संविधान दिवस: एक दशकको यात्रामा चुनौती र आशा
नेपालको संविधान जारी भएको दशक पूरा भएको छ। २०७२ असोज ३ गते संविधान जारी हुँदा मुलुक भूकम्पपछिको पीडा र छिमेकी मुलुकको नाकाबन्दी सहिरहेको थियो। त्यही संविधान अहिले फेरि जेन–जी आन्दोलनको रापले घाइते बनेको छ। तर, यही संविधानका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई जिम्मा दिएका छन् र आगामी निर्वाचनको मिति तोकिएको छ।
यो संविधान नेपालको सातौँ संविधान हो, जुन संघीयता, समावेशी शासन र धर्मनिरपेक्षताको विशेषता बोकेर आएको थियो। तर अभ्यासमा यसको अक्षरभन्दा भावना उपेक्षित भयो। राजनीतिक दलहरूले संस्थालाई मजबुत बनाउनेभन्दा आफ्ना वरिपरिका व्यक्तिलाई अवसर दिए, जसको परिणाम लोकतान्त्रिक शासन व्यवस्थाको क्षयीकरणका रूपमा देखा पर्यो। यही निराशाले अहिलेको जेन–जी आन्दोलन जन्मायो।
संविधान दिवस यसपटक तामझामसहित नमनाइए पनि यसको महत्व अझै बाँकी छ। संविधानलाई जोगाउने जिम्मेवारी नागरिक र राज्य दुबैको काँधमा छ। लोकतन्त्रको विकल्प अझ बढी लोकतन्त्र हो भन्ने सत्यलाई आत्मसात् गर्दै संविधानलाई सुधार गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो।
नेपालले पाएको समस्या संविधान समाप्त गरेर नयाँ लेखेर होइन, जारी संविधानलाई निरन्तर सुधार गर्दै समाधान गर्न सकिन्छ। यही बाटोबाट मात्र लोकतान्त्रिक व्यवस्था जनमुखी र सबल बन्नेछ। संविधान दिवसको यस अवसरमा सबै नेपालीले संविधानलाई जोगाउने, सुधार्ने र मजबुत बनाउने प्रतिबद्धता जनाउनु आजको आवश्यकता हो।
प्रतिक्रिया