माघ १२ २०८२, आइतबार

राजनैतिक सोचको चिरफार

Ads

 

 

Ads

                                        वेणु अधिकारी

राजनीति एउटा यस्तो शक्ति हो जसले राजापाटका सबै संयन्त्रलाई चलायमान बनाउँछ।यी संयन्त्र मध्ये कुनै एक मात्र अस्थिर भयो भने राजनीतिमा नै कायापलट गरिदिन्छ। सोच्ने र सुधार्ने मौका नै नदिएर परिवर्तनगामी बाटो राेज्दछ।

Ads

 माथि उठाइएको प्रसङ्गले अहिलेको अवस्था चित्रण गरेको छ।भन्दा भनिन्छ राजनीतिमा दया,धर्म र माया हुँदैन ।तर यी तत्वविना संसार नै अधुरो हुन्छ ।यिनको विलय भयो भने त्यहाँ माया ,धर्म र दया सबै भाग्छन् ।र, निराजको मुलुकमा शासन परिवर्तन हुन् पुग्छ।जुन शासनसत्ता दीर्घकालीन हुँदैन।कुनै न कुनै कालखण्डमा त्यो क्षतबिच्छेद भएर जान्छ ।यसको केही उदाहरण हेरौं भने हिटलरको शासनकाललाईं लिन सकिन्छ ।नेपालको सन्दर्भमा राणा कालीन शासन सत्तालाई लिन सकिन्छ ।यसपछि पञ्चायती शासन काल पनि यसैको ज्वलन्त उदाहरण थियो।अन्त्यमा यी सबै ढले र अहिलेसम्म नै विलय भएकाछन्।

Ads

  पछिल्लो समयमा आएर जनताको चाहनामा लोकतान्त्रिक गणतन्त्र आएको छ।यसमा सत्ताधारीले त मुखुण्डो लगाए ।तर,जनताको चाहप्रती खासै ध्यान केन्द्रित नहुँदा राजनीतिले स्थायित्व लिन सकिरहेको छैन । सत्ताधारीहरुको विश्वासमा कमी आउनुको साथै राज्य सत्ता प्राप्तिमा खेलिएको फोहोरी खेलले सबै जनताको आशा र भरोसा गुम्दै गएको छ । यो उपज हुनु भनेको देशलाई अराजकतातिर धकेल्नु हो । त्यसैले दल र त्यी दलको नेतृत्वदायी भूमिकामा बसेकाहरुले आफ्नो आचरणमा सुधार ल्याउनु पर्छ।

  नेपाली काङ्ग्रेसका महामानव विश्वेश्वरप्रसाद कोइरालाले परिकल्पना गरेको राज्य यस्तो थिएन।उनी जनतालाई सर्वोच्चमा राखेर आफूलाई एक अभियानका महारथी सम्झन्थे। जुन महाभारतमा कृष्णले राख्ने गरेका थिए ।सत्यको जहिल्यै जीत हुन्छ । असत्यमाथि सत्यको नै विजय हुन्छ। यो आदर्श सिद्धान्तका प्रतिपादक थिए ,उनीहरु। राजनीतिमा देखापरेका जननेतामा पुष्पलाल श्रेष्ठ,गणेशमान श्रेष्ठ,कृष्णप्रसाद भट्टराई,मदन भण्डारी,मनमोहन अधिकारी,गिरीजाप्रसाद कोइराला लगायत अरु थुप्रै त्यागी नेता थिए ।जसले आफ्नो हित र कल्याण भन्दा पनि अरुकै हितमा आफूलाई सदैव समर्पण गरे। यो उनीहरूको देश र जनताप्रतिको उच्च सम्मान थियो।आदर्श थियो। समर्पण थियो।

विश्वको सबै भन्दा सुन्दर शासनसत्ता भनेको लोकतान्त्रिक गणतन्त्र हो । तर, यहाँ देखिएको सत्ता सौदाबाजी खेलले एक अर्काको अस्तित्व स्वीकार गरेर सत्य असत्यलाई पर्गेल्न नसक्नु नै ठूलो भूल हो। यस गतिविधिले देश र जनतालाई अधोगतिमा धकेलिदिएको छ। यसमा सुधार गर्न सत्ताधारीको विवेक पुग्न जरुरी छ ।

