संविधान दिवस २०८२ : टुँडिखेलमा मूल समारोह, राष्ट्रपतिद्वारा आतिथ्य, प्रधानमन्त्रीको सम्बोधन
३ असोज, काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा मूल समारोह आयोजना हुने तय भएको छ। कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ।
विशेष राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै यसपटक झाँकीलगायतका सांस्कृतिक प्रस्तुति भने स्थगित गरिएको छ। नेपाली जनताको लामो संघर्ष र बलिदानको उपलब्धिस्वरूप २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान घोषणा गरिएको थियो। दोस्रो संविधानसभाको निर्वाचनपछि गठित सभाले लामो मिहिनेत र विवादपश्चात ‘नेपालको संविधान, २०७२’ जारी गरेको हो।
२०७२ असोज ३ गते राति नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए। संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना दिँदै संविधानको सफल कार्यान्वयनमा जोड दिएका छन्।
प्रतिक्रिया