्च रहेछ ।

#धेरै ओटा संस्थाले मिलेर कार्यक्रम गर्दा अझै ठूलो सफलता मिल्ने रहेछ ।

#स्थानीय, प्रदेश र संघीय सरकारले दुरदृष्टि राख्नुपर्ने रहेछ ।

#मन सानो पारेर कार्यक्रम आयोजना गर्नु नहुने रहेछ ।

May be an image of text

प्रतिक्रिया

सम्बन्धित समाचार
असोज ११ २०८२,आइतबार