   सामान्य घरवार चलाउँदा त कयौ समस्याहरूको चाङ लाग्ने गरेको हुन्छ । त्यसो त राज्य सञ्चालन गर्न पनि यो समस्या झेल्नु नै पर्छ । तर,विवेक र सदभावले आफ्नो बौद्धिकताको प्रयोग गरेर समस्याको समाधान खोज्नु पर्छ । यसले अन्तर द्वन्द्वको अन्त्यगरी समाधान दिने गर्दछ। सब भन्दा उपयुक्त बाटो पहिल्याएर तेरो मेरो नभनी न्यायिक निर्णयले लक्ष्य भेदन गर्न सकिन्छ । अतः सही गलत पर्गेल्नु पर्दा स्वयम्भूका दुई आँखाले झैं समाधान खोजिनु पर्छ ।

  पछिल्लो समयमा एकले अर्काको अस्तित्व नसुकार्नु र राम्रो गरेता पनि गलत हो भनी अफबाह फैलाउने गर्नाले आम जनमानसमा वितृष्णा जगाएको छ । मेरा गोरुको बाह्रै टक्का भने झैं आफ्नो लिडे ढिपि अघि तेर्साउनाले यो हविगत हुन गएको हो । आफूमा निखार ल्याई राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नु पर्छ । यसले वास्तविकता झल्कन्छ ।यसबाट कोही चुक्न भएन । कामको कार्यान्वयन जहिल्यै पनि जनताको पक्षमा हुनु पर्दछ।

 हाम्रा अग्रज संस्थापक दलिय नेतामा यो नैतिकता र आचरण थियो,जसका कारण जञ्जिरले जेलिएर रहेको शासन सत्ता पनि सहजै च्युत हुन पुगेको थियो ।यो बिर्सनु भएन।हामी तिनै नेताका अनुयायी हौ।त्यसैले उनीहरूले देखाएको बाटो बिराउने हाम्रो कुनै हक अधिकार छैन ।र, हुँदैन पनि।अनि आज पनि तिनै पीडित जनता हाम्रा सामु छन्।यो बुझेर पनि जनतालाई सर्वोच्चतामा राखी अघि बढे मात्र हामी राम राज्यको कल्पना गर्न सक्छौं ।अत: जनताको सर्वोच्चतालाई स्वीकार्नै पर्छ।जनताको हक अधिकार दिलाउन तमतयार बनेका हामी नेतागणले यति चाई बुझ्न जरुरी छ ।जनता कामप्रति कहिल्यै असन्तुष्ट नहुन।

   जसरी भाग्य छ भन्दैमा डोकामा गाई दुहुँदा अडिदैन,त्यसैगरी सत्ता पाएको छु भन्दैमा हुँदैन। सत्ता प्राप्त गर्दा कसले साथ सहयोग दिए । कस कसको योगदान र बलिदान छ त्यसको पनि हेक्का हुनु पर्छ। त्यसको मूल्य र मान्यताको विषयमा आफू पनि जानकार हुनु पर्दछ। त्यस बेला जनता सडकमा नउत्रिएका भए सायद आज हामी यो दिनको कल्पना गर्ने थिएनौं । यो जनताको बलिदानले प्राप्त सत्ता हो ।यस अर्थमा पनि जनताको प्रतक्ष्य संलग्नतामा गरिएका कामले गति लिन्छ । साथै प्रत्येक समस्याको हल पनि सहजै पाउन सकिन्छ । यस अर्थमा पनि जनता सर्वोपरी हुन । जति काम गर्नु छ त्यो जनचाहना भन्दा विपरीत हुनु भएन ।

अन्त्यमा हैकमबाद भएर हैन जनमुखी बनेर जनताको मन जित्ने काम गरियोस् । शासन र सत्ता दुवैलाई स्थायित्व प्रदान गर्न सके देशको राजनीतिलागि पनि स्थायित्व कायम राख्न मद्दत पुग्दछ । त्यसैले राष्ट्रिय समन्वय र सहमतिका साथ अघि बढे जनचाहना अनुरूप शासन र सत्ता चल्ने छ।यसले मुलक र जनताको हित गर्दछ।अत : देश र जनताप्रति उत्तरदायी र जवाफदेही बनौ।

                                                   गौरादह,झापा।

( लेखक कसार साप्ताहिकको प्रकाशक/सम्पादक हुन्।)

 

प्रतिक्रिया

सम्बन्धित समाचार