आश्विन ०३ २०८२, शुक्रबार

सरकार परिवर्तनले मात्र ऐतिहासिक जेन-जी आन्दोलनको औचित्य पूरा हुँदैन - राप्रपा

Ads


काठमाडौं, असोज २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जेनजी आन्दोलनलाई मुलुकको राजनीतिको निर्णायक मोडका रूपमा व्याख्या गर्दै भ्रष्टाचारविरुद्ध ठोस संरचनागत सुधार आवश्यक रहेको बताएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मंगलबार काठमाडौं धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्य सम्पादन समितिको बैठकले आन्दोलनसँग सम्बन्धित विभिन्न निर्णय सार्वजनिक गरेको हो।

बैठकले आन्दोलनका क्रममा भएको धनजन क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण र घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ। साथै मृतक परिवारलाई तत्काल सहायता, घाइतेलाई उपचार र क्षतिग्रस्त संरचनाको उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको छ।

Ads

राप्रपाले जेनजी आन्दोलनलाई भ्रष्टाचारविरुद्धको जनविद्रोहको रुपमा व्याख्या गर्दै केवल सरकार परिवर्तनमा सीमित हुने हो भने त्यो बलिदानको अपमान हुने ठहर गरेको छ। पार्टीले निर्वाचन प्रणाली, संवैधानिक निकायमा हुने नियुक्ति र राज्य संरचनामा सुधार नगरी भ्रष्टाचार अन्त्य सम्भव नहुने दाबी गरेको छ।

बैठकले आन्दोलनपछिको राजनीतिक व्यवस्थाबारे पनि टिप्पणी गर्दै अन्तरिम सरकार, अन्तरिम संविधान र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीजस्ता विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ। प्रदेश संरचना खारेज गर्ने, स्थानीय तह गैरदलीय बनाउनुपर्ने र प्रधानमन्त्रीलाई दुई कार्यकालभन्दा बढी नदिने प्रस्ताव पनि राप्रपाले अघि सारेको छ।

Ads

यससँगै पार्टीले राजसंस्था अविभावकीय संस्थाका रुपमा कायम गर्नुपर्ने, पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने र संवैधानिक अंगमा निष्पक्ष नियुक्तिको सुनिश्चितता हुनुपर्ने धारणा राखेको छ।

राप्रपाले हालै सम्पन्न आन्दोलनलाई विगतका कमजोरी सच्याएर भ्रष्टाचार अन्त्य गर्ने अवसरको रुपमा लिनुपर्ने भन्दै सबै दललाई नयाँ राजनीतिक सहमतिको आवश्यकता औंल्याएको छ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार